बुहारीको माईती गाउँ पुगेर दाहालले भने: ईच्छाशक्ति भए समृद्धि सम्भव छ
धनगढी: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेतृत्वमा ईच्छाशक्ति र ईमान्दारिता भए देश छोटो समयमै समृद्ध बन्ने बताउनुभएको छ ।
बुहारी बीना मगरको माईती क्षेत्र कञ्चनपुरको पुर्नवास बजारमा माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले देश अब समृद्धिको बाटोमा अगाडी बढिसकेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘समृद्धिको सुरुवात मेरो कार्यकालबाट भयो । छोटो समयमा धेरै कुरा गर्न सकिन्छ भन्ने कुरा मेरो १० महिनाको कार्यकालले पुष्टि गर्छ ।'
देशलाई लोडसेङि मुक्त गरेको, देशको आर्थिक बद्धिदर बढाएको र छिमेकीसँगको सम्बन्धमा सुधार ल्याएको उहाँको दाबी थियो । हिमाल पहाड र तराईलाई संगै लैजानुपर्नेमा दाहालको जोड थियो । उहाँले संविधान सफल कार्यान्वयनका लागि सबै समुदायको भावनालाई कदर गर्नुपर्ने बताउनुभयो ।
२०७० सालको संविधान सभा निर्वाचनमा सो क्षेत्रबाट दाहालकी बुहारी बीना मगर काँग्रेसका दिवानसिह विष्टसँग पराजित हुनु भएको थियो ।