ज्यान हत्केलामा राखेर निकालिन्छ भीर मौरीको मह (भिडियो)
माइला पाख्रिन भीरमा मह निकाल्न जाँदै थिए । उनले टेकिरहेको भर्याङ बाँसको चोयाबाट बनाइएको थियो । त्यो पनि यसपालि बनाइएको होइन । धूवाँ लागेको पुरानो भर्याङलाई अघिल्लो रातभरि पानीमा भिजाइएको थियो । त्यही चोयाको लट्ठामा काठका डन्डी दुईतिर घुसाएर खुट्किला बनाइएको भर्याङ (स्थानीय भाषामा पर्याङ)ले थेगेको छ उनलाई ।
भीरमा चढ्दा जुत्ताचप्पल लगाउने कुरै भएन । तर, उनका खुट्टामा अहिलेसम्म जुत्ताचप्पल परेका छैनन् । उनी बाँसको चोयाको भर्याङमा टेक्दै र बाँसकै डोरीमा झुन्डिँदै छन् । बाँदरझैं भीरमा गइरहेका माइलालाई नियाल्नेहरू पनि छन् पारिपट्टि । महको भरिलो चाकामा मौरीहरू पनि प्रशस्त थिए । ती मौरीलाई तलबाट पठाइएको धूवाँले खासै असर गरेको थिएन । हावाले धूवाँलाई अन्यत्रै मोडिरहेको थियो । माइला मह भएको चाका नजिकै पुगिसकेका थिए । मौरीका बथानले माइलामाथि एक्कासि आक्रमण गर्यो । उनी अत्तालिए ।
तल खसेको भए उनको शरीर कुखुराको फूल फुटेझैं फुट्थ्यो । मौरीको टोकाइले उनलाई माथि चढ्न पनि असहज भइरहेको प्रतीत हुन्थ्यो । सकीनसकी माइला माथि उक्लिए । भीरको बीचमा केही समथर जमिनमा पुगे उनी । त्यहाँ उनलाई सघाउन गएका तीनजना अरूरु साथी पनि थिए । मौरीको टोकाइबाट बच्न सबैले पछ्यौराले मुख छोपिरहेका थिए । माइला पनि पछ्यौराले मुख छोपेर त्यहीँ पल्टिए ।
‘मलाई सास फेर्न गाह्रो भयो, माथि लैजाऊ, म मर्न लागेँ, मलाई बचाऊ', माइलाले साथीहरूलाई भनेछन् । साथीहरूले पारिपट्टि महको पर्खाइमा बसिरहेकालाई ‘लौन मान्छे मर्न लाग्यो, माथि लैजानु पर्यो, डोरी पठाइदेऊ माइला चिसो भइसक्यो । लौन छिटो गर' भनेर चिच्याउन थाले ।
पारिपट्टि रहेका एक हूल मानिसले त्यो आवाज सुने तर त्यति धेरै वास्ता गरेजस्तो लागेन । नाइलनको रातो डोरी तलबाट माथि लैजान कम्तीमा पनि २० मिनेट लाग्थ्यो । माइलाकै छोरा, माइलासँगै सुनगाउँबाट आएका तामाङ युवाहरू र यो पंक्तिकारसहितले तलबाट डोरी तानेर भीरमाथि पुर्यायो । भीरबाट डोरी खसालेपछि माइला झुन्डिँदै माथि उक्लिए । बाँझो खेतमा ज्यान छोडेर माइला पल्टिए ।
भीरमा चढ्दा जुत्ताचप्पल लगाउने कुरै भएन । त्यसो त माइला पाख्रिनको खुट्टामा अहिलेसम्म जुत्ताचप्पल परेका छैनन् । उनी बाँसको चोयाको भर्याङमा टेक्दै र बाँसकै डोरीमा झुन्डिँदै भीर चढिरहेका छन् ।
सोधे, ‘दाइ तपाईंलाई के भयो ? ' माइलाले सुस्तरी जवाफ फर्काए, ‘मलाई गाह्रो भयो, श्वास फेर्न गाह्रो भयो ।' उनको ओठमुख सुकेको थियो । उनी साँच्चै सिकिस्त थिए । पानी खोजेर पिउन दिएँ । पानी पिएपछि उनी अलिक बोल्नसक्ने भए । ‘किन यस्तो भयो दाइ ? ' ‘झाँक्रीले देवी देउतालाई राम्ररी पूजा नगरिदिएकाले यस्तो भयो मलाई । योभन्दा पहिले दुईपटक यो भीरबाट सजिलै मह निकालेको थिएँ । पहिले यस्तो भएन, अहिले यस्तो भयो', माइलाले जवाफ फर्काए ।
‘के गर्ने होला त अब ? अस्पताल जाने हो ? ' प्रश्न भुइँमा खस्न नपाउँदै माइलाले भने, ‘झाँक्रीलाई बोलाइदिनुस्, फुक्न लगाउनु पर्यो ।' सुनगाउँका युवाहरूले झाँक्री बोलाए । झाँक्री तिनै केशरबहादुर सिलवाल थिए, जसले माइला मह निकाल्न भीरमा जानुपहिले पुजारी भएर देवीदेउताको पूजा गरेका थिए । एउटा कुखुरा पनि बलि दिएका थिए ।
भीरमा जानुअघि देवीदेवताको पूजा गर्दै ।
‘यसरी पूजा गरेपछि मह निकाल्न जानेलाई केही हुँदैन, गाउँघरमा सुखसुविधा हुन्छ', मह निकाल्नुअघि पूजा गरिरहँदा किन पूजा गरेको भन्ने जिज्ञासामा पुजारी केशरबहादुर सिलवालले भनेका थिए । पूजा गर्ने क्रममा केशरबहादुरले देवीदेउता भाकेर माइला र मह निकाल्न जानेलाई तलमाथि भए ३३ कोटी देवीदेउता जिम्मेवार हुने बताएका थिए । ‘उत्तरदक्षिण, पूर्वपश्चिम जताका भए पनि लौ परमेश्वरी रक्षा गर, मौरीले टोक्ला, तलमाथि केही होला, रक्षा गर', केशरबहादुरले यसरी देउता भाकेको आगन्तुकहरूले पनि सुनेका थिए । माइलाको बुझाइमा केशरबहादुरले देउता पुकारेको उनलाई चित्त बुझ्दो भएन ।
झाँक्री आएर माइलालाई फुक्न थाले । माइला विस्तारै आँखा हेर्न थाले । झाँक्रीलाई सोधे, ‘किन यस्तो भएछ माइलालाई ? तपाईंले राम्रोसँग पूजा नगरिदिएका कारण उहाँलाई यस्तो भएछ नि ।' केशरबहादुरले जवाफ फर्काए, ‘मैले जे जति देवी देउतालाई बुझाउनुपर्ने हो, बुझाएको हो ।'
महभीरका धनी मानबहादुर सिलवाललाई सोधेँ, ‘किन यस्तो भयो माइलालाई ? ' मानबहादुर सिलवालले पनि अनभिज्ञता प्रकट गरे । ‘बिहान राम्रै थियो, त्यही त कसरी यस्तो भयो, मौरीले धेरै टोकेकोले यस्तो भएको हुन सक्छ । तलबाट धूवाँ लगाइदिने मान्छे भएनन् । त्यही भएर धेरै मौरीले टोकेर यस्तो भएको हुनसक्छ', मानबहादुर सिलवालको जवाफ व्यावहारिक लाग्थ्यो । मानबहादुरको घरमा बिहान ६ बजे नै गुन्द्रुकको तरकारीसँग माइलाले भात खाएका थिए ।
भीरमा झुन्डिने बाँसको डोरी ।
घारबाट मह निकाल्ने सामान बोकेर माइला भीरमा गएका हुन् । मौरी भगाउन तलबाट जे जति धूवाँ पठाउनुपथ्र्यो त्यति नपठाएजस्तो लाग्थ्यो ।
‘माइलाले अब फेरि भीरमा गएर मह निकाल्न सक्लान् त ? ' जिज्ञासामा मानबहादुरले भने, ‘उसले अब सक्दैन । बाँकी भएको मह पनि रातभरिमा मौरी आफैंले खाइसक्छ । अब यसपालि मह निकाल्ने कुरै नहुने भयो ।'
माइला खेतको गह्रामा पल्टिरहेका छन् । उनलाई अस्पताल लैजाने कि नलैजाने भन्नेमा एकमत हुन सकेन । माइला आफैं पनि अस्पताल जान इच्छुक देखिएनन् । त्यसपछि हामी त्यहाँबाट हिँड्यौं । यो भीरबाट मह निकाल्ने मानबहादुर सिलवाल चौथो पुस्ता हो । भीरभन्दा माथि अरूको जग्गा छ, भीरमुनिको खोल्सा सार्वजनिक हो । सिन्धुपाल्चोक जिल्लाको साविक गोल्चे गाविसस्थित नाम्फा (जुगल गाउँपालिका)मा रहेको भीर मानबहादुर सिलवाल, राजेन्द्र सिलवाल र भीमबहादुर सिलवालले आफ्नो भनेर उपभोग गर्दै आएका छन् । त्यो भीरबाट प्राप्त हुने मह तीनजनाका लागि बराबरी भाग लगाउने चलन छ । मह निकाल्ने माइलालाई महधनीले पैसा दिने गरेका थिए ।
महका तीनजना हकदारमध्ये मानबहादुर सिलवालमात्रै सक्रिय थिए । राजेन्द्र सिलवाल र भीमबहादुर सिलवाल पारिपट्टि बसेर कति मह निस्कन्छ भनेर नियालिरहेका मात्रै थिए । मह निकाल्न चाहिने सामान जुटाउने र मह निकाल्ने सिकारी खोज्नेमा राजेन्द्र र भीमबहादुरको भूमिका देखिँदैनथ्यो ।
०७२ वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पले दुईजना मह निकाल्ने सिकारीको ज्यानमात्रै लिएन, मह निकाल्न चाहिने सामान सबै पुरिए । दुई वर्ष त्यो भीरबाट मह निकालिएन । यो वर्ष निकाल्ने योजना बनाएर मानबहादुर सिलवालले माइलालाई खोजेका थिए । माइलाका अनुसार साना तथा ठूला गरेर उनले तीन सयभन्दा बढीपटक भीरमा चढेर मह निकालिसकेका छन् । निकालेको मह तीन भाग लगाइन्छ । दुई भाग मह धनीलाई हुन्छ भने एक भाग निकाल्ने सिकारीको हुन्छ । मह लिन नचाहेमा त्यो मह बराबरको रकम लिने गर्छन् सिकारीहरू ।
भीरमा मौरीले टोकेर बेहोस भएका माइला पाख्रिनलाई झारफुर गर्दै झाँक्री ।
मनबहादुरका अनुसार गोल्चे क्षेत्रमा भीरमौरीको मह निकाल्ने पाँचजना छन् । मानबहादुरले भने, ‘भीरबाट मह निकाल्नु जोखिमपूर्ण काम हो । जो बहादुर छ, उसले मात्रै मह निकाल्न सक्छ । जोकोही भीरमा गएर मह निकाल्न सक्दैनन् । नयाँ पुस्ता मह निकाल्न भीरमा जान चाहँदैन ।'
मानबहादुरका अनुसार पछिल्ला दिनमा भीरमा मौरीको संख्या बढेको छ तर मह घटेको छ । उनले भने, ‘मौसममा आएको परिवर्तनले यस्तो भएको हुनसक्छ । भीरमौरीका लागि आवश्यक पोषक तत्ववको कमी भएको हुनसक्छ । तर, वास्तविकता के हो हामीलाई पनि थाहा छैन ।'
त्यो भीरमा मौरीले राम्रोसँग मह निकाल्दा प्रतिवर्ष एक लाखदेखि डेढ लाख रुपैयाँसम्मको मह बेच्ने गरिएको मानबहादुर बताउँछन् । ‘मह राम्रो भएन भने त लगानी पनि उठ्दैन', मानबहादुरले भने ।
मह निकाल्न गरिएको संघर्ष (भिडियो)
भीरमौरीको मह औषधिको रूपमा प्रयोग हुन्छ । चीन र कोरियाबाट मह खोज्न मानिसहरू गाउँमै आउने गरेका छन् । ‘विदेशीहरू आउन थालेपछि महको मूल्य बढेको हो । पहिले त मूल्य नै हुँदैनथ्यो', मानबहादुरले भने, ‘कमजोर मान्छेलाई खुवाउँदा हृष्ठपुष्ट हुन्थे, गोरु र बोकालाई खुवाउँदा मोटाउँथे ।' भीरमौरीको मह कात्तिक, मंसिर र जेठमा निकाल्ने गरिन्छ । मानबहादुरका अनुसार मंसिरको भन्दा जेठको मह बढी विषालु हुन्छ । ‘जेठको मह त मान्छेले खानै सक्दैनन् । मंसिरको चाहिँ खान सक्छन्', मानबहादुरले भने । चिनियाँ र कोरियालीहरूले भने मंसिरको भन्दा जेठको मह बढी मूल्य तिरेर लैजाने गर्छन् । उनीहरू औषधिको मात्रामा मिलाउनका लागि भीरमौरीको अर्गानिक मह लैजान्छन् ।
महका अर्का हकदार राजेन्द्र सिलवालका अनुसार पहिले त्यो भीरबाट १५ बाल्टीसम्म मह निकालिएको थियो । एउटा बाल्टीमा २० लिटर मह हुन्थ्यो । तीन सय लिटर मह निकाल्दा उनीहरू लाभ प्राप्त भएको अनुभव गर्थे । ‘मौसम परिवर्तनले हो कि केले हो, कहिलेकाहीँ सुक्खा हुन्छ, त्यस्तो अवस्थामा मौरीले पर्याप्त मात्रामा फूलको रस चुस्न पाउँदैन । त्यसैले मह घट्दै आएको छ', भीमबहादुरले भने, ‘यो हाम्रो आम्दानीको स्रोत हो । प्रत्येक वर्ष मह कस्तो छ भनेर हेर्छौं, राम्रो भए निकाल्छौं, खर्च पनि नउठ्ने अवस्थामा निकाल्दैनौं ।'
मानबहादुरकी ९२ वर्षीया आमा भक्तकुमारी सिलवालका अनुसार पहिले प्रतिलिटर पाँच रुपैयाँमा पनि भीरमौरीको मह बिक्री हुँदैनथ्यो । ‘औषधिका लागि खोज्न आउनेलाई सित्तैमा पनि दिन्थ्यौं । छिमेकीहरूलाई बाँडिदिन्थ्यौं', भक्तकुमारीले आफू जवानी हुँदाको क्षण सम्झिइन् । मानबहादुर र भीमबहादुरका अनुसार चिनियाँ र कोरियालीसँग अहिले प्रतिलिटर महको मूल्य पाँच हजार रुपैयाँसम्म लिने गरिएको छ । तर, चिनियाँ र कोरियाली आफैं गाउँ पुग्दैनन्, उनीहरूका एजेन्टले निर्धारण गरेको मूल्य गाउँलेले पाउँछन् ।