गोप्य अनुगमनमा स्थानीयको विरोध
जुम्ला : आर्थिक वर्ष सकिनै लाग्दा जिल्लामा भएका विकास निर्माण आयोजनाको जिल्ला समन्वय समितिले गोप्य रूपमा अनुगमन गरेपछि स्थानीय आक्रोशित बनेका छन् । अनुगमनका नाममा कमजोरी लुकाउन स्थानीय समन्वय समितिले गोप्य अनुगमन गरेको भन्दै जुम्लीबासी आक्रोशित बनेका हुन् ।
आर्थिक वर्ष सकिनै लाग्दा स्थानीय समन्वय समितिले धमाधम विकास निर्माणका काम थालनी गर्नुका साथै आफूखुसी अनुगमन गरिरहेको छ । यसअन्तर्गत हाल स्थानीय समन्वय अधिकारी हरिनारायण बेल्वासेले सांसदलाई जिल्ला घुमाइरहनुभएको छ । अनुगमन गर्दा जिल्लास्थित सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता हुनुपर्ने भए पनि सबैलाई बेवास्ता गर्दै जिल्लाबाट निर्वाचित सांसद र स्थानीय समन्वय अधिकारीले एकलौटी रूपमा गोप्य अनुगमन थालेका हुन् ।
यसरी कमजोरी लुकाउन गोप्य रूपमा सांसद र एलडीओ मिलेको भन्दै स्थानीय नागरिकका साथै सरोकारवाला निकायका प्रतिनिधि आक्रोशित बनेका छन् । स्थानीय विकास अधिकारीले बजेट विनियोजनमा पनि भेदभाव गरेको स्थानीयको आरोप छ । 'आर्थिक वर्ष सकिनै लाग्दा एलडीओले आफूनिकटका मानिसलाई नियम विपरीत धमाधम बजेट बाँडेका छन्', स्थानीय समन्वय समितिमा बुधबार असन्तुष्टी पोख्न आएका स्थानीय ललितजंग महतले भन्नुभयो, 'कमजोरी र अनियमितता लुकाउन सांसद र एलडीओले गोप्य अनुगमन गरिरहेका छन् ।' उहाँले हचुवाका भरमा बजेट बाँडेको र काम भए नभएको मूल्यांकनबिना नै रकम निकाशा गर्ने गरेको आरोप लगाउनुभयो ।
आर्थिक वर्ष सकिनै लाग्दा स्थानीय समन्वय समितिले धमाधम विकास निर्माणका कार्य थालनी गर्नुका साथै आफूखुसी अनुगमन गरिरहेको छ ।
यस्तै निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम दुरुपयोग भएको उहाँले दाबी गर्नुभयो । निर्वाचन क्षेत्र विकास कार्यक्रमको करोडौं रकम आफ्ना कार्यकर्ता पाल्न प्रयोग गरिएको महतको आरोप छ । 'निर्वाचन क्षेत्र विकास कार्यक्रमको दुई करोड बजेट विभिन्न ठाउँमा टुक्रे योजनामा नेताले आफ्ना कार्यकर्ता पाल्न उपभोक्ता समितिमार्फत काम गराए', उहाँले भन्नुभयो, 'त्यसको अनुगमन एलडीओले गोप्य गरेकाले पनि अनियममितता लुक्ने सम्भावना छ ।' निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतको १५ लाख बजेटबाट चन्दननाथ ५ को जुगाड खोलामा कुलो निर्माण गरिए पनि अहिले उक्त क्षेत्रका बस्ती बाढीको जोखिममा छन् ।
राम्रोसँग नियमन नहुँदा उक्त खोलाको बहाव नै बस्तीसम्म पुगेको छ भने कुलोको निर्माण प्रभावकारी नहुँदा त्यसबाट किसानले यसवर्ष लाभ लिन पनि सकेनन् । स्थानीय समन्वय अधिकारी हरिनारायण बेल्वासेले अरु सरोकारवाला निकायलाई बेवास्ता गर्दै सांसदलाई एकलौटी रूपमा जिल्ला भ्रमण गराइरहनुभएको छ । अनुगमनको पाटो गोप्य राखिएको भन्दै बुधबार नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति जुम्लाले स्थानीय समन्वय अधिकारीको ध्यानाकर्षण गराएको छ ।
शाखा अध्यक्ष बरमबहादुर महतले एलडीओले विकासमा भएका कमजोरी अहिले स्थानीय समन्वय अधिकारीको कार्यालयमा दैनिकजसो आउने गरेका छन् तर स्थानीय समन्वय अधिकारीले काममा हेलचेक्र्याइ गर्नेलाई कारबाही गर्ने आफू नभएको भन्दै पन्छिने गरेका छन् । यस्तै, काम सम्पन्न भइसकेपछि रकम भुक्तानी लिन आउने उपभोक्ता समितिका पदाधिकारीलाई विभिन्न बाहनामा अल्झाउने गरेको समेत उपभोक्ता समितिले गुनासो गरेका छन् । अहिले आर्थिक वर्षको अन्त्यमा बजेट सिध्याउनका लागि टुक्रे आयोजना निर्माण कार्यले तीव्रता पाएको छ ।
जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर २ मा लक्षित वर्गको क्षमता अभिवृद्धिका लागि छुट्याइएको रकम सिध्याउनका लागि प्रतिक्षालय निर्माण सुरु गरेको तातोपानीका स्थानीयले गुनासो गरे । क्षमता विकासका लागि खर्च गर्ने भनिएको बजेट समय थोरै भएको भन्दै प्रतिक्षालय निर्माण थालेको स्थानीयको आरोप छ ।
अपांगता भएका व्यक्तिका लागि ५० हजार, ५० हजार दलित, ७५ हजार महिला र ७५ जेष्ठ नागरिकलाई छुट्याइएको बजेटबाट प्रतिक्षालय निर्माण समिति गठन गरी बुधबारबाट निर्माण थालनी गरिएको छ ।
यता स्थानीय समन्वय अधिकारी हरिनारायण बेल्वासेले भने सांसदले आफूमात्र अनुगमनमा जाने भनेकाले त्यसैअनुसार गरिएको बताउनुभयो । 'निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेटमा उहाँहरूको अधिकार हुन्छ,' बेल्वासेले भन्नुभयो, 'उहाँहरूको निर्देशनअनुसार मैले योजना निर्माण भइरहेका ठाउँमा डुलाएको हुँ, कसैलाई चित्त नबुझे आफैं गएर अनुगमन गर्दा हुन्छ ।'