स्थानीय तहको निर्वाचनमा ७२ घन्टा सीमा बन्द
दार्चुला (अन्नपूर्ण): नेपालका दार्चुला, बैतडी र भारतको पिथौरागढ जिल्लाका अधिकारीको शुक्रबार दार्चुलाको खलंगामा सम्पन्न बैठकले नेपालमा असार १४ गते हुने स्थानीय तह दोस्रो चरण निर्वाचनको समयमा ७२ घन्टा सीमा बन्द गर्ने निर्णय गरेको छ।
भारतको पिथौरागढ जिल्लासित दार्चुला र बैतडी जिल्लाका सिमाना जोडिएका सबै नाका असार १२ गते बिहान ७ बजेदेखि असार १५ गते बिहान ७ बजेसम्म बन्द गर्ने निर्णय भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वासुप्रसाद कोइरालाले बताउनुभयो।
योसँगै बैठकमा दुवै देशबीचमा भएका भन्सार नाकाबाहेक अन्य व्यापारिक परियोजनाका सामान ओसारपसार बन्द गर्न दुवै देशका अधिकारी सहमत भएका छन्।
दुवै देशको सीमामा हुने अपराध, अवैध वस्तुको व्यापार, मानव बेचविखन, अवैध सिकार, पारस्परिक सुरक्षा, जाली नोट प्रचलनमा रोक लगाउनेबारे बैठकमा छलफल भएको बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी तुलसी पौडेलले जानकारी दिनुभयो।
बैठकमा महाकाली नदीको ब्यास गाउँपालिका ६ बडूगाउँ, ब्यासकै ४ मटघट्या र २ नम्बर वडाको मालमा पुल निर्माण गर्ने सम्बन्धमा पनि छलफल भएको प्रजिअ कोइरालाले बताउनुभयो।