'लाल सलाम'र'जय नेपाल'को सम्बोधन एउटै मञ्चबाट
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका १४ फूलबारीमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले 'मञ्च सेयरिङ' गर्नुभएको छ।धनगढी उपमहानगरपालिकाको डिपो बजारमा दुवै नेताले आ-आफ्नो चुनावी सभालाई सम्बोधन गर्न अलग-अलग समयमा एकै मञ्च प्रयोग गर्नुभएको हो।
कार्यकर्ताले बनाएको मञ्चमा बिहान ११ बजेदेखि दाहालले र दिउँसो २ बजेदेखि देउवाले भाषण गर्नुभयो।'शुक्रबार बिहान डिपोबजारस्थित खुलामञ्चमा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले हँसिया हथौडाअंकित झन्डाले सजाइएको मञ्चबाट चुनावी सभालाई सम्बोधन गर्नुभयो। त्यसको केही घन्टामै मञ्चको तामझाम हटाइयो र हतारहतार चारतारे झन्डा र रुखअंकित झन्डा सजाइए’, स्थानीय गोपालप्रसाद शर्माले भन्नुभयो, 'बडा रमाइलो लाग्यो, दुई पार्टीका कार्यकर्ताको सरगर्मी देखेर !'
देउवाले २०७० सालको संविधानसभा निर्वाचनमा फूलबारी पनि सामेल रहेको कैलाली क्षेत्र नं. ६ बाट जित्नुभएको थियो। आफूले जितेको ठाउँमा उहाँले शुक्रबारै दुईवटा सभालाई सम्बोधन गर्नुभयो।
डिपोबजारको मञ्च निर्माणका लागि बिहीबार दुवै पार्टीका कार्यकर्ताबीच संयुक्त रूपमा मञ्च प्रयोग गर्ने सहमति भएको माओवादीका नेता टीकाराम सापकोटाले बताउनुभयो । पहिलो चरणको स्थानीय तह निर्वाचनमा तालमेल गरेर दुवै नेताले एकै मञ्चबाट लालसलाम र जयनेपालको सम्बोधनसहित भाषण गरेको कुरा चर्चामै रहेका बेला फूलबारीमा भने तालमेलबिनै 'मञ्च सेयरिङ' गरिएको हो।
‘मैले दुबै पार्टीबाट भाडा लिएँ, दुबैले त्यही माइक, टेन्ट र मञ्च प्रयोग गरे', रुक्मिणी टेन्टका सञ्चालक सुरेश साहले भने।सुरुमा सभा गरेको माओवादीले कार्यक्रम सकिएलगत्तै मञ्चवरिपरि टाँगिएका आफ्नो पार्टीका झन्डा झिकेर लगेको थियो।
दाहालको कार्यक्रम सकिएपछि कांग्रेसको चुनावीसभामै भेटिनुभएका माओवादी केन्द्रबाट सोही वडाका अध्यक्ष पदका उम्मेदवार टीकाराम सापकोटाले पनि यो कुरा अस्वाभाविक नभएको बताउनुभयो।'खुलामञ्च सबैको हो। चुनावी कार्यक्रमका लागि अरु राम्रो खुला ठाउँ छैन । दुबै नेताको कार्यक्रम एकै दिन पर्यो। त्यसैले बिहीबारै सहमति गरेर मञ्च प्रयोग गरेका हौं', सापकोटाले भन्नुभयो।
माओवादी कार्यकर्ताले आफ्नो पार्टीका झन्डा र ब्यानर निकालेपछि मञ्चमा पसेका कांग्रेस कार्यकर्ताले हतारहतार आफ्नो पार्टीका झन्डा मञ्चवरिपरि सजाए। अनि सुरु भयो देउवाको कार्यक्रम। कांग्रेसबाट वडा नम्बर १४ कै अध्यक्षका उम्मेद्वार राजकुमार चौधरीले पनि बिहीबार एकअर्काको कार्यक्रममा अवरोध नगर्ने भद्र सहमति भएको बताउनुभयो। 'दुई पार्टीबीच भएको छलफलमा एक अर्काका कार्यक्रम नबिथोल्ने, असहयोग नगर्ने र कार्यकर्तालाई समेत उत्तेजित नपार्ने सहमति भएको हो', उहाँले भन्नुभयो।
दुई पार्टीको कार्यक्रम एकै स्थानमा जुधेपछि थप सुरक्षा चुनौती बढेको मान्ने सुरक्षा निकायले पनि 'मञ्च सेयरिङ' लाई असल राजनीतिक संस्कार भनेको छ। 'यो असल राजनीतिक संस्कारको नमूना हो', कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भन्नुभयो।
देउवाले शुक्रबार मात्रै कैलालीको क्याम्पस रोड र फूलबारी तथा कञ्चनपुरको झलारी र महेन्द्रनगरमा चारवटा चुनावीसभालाई सम्बोधन गर्नुभएको थियो । देउवा शनिबार गृह जिल्ला डडेलधुरा जाने कार्यक्रम छ। उहाँ असार १४ गते डडेलधुरामा मतदान गरेपछि मात्रै राजधानी फर्किने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।
दाहाल भने टीकापुरको सभालाई सम्बोधन गरेर शनिबार राजधानी फर्किने कार्यक्रम छ। दाहालले शुक्रबार कैलालीको फूलबारी र कञ्चनपुरको पुनर्वास र बेलौरीमा चुनावीसभा सम्बोधन गर्नुभएको थियो।