१४२ वर्षअघिको विवाह
कुरा पाँच वर्षअघिको एक साँझको हो । विद्वानहरूको निजी पुस्तकालयबारे मनमा उत्पन्न दुल्दुली शान्त पार्न म प्राध्यापक दिनेशराज पन्तकहाँ पुगेको थिएँ । उनको घरैमा पुग्नुको उद्देश्य पुस्तकालय अवलोकन गर्नुमात्रै थिएन, अरू केही ज्ञानलाभ गर्नु पनि थियो । खासगरी लालमोहरहरूको छाप, त्यहाँ लेखिने भाषाको भाका आदि विषयमा ज्ञानलाभ गर्नुथियो, मलाई ।
दिनेश गुरु आफूकहाँ जिज्ञासा लिएर आउने जो-कोहीलाई पनि तृप्त बनाएर पठाउँछन् । म जुन उद्देश्यका साथ त्यहाँ पुगेको थिएँ, उनले पनि मलाई ती विषयमा तृप्त त बनाए । तर, फर्कंदा ममा अर्को एउटा निक्कै ठूलो तिर्खा पनि थपियो । त्यो तिर्खा थियो, हस्तलिखित सामग्रीसम्बन्धी । उनका पुस्तकालयमा प्रशस्तै थिए, पुराना हस्तलिखित सामग्री । सोधेँ, 'गुरु तपाईंकहाँ यति धेरै सामग्री कसरी जम्मा हुन सम्भव भयो ? ' 'यी सबै मेरा पुर्खाले जम्मा गरिदिनुभएको बाबु', उनले भने । म आफ्नो निवास फर्कंदा बेचैन थिएँ- मेरा पुर्खाले पनि यस्ता सामग्रीको जोहो गरिदिएका भए, कति राम्रो हुने थियो । कतै मेरो घरमा पनि यस्तो सामग्री त छैनन् ?
दिनेश गुरुसँग त्यो साँझको भेट निक्कै ठूलो उपलब्धि थियो, मेरा लागि ।आमा काठमाडौं आउँदा बुवाको बाकसमा भएका सबै पुराना कागज ल्याइदिन आग्रह गरेँ । बुवाको सैनिक जीवनका तक्मा र अन्य कागजपत्र जेठा दाजुको संग्रहमा परिसकेको थियो । बचेखुचेका जे जति कागज छन्, तिनको अवलोकन गर्ने हतारो मनमा आइहाल्यो । आमामार्फत आएका पुराना कागजका तीनवटा पोको मेरो हातमा आइपुग्दा लाग्यो, अब मेरा तिर्खा मेटिने दिन प्रारम्भ भयो ।
मावोहाङ यक्सोहरूको वंशावलीको संकलन तथा लेखनको प्रारम्भ सर्वप्रथम ताप्लेजुङ, हाङपाङनिवासी क्याप्टेन खगेन्द्रसिंह आङवुहाङले सुरु गरेका हुन् । उनले २०४६ सालमा 'थाकथाक्कुम माबोहाङ यक्सो वंशावली' (२०४६) को एउटा रूपरेखा तयार पारिदिए । वंशावलीको पाण्डुलिपिमा विक्रमसंवत १९१७ मंसिर सुदी १२ रोज ४ का दिन 'पुख्र्याैली लेखिएको कागज धनकुटा निवासी कप्तान आशबहादुर यक्सोसँग रहेको' भन्ने उल्लेख भएबाट त्यसैको आधारमा वंशावली तयार भएको भन्ने आशय स्पष्ट भयो ।
बुवा कप्तान आशाबहादुर यक्सो २०४२ सालमै बितेका हुन् । बुवासँग सोध्ने कुरा भएन, वंशावली तयार पारिदिने क्याप्टेन आङवुहाङ पनि बितिसकेकाले त्यो 'पुख्र्यौली लेखिएको' कागज कता पुग्यो, थाहा हुने कुरा पनि भएन । वंशावलीको पाण्डुलिपिको फोटोकपी मेरो हातमा पनि आइपुगेकोले मेरा पितापुर्खाका नाम भने मलाई कण्ठस्थ थियो ।आमाको हातबाट मैले पाएको पुराना कागजको पोकोमा भेटिँदा खुसीले मेरा खुट्टा भुइँमा थिएनन् ।
सभ्यता चिन्न संस्कृति
२०६९ माघको दोस्रो साता । नेपाली व्यंग्य साहित्यका अग्रणी तथा नेपालमा 'उचाइ भूगोल'को अवधारणा ल्याउने भूगोलविद् प्रा. रामकुमार पाँडेको घरमा पुगेको थिएँ । प्रख्याति व्यंग्य साहित्यमा, विद्वता उचाइ भूगोलमा र उत्तिकै अभिरुचि र ज्ञान इतिहासको क्षेत्रमा । जावलाखेलस्थित उनको घरमा तीन घण्टा बिताएर फर्कंदा मेरो मनमा इतिहास विषयप्रतिको प्रेम, आस्था र प्रतिबद्धताको हिमालचुली अग्लिएको थियो ।
लिम्बू जातिमा दाइजो होइन, रीत तिर्ने चलन छ । बेहुली पक्षले माग गरेअनुसार बेहुला पक्षले नगद तथा गरगहना दिनुपर्छ । यस लेखमा उल्लेख गरिएको कागजको प्रसंग त्यही रीतसँग सम्बन्धित छ ।
कालु पाँडेका यी सन्तानबाट मेरो हातमा उपहारको रूपमा प्राप्त उनकै एक बहुमूल्य कृति 'नेपाल निर्माणको गौरवगाथा' पनि थियो । उक्त पुस्तक (२०६५ः२) मा उनँले उल्लेख गरेका छन्, 'भूगोल नचिन्नेले देश बनाउँदैन, इतिहास बिर्सनेले देश हाँक्दैन, र संस्कृति नबुझ्नेले सभ्यता चिन्दैन ।'
जब मैले मेरो हातमा परेका कागजपत्र पल्टाउन थालेँ, तब भेटेँ, मेरा पुर्खाहरूले सम्हालेको किपट भूमि अर्थात् भूगोल, मेरो वंशावली भेटेँ अर्थात् इतिहास ।अनि सभ्यता चिन्न सहयोग गर्ने संस्कृतिसँग सम्बन्धित महत्वपूर्ण कागजपत्र पनि मेरा हात परे । तीमध्ये एउटा कागजको चर्चा यहाँ गर्न लागेको छु।
ठूलो रकमको रीत
त्यो कागजमा जब मेरो आँखा पर्यो, तब मेरो छाती गौरवले फुल्यो । त्यो कागज थियो, आजभन्दा एक सय ४२ वर्षअघिको । त्यो कागजमा आठराई हाङपाङका भगिवन्तले मेवाखोलाकी शुभहाङ्मालाई विवाह गर्दा बेहुली पक्षलाई परम्पराअनुसार रीत तिरेको देखिन्छ । भगिवन्त मेरा बराजु हुन् । मैले आफ्नो इतिहासप्रतिको अभिरुचि र घरमा संग्रह गरिएका कागजपत्रबाट बराजुको बिहे पनि देखेँ ।
कागजको सुरुमा यस्तो लेखिएको छः
स्वश्ति श्री सम्वत १९३२ साल मिति वैशाष सुदी १४ रोज् ३ मा मेवा षोला जिनुपुं बस्ने सुवा सुभमानको छोरि सुभहांमा भन्याको केटि आठराई हांपांङ् बस्ने भगिवंन्त लिम्बुले स्वास्नि लकि विभाहा गरि दस् लिम्बुको रितामा सोतरित तिर्याको पही (स्वस्ति श्री सम्वत् १९३२ साल मिति वैशाख सुदी १४ मंगलबार मेवाखोला जिनुपुं बस्ने सुब्बा शुभमानकी छोरी शुभहाङ्मा भन्ने केटी आठराई हाङपाङनिवासी भगिवन्त लिम्बुले श्रीमति बनाई विवाह गरी दश लिम्बूको रीतमा रहेर सोतरित तिरेको बही ) ।
विभिन्न २५ शीर्षकमा बेहुला पक्षले बेहुली पक्षलाई रीत तिर्दा ९३ रुपैयाँ १२ आना तिरेको देखिन्छ । त्यो समयको त्यो तहको रकम सामान्य रकम होइन । यो कागजले लिम्बू जातिको सांस्कृतिक इतिहासमा ठूलो महत्व राख्छ ।
लिम्बू जातिमा बेहुला पक्षले कसकसका नाममा रीतबापत रकम तिर्नुपर्ने रहेछ भन्ने पनि कागजले स्पष्ट पार्छ । यसमा कल्या (दुलही मगनीको सूत्रधार) बराजु, बज्यै, बुवा, फुपू, कान्छा बाबु, महिला बाबु, कान्छी आमा आदिका नाममा रीत तिरिएको छ । सबैभन्दा धेरै योयांपा (योक्याङ्बा ? ) शीर्षकमा सबैभन्दा धेरै २५ रुपैयाँ रीत तिरिएको छ ।
योयांपा (योक्याङ्बा) विषयमा आफूले अर्थ लगाउन नसकेपछि मैले लिम्बू इतिहास, संस्कृति र मुन्धुमका विज्ञ भरत तुङ्घङसमक्ष जिज्ञासा तेस्र्याएँ । उनले 'विवाहयोग्य बनाउन्जेज घरमा छोरीलाई गरी खाने जुन सीपहरू सिकाइयो त्यहीअन्तरगत केटी पक्षबाट रीत लिइएको' अर्थ खुलाइदिए ।
त्यो विवाहमा रीत तिर्दा सकेको तत्कालै असुल गरिने र तत्कालै तिर्न नसकेको रकम बाँकी राख्ने चलन पनि रहेछ भन्ने कागजबाट स्पष्ट हुन्छ । कागजमा आठवटा शीर्षकमा ४७ रुपैयाँ आठ आना भने तत्कालै नतिरिएको अर्थात तिर्न बाँकी रहेको देखिन्छ ।त्यो समयको ९३ रुपैयाँ १२ आनाको मूल्य कति होला ? यसबारे संस्कृतिविद् डा. रमेश ढुंगेलसँग जिज्ञासा राखेको थिएँ । उनले भने, 'त्यो बेलाको यो रकम निक्कै ठूलो रकम हो । यति रकमले घरबारी नै किन्न पुग्थ्यो ।'
यति धेरै रकम रीत तिर्न सक्ने भगिवन्त हाङपाङका किपटिया सुब्बा खलकका सन्तान हुन् । भगिवन्तका बाजे श्रीवाज हाङपाङका किपटिया सुब्बामध्येका एक थिए । शेरबहादुर इङ्नाम र भगिराज इङ्नामद्वारा लिखित 'तेह«थुम जिल्लामा सुब्बाङ्गी प्रथा' (२०७०)मा प्रकाशित तेह्रथुम आठराई क्षेत्रका ३८ जना लिम्बू सुब्बा तथा कर्ताहरूको नाममा जारी एक लालमोहर छापिएको छ । विक्रम संवत् १८९४ माघ सुदी ७ रोज ५ मा तत्कालीन राजा राजेन्द्रविक्रम शाहद्वारा जारी उक्त लालमोहरमा सम्बोधन गरिएका आठराई क्षेत्रका ३८ जना लिम्बू सुब्बामध्ये एकजना श्रीवाजको नाम पनि उल्लेख छ ।
यस लेखकले प्राप्त गरेको श्रीवाजसम्बन्धी कागजपत्रहरूमा भने उनी कर्ता तहमा सक्रिय रहेको पुष्टि हुन्छ । उनको समयको विक्रमसंवत् १९०१ देखि १९१९ सम्मको कागजपत्रहरू यो लेखकसँग सुरक्षित छ । श्रीवाजका तीन छोरामध्ये जेठा छोरा फौदलका छोरा हुन् भगिवन्त । फौदल चाहिँ त्यो समय त्यति सक्रिय रहेको कागज पाइएको छैन । सम्भवतः उनी अल्पायुमै बिते । सुवांगी प्रथाअनुसार जेठा सन्तानमा सुवांगी सर्दै जान्छ । यक्सोहरूको वंशावली 'यक्सो इत्लाम' (२०७३) अनुसार तीन सुब्बातिर जिम्मा पाउनेमध्ये एक अदलवाज पनि हुन् । उनी श्रीवाजका माहिला छोरा हुन् । जेठा छोरा फौदल अल्पायुमै बितेका हुँदा र उनका छोरा भगिवन्तको उमेर सानै भएकोले माहिला सन्तानतिर श्रीवाजको सुवांगी सरेको थियो भन्ने अनुमान गर्न सकिन्छ ।
पुराना कागजपत्रहरूअनुसार, भगिवन्तले कर्ता तहमा रहेर किपटको जिम्मा सम्हालेको देखिन्छ । त्यसैले एउटा किपटिया जिम्मावाल भएकोले भगिवन्तको बिहेमा उनको अभिभावकले त्यति ठूलो रकम रीत तिर्न सक्ने हैसियत बनाएका थिए होलान् भन्न सकिन्छ ।नेपाली समाजमा विवाह भन्नासाथ बेहुला पक्ष जन्ती लिएर बेहुलीको घरमा जाने भन्ने बुझिन्छ । बेहुलीको घरमा भव्य विवाह गरेर बेहुलाले आफ्नो घरमा ल्याई बेहुली भित्र्याउने गरेको तस्बिर आँखामा नाच्छ । यस्तै बेहुली पक्षले बेहुला पक्षलाई दाइजो दिने प्रचलन छ, नेपाली समाजमा ।
तर यसको ठीक विपरीत छ, लिम्बू जातिमा विवाह संस्कार । विवाहको बेला बेहुला एकजना बुढ्यौली र एकजना साथीमात्र लिएर बेहुलीको घरमा जानुपर्छ । बेहुली आफ्नो घरबाट दुईजना माइती र प्रशस्तै लोकन्दी (केटी साथीहरू) का साथ बेहुलाको घरमा आउँछिन् । बेहुलाको घरमा भव्य विवाह हुन्छ । त्यसपछि बेहुली र लोकन्दीहरूका साथ बेहुला बेहुलीको घर अर्थात् ससुरालीमा जान्छ र बेहुलीको घरमा विवाह हुन्छ । त्यसपछि मात्र बेहुलाका साथ बेहुली आफ्नो जन्मघरबाट कर्मघरतिर आउँछिन् ।
यस्तै लिम्बू जातिमा दाइजो होइन, रीत तिर्ने चलन छ । बेहुली पक्षले माग गरेअनुसार बेहुला पक्षले नगद तथा गरगहना दिनुपर्छ । यस लेखमा उल्लेख गरिएको कागजको प्रसंग पनि त्यही रीतसँग सम्बन्धित छ ।
सातै वर्षमा विवाह
विवाह गर्दा भविवन्त कति वर्षका थिए ? रीत तिरेको कागजमा उनको उमेर खुलेको छैन । उनकी दुलही शुभहाङ्माको पनि उमेर उल्लेख छैन, त्यो कागजमा ।तर, भगिवन्त जन्मेको साल पत्ता लाग्ने एक अर्को कागज भेटिएको छ । हाङपाङका अर्का सुब्बा मंकहाङ लिम्बूसँग उनको मुद्दा परेको र भागबन्डा मिलाइएको उक्त कागज १९६६ कात्तिक २४ गते मंगलबार लेखिएको हो । भगिध्वज लिम्बू, धर्मराज लिम्बू र सुब्बा जसबहादुर लिम्बू साक्षी रहेका उक्त कागजमा भगिवन्तको उमेर ४१ वर्ष उल्लेख छ ।
यसअनुसार भगिवन्त १९२५ सालमा जन्मेको पुष्टि हुन्छ । यसअनुसार, आफ्नो त्यो तामझामका साथ विवाह हुँदा भगिवन्त केवल सात वर्षका थिए । उनको विवाहको सात महिनापछि अर्थात् १९३२ साल मंसिर सुदी ११ बिहीबार उनलाई उनका काकाहरू अदलबाज र चतुरध्वजले उनको भागको पैतृक सम्पत्ति सुम्पिएका थिए । यसबाट उनको विवाहमा उनकै पैतृक अभिभावकको भूमिका उनका काकाहरूले खेलिदिएका थिए भन्ने स्पष्ट हुन्छ।
१९४२ सालमा उनको छोराको बर्खान्तको बेला सघाउनी उठेको अर्को कागज पनि फेला परेको छ । यसबाट उनी १७ वर्षकै उमेरमा बाबु बनेका रहेछन् भन्ने स्पष्ट हुन्छ ।भगिवन्त सानै उमेरमा मुद्दामामिलामा चल्तापुर्जा रहेका देखिन्छन् । हाङपाङका अर्का सुब्बा आनन्दवाजसमेतसँग जग्गाको किचलो भएको र चैनपुर अदालतले हाजिर हुन आउन १९४४ साल जेष्ठ वदी ११ सोमबार ढोकामा टाँसेको पुर्जीसमेत पाइएको छ । यस्तै १९४४ साल भाद्र वदी ६ बुधबार पनि जसिवन्त लिम्बूसँग अलैंचीसम्बन्धी झगडामा उनले मिलापत्र गरेको कागज पाइएको छ । त्यो समय उनी केवल १९ वर्षका थिए ।