क्रिकेटमा पाकिस्तानको पुनरागमन
पाकिस्तानी क्रिकेट र तिनका समर्थकले पछिल्लो झन्डै आठ वर्ष पीडामा बिताए । सन् २००९ मा श्रीलंकन टोलीमाथि पाकिस्तानी राजधानीमा आक्रमण भएपछि अन्य क्रिकेटिङ राष्ट्रहरूले पाकिस्तानमाथि नाकाबन्दीको शैली अपनाए । भारत अझ कडा रूपमा प्रस्तुत भयो ।अन्य देशहरूले पाकिस्तानमा खेल्नमात्र अस्वीकार गरेका थिए । उनीहरू पाकिस्तानसँग पाकिस्तानबाहिरको भेन्युमा दुईपक्षीय शृंखला खेल्न तयार भए । तर, भारतले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को बाध्यकारी प्रतियोगिताबाहेक अन्य कुनै पनि शृंखलामा पाकिस्तानसँग पाकिस्तानबाहिरको भेन्युमा समेत खेल्न अस्वीकार गर्यो ।
भारत केही समय अन्य देशहरूले पनि पाकिस्तानविरुद्ध पाकिस्तान बाहिरको भेन्युमा समेत दुईपक्षीय शृंखला खेल्न नहुने वकालत गर्दै हिँड्यो ।अन्य कुनै पनि देशले आफ्नो देशमा आएर खेल्न अस्वीकार गरेपछि पाकिस्तानले आफूले खेल्ने स्थान नै सार्नुपर्यो । पाकिस्तानले अहिले पनि संयुक्त अरब इमिरेट्स (यूएई) लाई आफ्नो घरेलु मैदानको रूपमा प्रयोग गर्दै आइरहेको छ । पछिल्लो आठ वर्षको अवधिमा पाकिस्तानले भारत बाहेकका देशहरूसँगको दुईदेशीय घरेलु शृंखला यूएईमै खेल्दै आइरहेको छ ।
यो अवधिमा पाकिस्तानी क्रिकेट टोलीले आफ्नो देशभित्र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नमात्रै नपाएको होइन, पाकिस्तानले यो अवधिमा आफ्नो देशभित्र कुनै अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजनासमेत गर्न पाएनन् । अनि घरेलु समर्थकले आफ्नो राष्ट्रिय टोलीले आफ्नो देशमा अभ्यास गरेको समेत देख्न पाएनन् । पाकिस्तानभित्र क्रिकेट गतिविधि लगभग शून्य भयो ।
यसबीचमा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अन्य देशलाई पाकिस्तानमा खेल्ने वातावरण बनाउन कुनै कसरत बाँकी राखेन । तर, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को प्रभाव र अवरोधमा पाकिस्तान आफ्नो अभियानमा सफल भएन ।अन्तर्राष्ट्रिय टोलीले पाकिस्तान जान अस्वीकार गरेसँगै पाकिस्तानी टोलीको प्रदर्शन पनि निरन्तर खस्कँदै गयो । एक दिवसीय, टी-ट्वेन्टी र टेस्ट सबै प्रकृतिको क्रिकेट प्रतियोगितामा पाकिस्तान अन्य टोलीभन्दा निक्कै पछि देखियो ।
पाकिस्तानले हालै सम्पन्न च्याम्पियन्स ट्रफीमा पनि निक्कै मुस्किलले स्थान बनाएको थियो । आईसीसीको एकदिवसीय वरीयताको शीर्ष आठभित्र रहने टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका लागि पाकिस्तानले आठौं स्थानमा रहँदै छनोट सुरक्षित गरेको थियो । दुई वर्षअघि अक्टोबर तीनमा भएको खेलमा पाकिस्तान जिम्बावेसँग पराजित हुन पुगेको थियो । यदि त्यो हार तीन दिनअघिमात्रै भएको भए, पाकिस्तानले च्याम्पियन्स ट्रफीको सहभागिता गुमाउने पक्का थियो ।
यो वर्षको च्याम्पियन्स ट्रफीमा पाकिस्तानलाई उपाधि दिलाउन २७ वर्षीय ब्याट्सम्यान फखार जमाम र २३ वर्षीय पेसर हसन अलीले उत्कृष्ट प्रदर्शन गरे ।
निक्कै मुस्किलले छनोट भएको पाकिस्तानले प्रतियोगिमा सुरुवात पनि सुखद गर्न सकेन । समूह चरणको पहिलो खेलमै चिरप्रतिद्वन्द्वी भारतसँग डकवर्थ लेविस नियमका आधारमा एक सय २४ रनले पराजित हुँदै पाकिस्तानले प्रतियोगिता सुरुवात गरेको थियो ।
त्यसपछिको खेलमा पाकिस्तानले निरन्तर सुधार गर्यो । समूह चरणको अन्य दुई खेलमा दक्षिण अफ्रिका र श्रीलंकालाई पराजित गरेको पाकिस्तानले सेमिफाइनलमा आयोजक इङ्ल्यान्ड र फाइनलमा उही भारतलाई एक सय ८० रनको भारीअन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्यो, जुन पाकिस्तानले आईसीसीको प्रतियोगिता जितेको आठ वर्ष पछिको पहिलो अवसर थियो ।
सन् २००९ मा इङ्ल्यान्डमा भएको आईसीसी टी-ट्वेन्टी विश्वकपको उपाधि जितेयता पाकिस्तानी सिनियर राष्ट्रिय टोलीले आईसीसीको कुनै पनि प्रतियोगिता जित्न सकेको थिएन । यससँगै पाकिस्तानले आफूलाई आईसीसीले सिनियर राष्ट्रिय टोलीका लागि आयोजना गर्ने सबै प्रतियोगिताको च्याम्पियन टोलीको रूपमा उभ्याएको छ । टी-ट्वेन्टी र च्याम्पियन्स ट्रफीअघि पाकिस्तानले सन् १९८२ मा न्युजिल्यान्ड र अस्टे«लियाले आयोजना गरेको ५० ओभरको विश्वकपको उपाधिसमेत जितेको थियो ।
पाकिस्तानी क्रिकेट टोली र समर्थकका लागि लामो समयपछि प्राप्त उपाधिले जति खुसी दिएको छ, त्योभन्दा बढी खुसी भारतलाई आईसीसीको प्रतियोगितामा आठ वर्षपछि पराजित गर्दाको क्षणले दिएको छ । च्याम्पियन्स ट्रफीको उपाधिसँगै पाकिस्तानीहरूले घरमा अन्तर्राष्ट्रिय प्रतियोगिता फर्कने विश्वास गरेका छन् । कम्तीमा फाइनलमा भारतलाई पराजित गर्दै जितेको च्याम्पियन्स ट्रफीको उपाधिले पाकिस्तानी क्रिकेट समर्थकहरूले पछिल्लो झन्डै आठ वर्षयता सहँदै आएको पीडामा मल्हम लगाउने काम गरेको छ ।उनीहरूको त्यो खुसी राष्ट्रिय टोली इङ्ल्यान्डबाट ट्रफीसहित घर फर्कंदा विमानस्थलदेखि कप्तान सफ्र्रज अहमेदको घरसम्म उपस्थित दर्शकको भीडले प्रष्ट पारेको छ ।
वर्षामा पाकिस्तानको 'भाग्य'
पाकिस्तानले सन् १९९२ मा एक दिवसीय विश्वकपको उपाधि जित्दा र त्यसको २५ वर्षपछि च्याम्पियन्स ट्रफी जित्दा पाकिस्तान एउटै अवस्थाबाट गुज्रिएको छ । १९९२ विश्वकपको सुरुवाती तीन खेलमा लगातार पराजय बेहोरेपछि पाकिस्तानलाई अघि बढ्न बाँकी खेल जित्न ैपर्ने अवस्था थियो । चौथो खेलमा इङ्ल्यान्डविरुद्ध ७४ रनमा अल आउट भएर पनि वर्षाले खेल अवरुद्ध भएपछि एक अंक प्राप्त गरेको पाकिस्तानले त्यसपछिको खेलमा लगातार जित हात पार्दै अघि बढ्यो । सुरुवातका तीन खेलमा पराजय बेहोरेको पाकिस्तानले अन्ततः उपाधि नै जित्यो ।
यसपटक पनि पहिलो खेलमा भारतसँग पराजित भएपछि पाकिस्तानलाई अघि बढ्न बाँकी खेल जित्नैपर्ने अवस्था थियो । वर्षाले खेल अवरुद्ध गरेपछि दक्षिण अफ्रिकाविरुद्धको खेलमा जित हात पार्न पाकिस्तान भाग्यमानी ठहरियो । त्यसपछिको खेलमा निररन्तर उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तान अन्ततः विजेता बन्यो ।
यसपटक अर्कै संयोग पनि परेको छ । १९९२ मा आयोजक न्युजिल्यान्ड आफ्नो सुरुवाती सात खेलमा अपराजित थियो । तर, समूह चरणको अन्तिम खेलमा अपराजित न्युजिल्यान्डलाई पराजित गर्दै पाकिस्तान अघि बढ्यो । च्याम्पियन्स ट्रफीमा पनि आयोजक इङ्ल्यान्ड सेमिफाइनलसम्म अपराजित थियो । तर, त्यही अपराजित इङ्ल्यान्डलाई सेमिफाइनलमा पराजित गर्दै यस पटक पनि पाकिस्तान उपाधिसम्म पुग्यो ।
युवा खेलाडीको प्रभाव र आमीरको पुनरागमन
यसअघि ५० ओभरको विश्वकपका उपाधि जित्दा पाकिस्तानका लागि २३ वर्षीय युवा खेलाडी इन्जमाम उल हकले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका थिए । सेमिफाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दा पाकिस्तानका लागि इन्जमामले ३७ बलमा ६० रन प्रहार गरेका थिए । फाइनलमा पनि इञ्जमामले ३५ बलमा ४२ रन जोड्दै टोलीलाई विजयी बनाएका थिए ।
यो वर्षको च्याम्पियन्स ट्रफीमा पनि पाकिस्तानलाई उपाधि दिलाउन २७ वर्षीय ब्याट्सम्यान फखार जमाम र २३ वर्षीय पेसर हसन अलीले उत्कृष्ट प्रदर्शन गरे । फखारले ६३ को एभरेजमा दुई सय ५२ रनको योगदान दिए । फाइनलमा उनले नै एक सय १४ रनको शतीय पाली खेलेपछि पाकिस्तानले भारतविरुद्ध तीन सय ३८ रनको योगफल खडा गरेको थियो ।
साथै पेसर हसनले पनि प्रतियोगिताभरि कसिलो बलिङ गरे । उनले प्रतियोगिताभरि सर्वाधिक १३ विकेट लिए । पाकिस्तानको प्रत्येक जितमा निर्णायक देखिएका हसन प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीसमेत चुनिए ।
पाकिस्तानलाई च्याम्पियन्स ट्रफीको उपाधि दिलाउन प्रतिभाशाली बलर मोहम्मद आमीरको पुनरागमले पनि उत्तिकै सहयोग पुर्यायो । सन् २०१० मा इङ्ल्यान्डविरुद्धको खेलमा स्पट फिक्सिङ गरेको आरोप लागेपछि पाँच वर्षको प्रतिबन्ध कटाएर मूलधारको क्रिकेटमा फर्किएका आमीरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे ।
विशेषगरी फाइनलमा भारतविरुद्ध उनको प्रदर्शन निक्कै सशक्त देखियो । खेलको सुरुवातमै आमीरले भारतका तीन सशक्त ब्याट्सम्यान शिखर धवन, रोहित शर्मा र विराट कोहलीलाई आउट गराएपछि पाकिस्तान खेलमा हाबी देखिएको थियो । प्रतिबन्धबाट फर्किएपछिको पहिलो मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिताको यो प्रदर्शनले आमीरले आफू अझै सशक्त खेलाडी रहेको पुष्टि गरेका छन् । उनीसँगै युवा खलाडीद्वय फखार र हसनले आफ्नो उपस्थितिमा पाकिस्तानी टोली भविष्य कुनै पनि उपाधि जित्न सक्षम हुने संकेत गरेका छन् ।
(एजेन्सीको सहयोगमा)