चुनाव स्मृति : सत्ताइस भोट
कुन चाहिँ साइँदुवाले उक्साइदिएछ कुन्नि, बाउले प्रधानपञ्चको चुनाव लड्ने भए । राजनीतिक पृष्ठभूमिका नाममा उनीसँग पञ्चायतकी आमा तुलसी गिरी, महापञ्च सूर्यबहादुर थापा र चर्चित पञ्च जोगमेहर श्रेष्ठसँग ‘पटक-पटक' भेटेको र उनीहरूसँग राम्रो चिनजान भएको ‘गफ' बाहेक केही थिएन । गफ किन भनेको भने पछि धेरथोर राजनीतिक चेतना हासिल गरेपछि मेरो व्यक्तिगत आयोगले सत्य निरूपण गर्दा ती गफै प्रमाणित भए, हावादारी गफ ! (मैले बाउको निर्ममतापूर्वक समीक्षा गरेको होइन, ममतापूर्वक नै गरेको हुँ । मेरा केही साथी भन्छन्- समीक्षा र आलोचना अब ममतापूर्वक पनि गरिनुपर्छ । चियापसलका बौद्धिक बसाइबाट जन्मिएको नयाँ ‘स्कुल अफ थट' द्वारा प्रतिपादित नूतन सिद्धान्त हो यो ।)
त्यो २०४३ सालको गाउँ पञ्चायतको चुनाव थियो । माटो सुहाउँदो व्यवस्थाका माटो सुहाउँदा प्रतिनिधि छान्ने चुनाव । जनता पनि माटो सुहाउँदा थिए । गरिबी र शोषणले तिनलाई जिउँदै माटोमा मिल्न सुहाउँदो बनाइदिएका थिए । यस अर्थमा आजको गणतन्त्रमा पनि जनता माटो सुहाउँदा नै छन् । गणतन्त्र पनि माटो नसुहाउँदो कहाँ छ र ?
त्यो चुनावको मलाई धमिलो-धमिलो तर समृद्ध सम्झना छ । त्यसपछिका चुनावहरूमा सम्झनाको माखेसाङ्लो लम्बिँदै गयो, समृद्ध हुँदै गयो । गरिब देशका सार्वभौमसत्तासम्पन्न नागरिकहरू केहीमा समृद्ध हुन्छन् भने सायद चुनावी स्मृतिमा नै समृद्ध हुन्छन् ।
दुईतीन कक्षामा पढ्ने केटो थिएँ म । धेरै कुरा नजाने पनि यति चाहिँ जान्दथेँ- बाउको हार पक्का छ ।
उनी प्रधानपञ्चमा उठ्ने भएपछि ग्रामीण राजनीतिमा तरंग उठ्यो । मजाकको तरंग, हाँसोको तरंग । एउटा बौलट्ठी, बोल्ने सोमत नभएको, हाउडे, अनपढ, राजनीतिको एकतिहाइ ‘र' पनि नजान्ने मान्छेले प्रधानपञ्चको कुर्सी ताकेको थियो । गाउँका (गाउँस्तरीय) एलिटका निम्ति त यो जघन्य अपराध नै थियो ।
बाउका आदर्श व्यक्तित्व थिए- जोगमेहर श्रेष्ठ र नानीमैयाँ दाहाल । जोगमेहर खुँखार विम्ब थिए । ‘राजाविरोधीलाई जोगमेहरले सिद्ध्याँउछ' भन्ने आतंक थियो । हामी केटाकेटीले समेत जोगमेहर चिनेका थियौँ, एउटा डरलाग्दो मान्छेका रूपमा । उता, नानीमैयाँ दाहालबारे गाउँमा अनेक किंवदन्ती थिए । बाउ उनलाई लालटिन भन्थे । ‘त्यो लालटिनले क्यै गर्छे,' उनी सुनाउँथे । नानीमैयाँको चुनावचिह्न लालटिन थियो रे । बाउ सुनाउँथे- लालटिन जण्ड छे, उपद्रो गर्छे । प्रधानमन्त्रीलाई फरिया उचालेर देखाइदिन्छे ! आदि आदि ।
बाउ बेसोमती थिए । बातैपिच्छे अश्लील शब्द ओकल्थे । माता-भगिनीका मानमर्दनात्मक तुच्छ गाली हरबखत मुखमा च्यापेका हुन्थे, जसरी खैनीको अम्मलीले च्याप्तछ खैनी । (पिच्च थुक्थे र एउटा सस्तो भद्दा शब्द निक्लेर हावामा बिलाउँथ्यो) । असाध्यै झगडालु थिए । रडाको पर्यटन भन्ने चिज कतै हुन्थ्यो भने बाउ स्वतः त्यसको वैतनिक÷अवैतनिक सद्भावना दूत हुन्थे होलान् । आमा भन्ने गर्थिन्, ‘तेरो बाउको न्वारानको नामै दुर्जाेधन रे ! त्यै भर त ‘र' बाट ‘ख' बिग्य्रो कि बौलाइहाल्छन् ।'
बाउको स्वभावबाट आजित भएर कहिलेकाहीँ म कल्पने गर्थें- ‘हाम्रो बाउ अर्कै भइदिएको भए, जिन्दगी क्या सानदार हुन्थ्यो होला ।' आइरिस मूलका अमेरिकी लेखक फ्र्यांक म्याककोर्टको संस्मरणात्मक कृति ‘एन्जिलाज एसेज' मा जँड्याहा र गैरजिम्मेवार बाबुबाट वाक्कदिक्क भएका बालक फ्र्यांक बेलाबेला यस्तै कल्पना गर्छन् । तर, उनको र मेरो साझा दुःख के थियो भने बाउ साट्न मिल्दनैथ्यो । दस÷एघार वर्षको उमेरमा मलाई एउटा आईएनजीओले जापानी धर्मपिता (फोस्टर फादर) जुराइदिएको थियो । संयोग कस्तो पर्यो भने मेरा बाउ र धर्मपिता दुवै सिपाही थिए ।
त्यो २०४३ सालको गाउँ पञ्चायतको चुनाव थियो । माटो सुहाउँदो व्यवस्थाका माटो सुहाउँदा प्रतिनिधि छान्ने चुनाव । जनता पनि माटो सुहाउँदा थिए । गरिबी र शोषणले तिनलाई जिउँदै माटोमा मिल्न सुहाउँदो बनाइदिएका थिए ।
दोस्रो विश्वयुद्ध लडेका मेरा जापानी धर्मपिताले तीनचार वर्ष मलाई त्यो आईएनजीओमार्फत् पैसा, पोसाक, पोस्टकार्ड र उपहार पठाए । यताबाट मेरा तस्बिरहरू उनीकहाँ पुग्थे, उताबाट उम्दा-उम्दा चिज र नगद आउँथे । पछि आईएनजीओलाई हठात् म छिप्पिएँ र धर्मपुत्र हुने उमेरहद नाघेँ भन्ने लागेछ । उसले जसरी धर्मपिता जुटाइदिएको थियो, त्यसै गरी उनीसँगको नाता टुटाइदियो । सँगै, मैले साथीभाइमाझ फुर्ती लगाएर देखाउने जापानी कलम, कापी र चकलेट आउने बाटो पनि टुट्यो । धेरै महिनासम्म न्यास्रो मानेर बसेँ । धर्मपिताको होइन, सुन्दर जापानी चिजको न्यास्रो !
अँ त, बाउ प्रधानपञ्चमा लड्ने भए । चुनाव नलड्न आमाले गरेको लाख बिन्तीभाउ कुल्चेर लड्ने भए ।
गाउँमा बाउलाई फिटिक्कै रुचाइन्नथ्यो भन्ने होइन । जनमतको सानो तप्का भन्थ्यो, ‘मान्छे खरो र कडा भए पनि उसको पेटमा पाप छैन ।' पाप र धर्मका जाँचकीहरूको यो बयान चुनावमा काम लाग्ने कुरा थिएन । पेटमा पाप नहुनु कुनै राजनीतिक योग्यता पनि त होइन ।
किन चुनाव लड्नुपर्यो भन्ने आमाको प्रश्नको उत्तरमा बाउ दम्भसाथ भन्थे, ‘कीर्ति राख्न ।'
आमा ओठ लेब्य्राउँथिन् ।
बाउले कीर्ति राख्न चुनाव लडेको केही वर्षपछि मात्रै मैले भानुभक्तको ‘घाँसी' कविता पढ्न पाएँ । उतिबेलै पढ्न पाएको भए म भन्थेँ होला, ‘बा, चुनाव लडेर नि कतै कीर्ति राखिन्छ ? कीर्ति राख्न त कुवा खनाउनुपर्छ ।' तर, उनी कसैका कुरा सुन्ने मान्छे थिएनन् । एकचोटि निधो गरेपछि गर्यो, गर्यो । बाउ नमुना काँठे थिए । अझ काँठेमाथिको उपरकाँठे भनिदिए हुन्छ । काठमाडौँको पाखाभित्तामा पर्ने चाल्नाखेलका काँठे ।
काँठे खास भूूगोलको बासिन्दा मात्र होइन, विशिष्ट मनोविज्ञान पनि हो । सहरिया हुन नसक्ने, गाउँले हुन नमान्ने अथवा सहरिया हुने हैसियत नहुने, गाउँले हुन नचाहने विचित्रको मनोदशा ! काँठेसँग जन्मजात एउटा अहंकार हुन्छ । पाखाभित्तामै सही, राजधानीमा एउटा घर र अलिकति जमिन हुनुको अहंकार ! यो खोक्रो अहंकारले आफू खोक्रो भएको काँठेलाई पत्तै हुँदैन । फलतः कुनै काँठे राजनीति या सत्ताको केन्द्रमा पुग्दैन । कुनै बेला त सरकारी जागिरमा पियन भन्नु नै काँठे हुन्थे, काँठे भन्नु नै पियन हुन्थे ।
सरकारी जागिर, राजनीतिलगायत विभिन्न क्षेत्रमा काँठ पिछडिएको छ । सेनामा पिपा, सिपाही, हबलदार र सरकारी जागिरमा पियन, बहिदार, खरदारभन्दा माथि काँठे उक्लिन सक्दैनथ्यो । यद्यपि, आज काँठको अवस्था धेरै फेरिएको छ । (मनोविज्ञान चाहिँ कुन्नि !) काँठेले कुनै नवप्रवर्तन पनि गर्दैन । गरोस् पनि कसरी ? ‘मेरो भैँसीको दूधको धारा नाडीजत्रो छ' भनेर फुर्ती जो लगाउँछ । कमजोरलाई यति हेप्छ र बलियासँग यति दब्छ कि त्यसको कुनै सीमा हुँदैन । हुन त यो सामान्य मानवीय प्रवृत्ति पनि होला । तर, काँठेका हकमा यो प्रवृत्ति असामान्य हुन्छ । सायद त्यसैले चिन्तक आहुतिले भनेका हुन्- ‘काँठेले काँठेपन नत्यागेसम्म त्यसले कुनै राम्रो र विशाल काम गर्न सक्दैन, चिन्तन त झन् गर्नै सक्दैन ।' उनको यो बयान किन पनि ‘अथेन्टिक' छ भने उनी स्वयं काँठे हुन् ।
अघि नै ममतापूर्वक समीक्षा गर्दै भनेँ- बाउ नमुना काँठे थिए । जीवनमा २०÷२५ वर्ष सेनामा जागिर खाएका थिए तर सिपाहीभन्दा माथि पुग्न सकेका थिएनन् । २०४३ सालतिर चाहिँ ट्रलीबस कम्पनीमा गार्ड थिए । आफ्ना सहकर्मीलाई काठमाडौँमा घर-जग्गा हुनुको सम्पन्नताको धाक देखाउँथे । म फुच्चे अवाक् हुन्थेँ । किनभने, यता बाउको यत्रो धक्कु छ, उता घरमा आमा सय रुपैयाँका लागि तड्पिन्थिन् र आफन्तहरूसँग साग खा'को दाँत देखाउन विवश हुन्थिन् ।
बाउले प्रधानपञ्चको चुनाव त आँटे तर उनीसँग ‘भिजन' र ‘एजेन्डा' केही थिएनन्, त्यही सबैले भन्ने ‘विकास गर्छु' भन्ने थोत्रो वाक्यबाहेक । (आज पनि त उम्मेदवारले भन्ने त्यही न हो ।) बाउले चुनावचिह्न पाए- घडी । त्यतिखेर प्लास्टिकको ब्याट्रीवाला घडी (पानी पस्ने, जो हरेक घण्टामा ट्याँ ट्याँ गथ्र्याे) हाम्रो कलिलो पुस्ताको चाहना हुन्थ्यो । मेरो नाडीमा त्यस्तो घडी परेको दुई दिनमै पानी पसेर बिग्रेको थियो । त्यसैको सोधभर्नास्वरूप, मानौँ बाउले घडी चुनावचिह्न पाएका थिए । आफ्नो गच्छेअनुसार बाउले चुनावी अभियान चलाए ।
‘ल है बाबु घडी है घडी !' उनको भोट माग्ने तरिका यही हुन्थ्यो । अरू केही बोल्न जान्दैनथे । बस्, ‘विकास गर्छु' र ‘ल है बाबु घडी है घडी !' भन्थे, उच्चाटलाग्दो तरिकाले । उता मतदाताले यथोचित सम्बोधनसहित (अधिकांशले खिस्याउने गरी) भन्थे, ‘हुन्छ नि काका, हुन्छ नि ठूलोबा ।'
खहरे भन्ने ठाउँमा चौतारो थियो । त्यहाँ बाह्रमासेको हूल हुन्थ्यो । हाडबेल (हाडे बयर) को कौडा र तासको खेल जमिरहेको हुन्थ्यो । केही ग्रामीण बुद्धिजीवी बाघचालमा पनि रमाइरहेका हुन्थे ।
भाइ र म स्कुल जाँदा चौतारोनजिक आएपछि कसैले हामीलाई जिस्काएर बोलाउँथ्यो- ‘ए घडी !' हामी दुई जना रातोपिरो हुन्थ्यौँ । सुनिने दूरी नकटेसम्म ‘ए घडी'का चर्का, च्याँठिदा आवाज आइरहन्थे । एक दिन त एक जना हुल्याहाले मेरो कठालो समातेर भन्यो, ‘तेरो बाउको चिह्न घडी हैन ? ' मैले डराएर भनेँ, ‘हो ।' ‘घडी त घडी,' उसले सातो खाने गरी भन्यो, ‘क्लक कि वाच ? हातमा बान्ने घडी कि भित्तामा टाँग्ने घडी ? ' म बल्लतल्ल उसको अँठ्याइँबाट फुत्केर भागेँ । तर, त्यसले मलाई ज्ञानदान चाहिँ गरिदिएको थियो- क्लक र वाचबीचको भिन्नता ।
०००
बेरोजगार युवाका दुईचार हूल हाम्रो घरमा चुनावी रणनीति बनाउन नआएका होइनन् । ‘काकाले रक्सी र मासुको व्यवस्था गर्नुपर्छ, अरू हामी मिलाउँछौँ'- उनीहरूको एकसूत्रे रणनीति हुन्थ्यो । आमा उनीहरूलाई हकार्थिन्, ‘रक्सीसक्सी क्यै पनि हुँदैन । भोट दे दिन्छन् नदे दिँदैनन् ।'
धेरै पछि मलाई काँठ क्षेत्र, मूलपानी निवासी काँठे लेखक नारायण ढकाल र भद्रवास निवासी अर्का काँठे लेखक कृष्णमुरारी भण्डारीले पञ्चायती व्यवस्थाले कसरी काँठमा रक्सीको राजनीति गरेको थियो, बताएका थिए । नारायण दाइ भन्थे, ‘काँठका बाहुन-क्षत्रीलाई रक्सी खान सिकाउने र जँड्याहा बनाउने नै पञ्चायत हो ।' त्यसमा कृष्णमुरारी दाइले थपेका थिए, ‘पञ्चायतलाई निर्दलीय व्यवस्था भने पनि त्यसमा दुइटा गुट हुन्थे । जस्तो, जोगमेहर गुट र जोगमेहरविरोधी गुट । यौटा गुटले आफ्नो गुट विस्तारका लागि गाउँका प्रधानपञ्च, उपप्रधानपञ्च, वडाध्यक्षलगायत प्रयोग गर्न सकिने जति मान्छेलार्ई हप्तौँ रक्सी र मासु खुवाउँथ्यो ।'
पेन्सन र ट्रलीबसको जागिरले हम्मेहम्मे गरी ठूलो परिवारको नौका चलाइरहेका बाउको ‘रक्सी राजनीति' गर्ने आर्थिक हैसियत थिएन । उनले चुनावी प्रचार हैसियतअुनसार नै गरे । दुईचार टोल दौडिए, उही लयमा ‘घडी है घडी' भनेर भोट मागे । साँझको बत्ती बालेपछि चाहिँ उनी बत्तीसम्मुख हात जोडेर भन्थे, ‘हे सिम्भु, हे अजिमा, हे दक्षिणकाली, हे भद्रकाली, हे मनकामना... !' देवीदेवताको नाम पुकारेको बुझिन्थ्यो, त्यसपछि भने उनी बर्बराउँथे । केही बुझिँदैनथ्यो ।
त्यो चुनावको मलाई धमिलो-धमिलो तर समृद्ध सम्झना छ । त्यसपछिका चुनावहरूमा सम्झनाको माखेसाङ्लो लम्बिँदै गयो, समृद्ध हुँदै गयो । गरिब देशका सार्वभौमसत्तासम्पन्न नागरिकहरू केहीमा समृद्ध हुन्छन् भने सायद चुनावी स्मृतिमा नै समृद्ध हुन्छन् ।
आज म छक्क पर्छु- मेरा बाउजस्ताको पछि लाग्ने पनि एउटा सानो जमात थियो, जसले सम्भावित चुनावी नतिजा आकलन गर्दै बाउलाई सपनाको उलिन्काठ चढाएर प्रधानपञ्च बनाइदिएको थियो । ‘तपाईंले जित्नुहुन्छ, काका !' उनीहरू बाउलाई मक्ख पारिदिन्थे, दोस्रो संविधानसभाको चुनावताका प्रचण्डलाई उनका क्षेत्रका कार्यकर्ताले मक्ख पारिदिएजस्तै । (यो अत्यन्त गैवारे तुलनाका लागि क्षमाप्रार्थी छु ।)
उनीहरूले बाउलाई प्रधानपञ्च भएपछिका लाभका हिसाबकिताब पनि देखाइदिएका थिए (म बुझ्ने भएपछि बाउले मलाई बताएअनुसार) । प्रधानपञ्च भएपछि कहाँबाट कसरी खान सकिन्छ ? बाउलाई बुझाइदिएका थिए, सम्भावनाका ढोकाहरू देखाइदिएका थिए । उनीहरूको भनाइ थियो- ‘प्रधानपञ्च भएपछि बुद्धि पुर्याइएन भने तिलक दाइको जस्तो हाल हुन्छ ।' पूर्वप्रधानपञ्च तिलकबहादुर लामा गाउँको सामूहिक दृष्टिकोणमा निरीह मान्छे थिए । ती सोझा मान्छेले भ्रष्टाचार गरेर धन कमाउन नसकेकोमा सिंगो गाउँ खेद प्रकट गथ्र्याे- ‘प्रधानपञ्च भएर पनि त्यसले केही गर्न सकेन !'
बाउलाई साँच्चिकै प्रेम र समर्थन गर्ने एकजना थिए, हाम्रा बोसने मीतबा । गाउँकै बोसन भन्ने ठाउँका उनले बाउका पक्षमा जनमत बनाउन कुनै कसर छोडेका थिएनन् । हाम्रो परिवार उनलाई असाध्यै श्रद्धा गथ्र्याे । बाउ पनि उनीसँग नतमस्तक हुन्थे । उनी कोहीसँग डराउँथे भने मीतबासँग डराउँथे ।
बाउका प्रतिस्पर्धी थिए- काठमाडौँको दक्षिणी भेगकै शिक्षित मान्छे । एमए पास । एकचोटि प्रधानपञ्च पड्काइसकेका । गोरा पर्यटकसँग अंग्रेजी यस्तरी बोल्थे कि सारा ग्रामीण जगत् छक्क पथ्र्याे र साउती गथ्र्याे- ‘अम्रिकनेले पनि अंग्रेजीमा उहाँलाई हराउन सक्दैन ।'
यता बाउ थिए, निरक्षर भट्टाचार्य । तर, अचम्म के थियो भने उनी आफ्नो नाम लेख्न जान्दथे । पेन्सनपट्टा हेर्दा उनले महिनैपिच्छे ‘कृसन' लेखेर पैसा बुझेको देखिन्थ्यो । भाइ र मैले अलिक बुझ्ने भएपछि उनको नामको ‘प्रुफ' सच्याइदिन खोजेका थियौँ- कृसन होइन, कृष्ण हुन्छ भनेर । तर, सेनामा उनको प्रिय हबलदारबाट प्राप्त गरेको यो एक शब्दको साक्षरता उनलाई यति प्रिय थियो कि उनी जिन्दगीभर ‘प्रुफ मिस्टेक'वाला नाम लिएर बाँच्न तयार भए ।
०००
कीर्ति राख्न चुनाव लडेका बाउले चुनाव हारे । कीर्ति त राख्न सकेनन्, कीर्तिमान चाहिँ राखे । जम्मा २७ भोट ल्याए । बाउले चुनाव हारेको भोलिपल्ट हाम्रो घरमा मान्छे मरेको उदासी छायो । घरमा हामी सबै मौन-मौन थियौँ, विषादग्रस्त । कोही कोहीसँग बोल्दैनथे । बाउको सेखी झरेको थियो । नूर गिरेको थियो । तर, केही हप्तापछि नै बाउ हारको शोकबाट तंग्रिए । भाइ र म भने झन्झन् दुःख र संकटमा फस्दै गयौँ ।
हामीले टोलछिमेक र स्कुलमा मर्लान्त हुने गरी व्यंग्यवाण सहनुपर्थ्यो । कसैले हामीलाई ‘घडी' भन्थ्यो, कसैले २७ भन्थ्यो, कसैले ‘ट्वेन्टी सेभेन' । २७ भन्नासाथ हामी अपमानले नीलो हुन्थ्यौँ । २७ ले हाम्रो सातोपुत्लो खान्थ्यो । कुनै संख्याले पनि जिन्दगीमा यसरी आतंक मच्चाउँदो रहेछ ।
२०४६ सालमा बहुदलीय व्यवस्था पुनर्बहाली भयो । त्यसपछि देशले थुप्रै चुनाव देख्यो । प्रतिनिधिसभा निर्वाचन २०४८, २०५१, २०५६ अनि स्थानीय निकाय निर्वाचन २०४९ र २०५४ । (देख्न त देशले ज्ञानेन्द्र शाहले गराएको नगरपालिका निर्वाचन २०६२ पनि देख्यो । चुनाव पनि ठट्टा हुन सक्छ, ठट्टा पनि चुनाव हुन सक्छ भन्ने पनि जान्यो देशले ।)
बाउले २७ भोटको कीर्तिमान राखेको चुनावपछि आएका हरेक चुनावताका भाइ र मलाई दुनियाँले घडी र २७ भोट सम्झाउँथ्यो । हामी दाजुभाइले बाउको हारको परिणति कतिसम्म भोगेका थियौँ र कतिसम्म पीडित मनोदशामा हुन्थ्यौँ भन्ने बुझ्न एउटा प्रसंग नै पर्याप्त छ । २०४८ सालको चुनाव हुँदै थियो । गाउँ चुनावमय थियो । हामीलाई देखेपछि एकजना उपद्र्याहा भन्थ्यो, ‘ह्वाट टाइम इज इट ? ' र अर्को हुल्लडबाज भन्थ्यो, ‘इट इज ट्वेन्टी सेभेन व क्लक ।'
उता बाउ भने हरेक चुनावताका दुईचार जनाको जमघटमा गफ दिन्थे- ‘चुनाव त मैले पनि लड्या थेँ ।' जमघटको सदस्य मुख बिगारेर भन्थ्यो, ‘हो, काकाले लड्नु भा'थ्यो ।' तर, उसको हाउभाउ कस्तो हुन्थ्यो भने एक शब्द नबोलीकन ऊ भनिरहेको हुन्थ्यो- ‘कति भोट ल्याथ्यौ, हाम्लाई था छैन र ? '
बाउ बाँचेका भए अहिले ९१ वर्षका हुन्थे । र, यो स्थानीय तहको निर्वाचनमा गफ दिइरहेका हुन्थे होलान्, ‘चुनाव त मैले पनि लड्या थेँ ।'