बुद्धस्थल लुम्बिनीको प्रचार र विकास मुस्लिम मेयर उम्मेदवारको एजेण्डा
बुटवल : रमजानको मुख्य दिन शुक्रबार नमाज पढ्ने साइत सुरु हुदाँसम्म बौद्धस्थल लुम्बिनीको गेटमै मेयरका मुस्लिम उम्मेदवारहरु लुम्बिनी बिकास गर्ने एजेण्डा सुनाउदै थिए । धर्म फरक भए पनि आर्थिक र पर्यटन विकासका लागि लुम्बिनी महत्वपूर्ण रहेको भन्दै उनीहरुले बुद्धस्थलको विकास र प्रचारलाई चुनावी एजेण्डा बनाएका छन् ।
मुलुकको एकमात्रै सांस्कृतिक नगरपालिका लुम्बिनीका मेयर प्रत्यासीहरु धेरै मुस्लिम छन् । मुस्लिम उम्मेदवारहरुको चुनावी एजेण्डा छ, बुद्धस्थल लुम्बिनीको विकास र प्रचार ।लुम्बिनीको विकास र पर्यटकको आवगमनले मात्रै लुम्बिनी क्षेत्रवासी समुदायको आर्थिक विकास हुने उम्मेदवारहरुले बताएका छन् । संघीय समाजवादी फोरमका मेयर उम्मेदवार फखरुद्धिन खानले लुम्बिनीलाई धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताउनुभयो ।
‘दीगो रुपमा शान्ति स्मार्ट सिटीको रुपमा लुम्बिनीको विकास गर्ने मेरो प्राथमिता हो, उहाले भन्नुभयो-‘विदेशी पर्यटकको संख्या बढाउनका लागि बुद्धधर्म र लुम्बिनीको प्रचारमा जोड दिनेछु ।' लुम्बिनी सांस्कृतिक नगरपालिकामा मुस्लिम समुदायको बाहुल्यता छ । लुम्बिनी विकास कोषले जग्गा अधिकरण गरेको क्षेत्र समेत मुस्लिम समुदायको बसोबास भएको क्षेत्र हो । फोरमका उम्मेदवार खानले पहिलो पटक लुम्बिनीको विकासका लागि आफ्नै परिवारले मुआब्जा बुझेको भन्दै यसको विकास गर्नु दायित्व रहेको बताउनुभयो ।
कांग्रेसका मेयर उम्मेदवार मोहम्मद शहिद खानले लुम्बिनी बिकास कोषमा स्थानीयको सहभागिता आवश्यक रहेको भन्दै त्यसले मात्रै विकास हुने बताउनुभयो । ‘लुम्बिनीको विकासमा स्थानीयको प्रत्यक्ष सहभागिता हुनुपर्छ, उहाले भन्नुभयो-‘समाजसँग लुम्बिनी जोडेर विकास गर्ने मेरो योजना छ ।' लुम्बिनीलाई हरियाली, प्रदुषणमुक्त बनाउने योजना उम्मेदवारले राखेका छन् । मुस्लिम, हिन्दु, बौद्ध, इसाईहरुको धार्मिक तथा जातीय सहिष्णुता लुम्बिनीमा कायम राख्ने उम्मेदवारले बताए ।
एमालेका उपमेयर उम्मेदवार इन्साफ मुसलवान लुम्बिनीलाई प्रदुषण रहित स्मार्टसिटीका रुपमा विकास गरिने बताउनुभयो । ‘लुम्बिनी विकास कोषमा हुने राजनीतिक नियुक्ति र कार्यशैली फेरिनुपर्छ' उहाँले भन्नुभयो । लुम्बिनीको विकास भए मात्रै स्थानीय समुदायको विकास हुने भन्दै धेरैभन्दा धेरै पर्यटक ल्याउने योजना बनाउने उहाँले बताउनुभयो ।
लुम्बिनीमा बौद्ध धर्मालम्बीहरु आउने वातवारण बनाउनका लागि मुस्लिमहरुले योगदान गर्ने उनीहरुको विश्वास छ । भैरहवामा बन्दै गरेको गौतमबुद्ध बिमानस्थल लुम्बिनीकै कारण बनेको भन्दै अझै धेरै विकास त्यस क्षेत्रमा पुर्याउन लुम्बिनीको विकास आश्यक रहेको उम्मेवारले बताए । राप्रपाका मेयर उम्मेदवार महम्मद शफिद (समिर)ले विकास कोष एरियाको मात्रै विकासले लुम्बिनीको विकास नहुने भन्दै सामाजिक आर्थिक अवस्थाको विकास गर्ने योजना आफूसंग रहेको बताउनुभयो । विकास कोषमा स्थानीयको सहभागिता भए मात्रै समाजसंग जोडिने उहाले बताउनुभयो ।
लुम्बिनी विकास कोषलाई नगरपालिका मातहतमा राखेर विकास गर्ने एजेण्डा पनि दलहरुको छ । मुस्लिम नेताहरुले शान्तिको प्रतिक लुम्बिनीलाई स्मार्ट सिटी बनाएरै छाड्ने अठोट लिएका छन् ।