यी 'साना' विभेद

यी 'साना' विभेद

'अब हेर्नु छ, पहिरो कसको निधारमा जान्छ, तिम्रो निधारमा कि तिम्रो भाइको ? ' पहिलोपटक यस्तो सुन्दा मैले केही बुझिनँ । बुझ्थेँ पनि कसरी ? तर यो प्रश्न आमाको पेटमा बहिनी हुँदा मलाई बारम्बार सोधियो । यस प्रश्नको अर्थ र तात्पर्य खोज्न बाध्य भएँ । कसलाई सोधूँ थाहा थिएन । अघिपछि आफ्ना सबै कुरा आमासँग बताउने म त्यो बेला भने आमासँग सकभर कम बोल्थेँ । किशोरावस्थामा आउने मानसिक र शारीरिक परिवर्तनलाई आत्मसात् गर्नमा नै संघर्षरत मलाई यस्ता जिज्ञासा आमाको कारणले आएका हुन् भन्ने पनि लाग्थ्यो ।

Mira-Dhakalत्यसैले होला, त्यति बेला म आमासँग एकदम दूरी राख्थेँ । बुझक्की आफन्तको प्रश्नको उत्तर बताइदिने कोही नपाएपछि मैले एक दिन भाइलाई सोधे । बल्ल थाहा भयो, यो प्रश्न त उसलाई समेत पटकपटक सोधिएको रहेछ । उसले पनि केही भेउ पाउन सकेको रहेनछ । दिदीभाइ भएर निकै बेर बुद्धि लडाएपछि बल्ल ठूलीआमालाई सोध्न जाने अक्कल आयो । उहाँबाट थाहा पायौं, म र भाइ दुवैजनालाई गरिने यो प्रश्नको अर्थ आमाबाट अब हुने बच्चा छोरा हुने कि छोरी हुने भन्ने पो रहेछ । छोरा जन्मे मेरो भाइको निधारमा पहिरो जाने अर्थात् भाइको दायरा साँघुरो हुने अनुमान रहेछ । अनि छोरी जन्मेको खण्डमा मेरो निधारमा पहिरो जाने भन्ने रहेछ ।

पहिरो भनेको त प्रकोप हो । एउटा जन्मलाई कसरी प्रकोपसँग तुलना गर्न सकिन्छ ? आज पनि त्यो प्रश्न सम्झेर सिरिंग भइरहन्छ । मेरो बहिनी जन्मी, उसले मेरो निधारमा पहिरो त हैन बरु उमेरमा मभन्दा धेरै सानी भएर पनि मेरी साथी भएकी छ र अतुलनीय खुसी दिएकी छ ।

मेरा छिमेकका दाइभाउजू वैवाहिक जीवनमा एकदमै खुसी र सन्तुष्ट हुनुहुन्छ । दाइभाउजूको बीचमा परिवार, करिअर, समाज, साहित्य, संगीत, खेलकुददेखि प्रविधिसम्मका विविध विषयमा हुने खुला छलफलले मलाई सधैं आनन्दित तुल्याउँछ । कलेजको पढाइ नसक्दै बिहे गरे पनि पढाइमा सम्झौता नगर्ने भन्ने सिद्धान्तमा अडिग उहाँहरू एकले अर्कोलाई गर्ने सम्मान र सहयोगको म सदा प्रशंसक हुँ । उहाँहरूले करिअरको जग बलियो बनाएर मात्र बच्चा जन्माउनका लागि केही समय पर्खिने सोच बनाउनुभएको रहेछ । विवाहको पहिलो वर्षभित्र नै बच्चालाई बम्पर उपहारजस्तो अपेक्षा गरिने समाजमा विवाहका केही वर्षसम्म बच्चाको सम्बन्धमा मौन उहाँहरूलाई सल्लाहहरू आउन सुरु भयो । छिटो गर, पछि गाह्रो होलाजस्ता सामान्य भनाइबाट सुरु भएका सल्लाह पछि 'कठैबरा फलानाको त सन्तान नै भएनन्' भन्ने टिप्पणीमा परिणत भए ।

ससाना लाग्ने यी टिप्पणी नगरेर, मुफतमा सल्लाह नदिएरै विभेदका पर्खाल भत्काउन सकिन्छ र सुन्दर समाज बनाउन सकिन्छ भन्नेमा हाम्रो ध्यानचाहिँ कहिले जान्छ ?

सामाजिक सञ्जालमा कसैको बच्चाको जन्मदिनमा वा जन्म भएकोमा शुभकामना दिँदासमेत जवाफ आउने रहेछ, 'तपाइंलाई हामीले बधाई दिन कहिले पाउने ? ' फोटोग्राफीको सोखिन उहाँले कहिलेकाहीँ कुनै बच्चाको फोटो फेसबुकमा राख्दा आउने कमेन्टको लर्को रोक्ने पछि उहाँले लामो लामो विवरणसहितको क्याप्सन राख्नुपर्ने भयो । 'यो फोटो यस्तो समारोहको हो, सबैलाई नझुक्किन हार्दिक आग्रह ।'

दाइलाई कसैले अचुक ओखती, झारफुक, प्रविधिको प्रयोगदेखि तान्त्रिक मान्त्रिकको सहयोगसमेत सुझाउँदा रहेछन् । कोही भने उहाँहरूलाई स्वदेशी डाक्टरसँग परामर्श लिने सल्लाह दिँदा रहेछन । कसैकसैले त विदेशी डाक्टरकहाँ जाने, टाढा नगए पनि दिल्लीसम्म पुग्न अनि अरूलाई चैं घुम्न गाको भन्नेजस्ता पूर्ण योजनासहितका सुझाव दिँदा रहेछन् ।

दुई वर्षअघि दाइभाउजू दुवैजना पढाइ सकेर विदेश जानुभयो । अहिले उहाँहरूको एक वर्षको बच्चा छ । भाउजू भन्नुहुन्छ, 'जिन्दगीमा सोधिएका हजारौं प्रश्नको एकमुष्ठ जवाफ अहिले यही बच्चा लाग्छ ।'

सामाजिक सञ्जालमा यदाकदा मात्र लेख्ने दिदीले केही हप्तापहिले स्टाटस राख्नुभयो, 'मेरो जीउ, मेरो पाठेघर, मेरो अधिकार । तिमीलाई किन सरोकार ? मन लागे बच्चा जन्माउँछु, मन नलागे जन्माउँदिनँ । मलाई बच्चा पाऊ भन्ने तिमी को ? ' । बुझ्न गाह्रो थिएन, उहाँ पनि सन्तानसम्बन्धी विज्ञ शुभचिन्तकहरूका निःशुल्क सुझाव र सल्लाहले आजित भइसक्नुभएको थियो ।

अक्सर मलाई निजी विषय र चौतारीका प्रसंगमा भिन्नता छुट्ट्याउन सुझाउनुहुने तथा आफू पनि सामाजिक सञ्जालमा व्यक्तिगत जीवन पोख्न नचाहने दिदीले एक्कासि सार्वजनिक रूपमै मौनताको बाँध टुटाउनुका पछाडि बकम्फुसे सुझावहरूको हात छ भन्ने प्रस्टै हुन्छ ।

मलाई कक्षा ७ मा सामाजिक शिक्षा पढाउने मिस सम्झन्छु । घरको जेठो छोरासँग विवाह भएको थियो उहाँको । 'कस्तो बलियो निधार रहेछ, चारजना देवरकी भाउजू, आमापछिकी भाउजू बहुत सम्मान पाउँछ ।' मिसको बिहे पक्का भएदेखि टोलछिमेकले उहाँको चर्चा गरे । उहाँकी सासूआमाले बुहारी भित्याउँदा भन्नुभयो— घरमा पाँच छोरामात्र थिए, तिमी आयौ, बुहारी हैन छोरी पाएँ । हुन पनि उहाँलाई सबै देवरले सम्मान नै गरे । उहाँको पहिलो छोरी नजन्मने बेलासम्म साह्रै माया गर्नुभएछ । दोस्रोपटक मिस दुई जीउकी हुँदासम्म पनि नातिको आशमा सासूआमाले उहाँलाई माया नै गर्नुभएछ । तर, दोस्रो बच्चा पनि छोरी भएपछि सानी छोरीकोे स्याहार गर्नु त परै जाओस् मुखसम्म हेर्नुभएनछ ।

मिस छोरी लिएर माइत आएको थाहा पाउनेबित्तिकै फुरर्र उड्दै उहाँकोमा पुगेकी म उहाँको कुरा सुनेर गहभरि आँसु र मुटुभरि पीडा लिएर घर फर्केँ ।

मेरो दाइ र भाउजूको एउटा नानी छ । एउटा सन्तानलाई असल शिक्षा र संस्कार दिएर आफ्नो अभिभावकीय दायित्व पूरा गर्ने हो भन्नेमा ढुक्क हुनुहुन्थ्यो । घरमा पाहुना बनेर गएका एक आफन्तले १० वर्षकी छोरीको अगाडि उहाँलाई यतिका वर्ष छोरा त के दुई सन्तानसम्म नदिने श्रीमतीको मायामा रुमल्लिएर नबस्न र अर्को बिहे गर्न सुझाव दिएछन् । यस्तो अप्रत्याशित सल्लाहले दाइ अवाक् हुनुभएछ । केही बेरको मौनतापछि यस्तो कुरा आफ्नो कल्पनामा समेत नभएको र एक सन्तानले नै आफूहरू परिपूर्ण भएको जानकारी दिनुभएछ ।

लिभिङ रुममा टेलिभिजनमा कार्टुनमा मस्तजस्तो देखिएकी छोरीले त्यो वार्तालाप सुनेकी रहिछन् । भोलिपल्ट आफस् जन्मेकोमा 'सरी' भनिछन् बाबालाई । उनलाई दाइले सम्झाउनुभएछ— उनको उपस्थितिले उहाँहरूको जीवनमा दिएको खुसीको कुनै लेखाजोखा नै छैन भनेर ।यो घटना मलाई सुनाउँदा भाउजूको एउटा आँखामा सन्तानको माया र अर्को आँखामा जीवनसाथीले आफूलाई दिएको साथको तृप्ति प्रस्ट झल्कन्थ्यो ।

केही वर्षपहिले साथीको बिहेको कुरा चल्दै थियो । स्कुल पढाउने ऊ बिहेको लागि राखिने सबै सर्तमा उत्तीर्ण भई । केटा र केटी भेटाउने काम भयो । केटा ठिकै लाग्यो भन्थी । तर, एक्कासि कुरा रोकियो । बिहे रोकिनु त खास अनौठो कुरा भएन, तर कारण चैं बिलकुल नौलो थियो । चार दिदीबहिनीमध्ये ऊ कान्छी हो । उसकी आमाले छोरा नजन्माएजस्तै उसले पनि छोरा नजन्माउली कि भन्ने अनुमान गरेछन् केटा पक्षले । त्यही आधारहीन अनुमानका कारण रोकिएको रहेछ उसको बिहे । यस्तो सोच भएका मान्छेसँग जोडिनुभन्दा पहिले नै छुटकारा पाएकोमा मक्ख भएको सुनाई । केही समयभित्र नै साथीको बिहे भयो अर्कै केटासँग । अहिले उनीहरूको दुईवटा बच्चा छन्, छोरा र छोरी ।

दुई हप्तापहिले उसले फोन गरी, 'एउटा सुनाउनैपर्ने कुरा भन्न'का लागि । एक निमेषमा भनेर सकी, 'त्यो उहिले मलाई भविष्यमा छोरी पाउली भनेर रिजेक्ट गरेको मान्छेको त दुईवटा बच्चा रहेछन्, छोरीहरू । तर मलाई त उसकी श्रीमतीको माया र पीर पो लाग्यो त । अँ, साँच्चि, उसले आफ्नो श्रीमतीलाई त माया गर्छ होला नि । यो बहानामा 'रिजेक्ट' त नगर्ला नि ? 'मेरो मस्तिष्कमा एउटा प्रश्न सलबलाइरह्यो । आफ्नै सन्तानलाई कसैले लिंगकै आधारमा कसरी 'रिजेक्ट' गर्न सक्छ कि सक्दैन ?

दसैंमा मसँगै टीका थाप्न हिँड्छे बहिनी । उसले पोहोर साल सोधी, 'दिदी, हजुरलाई पहिले दिइने आशीर्वाद र मैले अहिले पाउने आशीर्वाद उस्तै होला । तर, मलाई हजुरलाई दिइने आशीर्वाद त कस्तो 'इम्पोज्ड' गरेको जस्तो पो लाग्छ । कुनै बेला मेरो निधारमा पहिरो ल्याउने सम्भावना राखेको मेरी सानी बहिनी समेतले मिहिन ढंगले नियालेकी रहिछ आशीर्वाद बीचमा रहेको फरकलाई । उसले थपी, 'मैले नि भोलिपर्सि पाउने आशीर्वाद हजुरले अहिले पाउने खालको हुने होला है । आशीर्वाद त मान्छे अनुसारको पो हुँदो रहेछ ।' विगतका धेरै दसैंका आशीर्वादलाई सम्झेर निष्कर्षमा पुगेँ ।

विशेषगरी ठूलाबडाले दिने आशीर्वादमा समेत यस्तै मनशायका आशीर्वाद प्राप्त हुने रहेछ । आशीर्वादको स्तर र घनत्व प्रत्येक साल बढ्ने गरेको पो रहेछ, 'अनुशासित हुनु । ज्ञानी हुनु । जेहेनदर हुनु । नामी हुनु । राम्ररी पढ्नु । फस्ट डिभिजन ल्याउनु । क्याम्पस पढ्ने भयौ, ल बाबै ख्याल गर्नु नि, अर्काको घरमा जाने जात पो हौ त । पढ्नेका जमाना छन्, बीए पास गर्नु । सरकारी जागिरे हुनु । अब आफ्नो खुट्टामा उभिनु । लौ अब, पढाइ सक्यौ, जागिर छ, हामीले टीका लगाएर जिम्मा दिन पाइयोस् ।'

मलाई दिइने आशीर्वादभन्दा मभन्दा चार वर्षमात्र ठूलो दाइलाई दिइने आशीर्वाद अलिक फरक हुने रहेछ, 'कुलको इज्जत राख्नु । बाआमालाई पाल्नु । सबैको हाइहाई नै भइराख्नु । चार लोकमा यश फैलाउनु । सहरमा घडेरी किन्न पुग्ने गरी कमाउनु । आफ्नो बास बनाउनु । मोटरसाइकल त छ क्यारे, अब गाडी किन्ने मेसो गर्नु ।'

दिदी र भाउजूलाई दिइने आशीर्वाद भने 'घर राम्ररी खानू । परिवार रिझाउनू ।' कतैकतै आफ्नो खुट्टामा उभिन र पढाइ पूरा गर्नसमेत हुन्थ्यो । बच्चा नजन्माएकालाई भने सबै ठाउँमा अटुटजस्तै आउने आशीर्वाद 'अर्को पालि नातिनी र नाति काखमा लिएर आउनू' भन्ने हुन्थ्यो । पहिलो सन्तान छोरा हुनेलाई 'ल अब ढुक्क भयो ।' अनि पहिलो सन्तान छोरी हुनेलाई, 'ल ठिकै छ; लक्ष्मी आई, अब भाइको पालो ।' पहिलो सन्तान छोरी जन्मेको ठाउँमा 'एउटा भाइ त चाहियो नि' । तर पहिलो सन्तान छोरा भएकोलाई 'जमाना महँगो छ, यसैलाई हुर्काए त सक्किगो नि' । लगातार दुई छोरा जन्माउनेलाई साहै्र भाग्यमानी र छोरीहरू जन्माउनेलाई चैं 'भनेर भएन, भगवान्ले दिएन' भनिँदो रहेछ ।

यी केही प्रतिनिधि प्रसंग हुन् । यस्ता बगे्रल्ती प्रसंग र अनुभव हाम्रा वरिपरि नै छन् । यसरी अरू कसैको व्यक्तिगत जीवनका नितान्त निजी विषयवस्तुमा सार्वजनिक टिकाटिप्पणी गर्न के जायज हो ? हाम्रो सोच, विचार र मान्यता अरूको दिमागमा थोपर्ने, बेतुकका प्रश्नको भारीले अरूको खुसीलाई थिच्ने छुट कसले दियो ? यी सवालमा स्वयं उसले न हामीसँग सल्लाह मागेको अवस्था बाहेकमा उसलाई हाम्रा विचार थोपर्नु कहाँसम्म उचित हो ? कसैले सोधोस्, नसोधोस्; राय मागोस्, नमागोस्— सल्लाहको फेहरिस्त दिने हामी को हौं ?

हामीलाई प्रश्न, जिज्ञासा वा सल्लाहजस्ता लाग्ने भनाइका पछाडि विभेदका गहिरा खाडलहरू उभिएका छन् । एकातर्फ यी टिप्पणीले विभेद कायम नै राखिराखेका हुन्छन् भने आफ्नो जिन्दगीका महत्वपूर्ण सवालबारे आफैंले निर्णय गर्न पाउने वैयक्तिक अधिकारको उल्लंघन पनि गरिरहेका हुन्छन् । ससाना लाग्ने यी टिप्पणी नगरेर, मुफतमा सल्लाह नदिएरै विभेदका पर्खाल भत्काउन सकिन्छ र सुन्दर समाज बनाउन सकिन्छ भन्नेमा हाम्रो ध्यानचाहिँ कहिले जान्छ ?

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.