सुकुम्वासीलाई जालपूर्जा बाँडेर भोट माग्दै माओवादी
धरान : दोस्रो चरणको स्थानीय निर्वाचनको चुनावी प्रचारप्रसारका क्रममा माओवादीले धरान उपमहानगर पालिकामा सुकुम्वासीहरुलाई ऐलानी जग्गाको लालपुर्जा वितरण गरी भोट मागेको छ ।
माओवादीले निर्वाचन आचारसंहित विपरित नमूना लाल पुर्जा बाडेको घटनाप्रति अन्य राजनैतिक दलहरुले भने आपत्ति जनाएका छन् ।
माओवादीले धरानका २० वटै वडामा बसोवास गर्दै आएका सुकुम्वासीहरुलाई ऐलानी जग्गाको लाल पुर्जा विरण गरेको छ । माओवादी केन्द्रका मेयरका उमेद्वार आफै उपस्थित भएर सुकुम्वासीहरुलाई नक्कली लाल पुर्जा वितरण गरेपछि कांग्रेस, एमाले, राप्रपा लगायतका दलहरुले आपत्ति जनाएका हुन । उनीहरुले तत्काल उक्त काम बन्द गराउन निर्वाचन कार्यालयलाई आनुरोध समेत गरेका छन् ।
धरान उपमहानगरपालिकाको निर्वाचन जित्नका लागि सुकुम्वासी मतदाताहरुको भोट निर्णायक भएकाले माओवादीले नक्कली लालपुर्जा वितरण गरी मतदाताहरुलाई भ्रमित पारेको एमाले नेता प्रदिप भण्डारीले बताउनु भएको छ । उहाँले माओवादी केन्द्रले वितरण गर्दै आएको नक्कली लालपुर्जा वितरण गर्ने काम तत्काल बन्द गराउन निर्वाचन कार्यालयसंग माग गर्नु भएको छ ।
माओवादीको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरका प्रत्यासी अईन्द्रविक्रम बेघा, माओवादी केन्द्रका धरान संयोजक चोत्लुङ र धरानका विभिन्न वडाका वडाअध्यक्षका उमेद्वारहरुले हस्ताक्षर गरी सुकुम्वासीहरुलाई लाल पुर्जा वितरण गरिरहेका छन् । माओवादीले गैरकानुनी र निर्वाचन आचारसंहित विपरित सुकुम्वासीहरुलाई भ्रमित बनाएर लालपुर्जा वितरण गर्ने माओवादी उमेद्वारलाई तत्काल कार्वाही गर्नु पर्ने काग्रेस महासमिति सदस्य लक्ष्मी खतिवडाले माग गर्नु भएको छ । उहाँले माओवादी अझैपनि अराजक, गैरकानुनी क्रियाकलाप गर्दै कानुनी खिलापमा हिडेकाले माओवादीको गलत भ्रममा नपर्न धरानवासीलाई आग्रह गर्नु भएको छ ।
सुकुम्वासीलाई लालपुर्जा वितरण गरेको विषयमा माओवादीका मेयरका प्रत्यासि बेघाले पार्टीको घोषणा पत्रमा प्रतिबद्धता जनाए अनुसार सुकुम्वासीहरुलाई नमुना मतपत्र वितरण गरेको प्रतिक्रिया दिनु भएको छ । उहाँले सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने काम भने नरोकिने बताउनु भयो । सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाले माओवादी उमेद्वारबाट सुकुम्वासीलाई लालपुर्जा वितरण गर्नु गैर कानुनी र निर्वाचन आचारसंहिता विपरित क्रियाकलाप गरेको बताउनु भयो । उहाँले निर्वाचन आंचारसंहिता विपरित क्रियाकलाप गर्ने माओवादीका उमेद्वार विरुद्ध कार्वाही प्रकृया अगाडि बढाउन र गैर कानुनी रुपमा वितरण गरिएको लालपुर्जा जफत गर्न प्रहरीलाई निर्देशन दिएको जानकारी दिनु भएको छ ।