के मर्दैछन् नेपाली कविता ?

 के मर्दैछन् नेपाली कविता ?

डा. सेल्डन वी कोपले मनोचिकित्साका बिरामीलाई लक्षित गरी लेखेको एउटा विश्वप्रसिद्ध पुस्तक छ- 'इफ् यु मिट बुद्ध अन् दि रोड, किल हिम् !' (यदि तिमीले बुद्धलाई बाटोमा भेट्यौ भने हत्या गरिदिनू) । डा. सेल्डन वी कोपको मौलिक भनाइ होइन यो, झेन गुरुहरूको विश्वास हो । आज करिब चालीस वर्षदेखि कवितामा अस्तित्वबोध गर्न इच्छुक एक सानो कदकाँटीको कवि भएको नाताले झेन गुरुका चेतावनी सापट लिएर अहम् घोषणा गर्न मन लागेको छ- तिमीले कविलाई बाटोमा भेट्यौ भने हत्या गरिदिनू !

निश्चय पनि बुद्धको देशमा, जहाँ म जन्मेँ- शारीरिक हत्या वर्जित छ । यहाँ सन्दर्भ ती कथित ज्ञानहरूको हो जुन ज्ञान होइनन् । यहाँ सन्दर्भ ती कथित सिर्जनाहरूको हो जुन सिर्जना होइनन् । यहाँ सन्दर्भ ती कथित विश्वासहरूको हो जुन विश्वास होइनन् । हजारौं वर्षदेखि पूर्वीय र पाश्चात्य साहित्य मनिषिहरूले साहित्य, विशेष गरी कवितासम्बन्धी सिद्धान्तका जति शास्त्रीय ज्ञान हामीलाई बोकाइदिएका छन्, तिनले हाम्रा ढाड कुप्रिएका छन् र हामी अस्ट्रे लोपिकेसस-रामापिथेकस बनिसकेका छौं ।

कुप्रिएको ढाड र त्यसैभित्र दबेको दिमाग लिएर हामी विशाल ब्रह्माण्डका नयाँ आकाशहरू कसरी अवलोकन गर्न सक्छौं ? ब्रह्माण्डको रचनाप्रक्रिया कति 'बिगब्यांग' र कति 'बिग क्रन्च'हरूबाट भए, वैज्ञानिकहरूले बोलून् । तर, मलाई लाग्छ अनन्त ब्रह्माण्ड र तिनका संघटनाहरू कविता हुन् । त्यसैले कुनै गुगलीय कविको भनाइ मलाई सत्य लाग्छ, 'संसारमा कविहरू नरहन सक्छन् तर कविता जिउँदै रहनेछ । पदार्थ ब्रह्माण्डमा जसरी पदार्थ अन्तर्निहित छन् त्यसरी नै कविता अन्तर्निहित छन् ।

कविताको यो व्याप्ति कुनै होमोस्यापिन्सको देन होइन, प्रकृतिकोे देन हो । जब कुनै होमोस्यापिन्स मानवले आफूभन्दा पहिले अस्तित्ववान् कवितालाई 'रचना' गर्छ तब उसले विशाल ब्रह्माण्डीय कविताबाट अलिकति विद्युत्-चुम्बकीय पानी आफ्नो सभ्यताका लागि उपयोग गर्छ । कविता रचेर कवि धन्य हुन्छ, कविता पढेर सहृदयी पाठक धन्य हुन्छ । मानव सभ्यताले इतिहास निर्माण गर्छ । यो प्रक्रिया सबै देश, सबै समाजमा, थोरै-धेरैका अनुपातमा चलेकै छन् । तर प्रश्नहरू छन्, यक्ष प्रश्नहरू छन् ।

भौतिक रूपमा हाम्रोभन्दा धेरै उन्नत र शक्तिशाली मानिएको देश संयुक्त राज्य अमेरिकामा अठारौं शताब्दीको अवसानपछि कवितामाथि प्रश्नचिह्न लाग्न थालेका थिए । सन् १९३४ मा एडमन्ड विल्सनले 'इज भर्स डाइंग टेक्निक ? ' लेखेपछि, सन् १९८८ मा जोसेप एप्सटेनले 'हु किल्ड पोयट्री ? ' र सन् १९९१ मा दाना जिओआले 'दी एट्लान्टिक' मा 'क्यान पोयट्री म्याटर ? ' भनी समकालीन कविताको त्रासदीमाथि निर्भय टिप्पणी गरेपछि- कविताकै पक्षमा- दीर्घजीवी कविताको अन्तिम दिनहरू सम्बन्धमा सरोकारका अनेक क्रिया-प्रतिक्रिया अज्ञात भैंचालाका ज्ञात र आकष्मिक सुनामीझैं सर्वत्र उत्पन्न भएका थिए ।

फेसबुक र युट्युबका अप्रत्याशित लाइकहरूमा तारकीय व्यक्तित्व निर्माण भएको अनुभूति गरेका केही कविले बुझ्नु जरुरी छ- तत्कालीन लाइकहरू दीर्घकालीन डिसलाइकहरूमा परिणत हुन सक्छन् ।

यी सुनामीका लहर भूपरिवेष्टित नेपालसम्म आइपुगेको मेरा गुरु अभि सुवेदी र मेरो साहित्यिक पुस्ताले राम्रै अनुभव गरेका थियौं । धर्म र एक निश्चित सम्प्रदायमा रूपान्तरित भारतीय-उपमहाद्वीपीय दर्शनहरूलाई यथावत् राखेर दोस्रो विश्वयुद्धकालीन पाश्चात्य दर्शन, विशेषगरी अस्तित्ववाद र विसंगतिवादका सकारात्मक-नकारात्मक लहरहरू पनि साथमा थिए । एउटा ठूलै समूह अर्थ-राजनीतिक माक्र्सवादी विश्वासमा पहिलेदेखि अमूर्त लक्षतर्फ उन्मुख छँदै थियो । तिनका लागि 'कम्युनिस्ट मेनिफेस्टो' त्यति नै सत्य र पूजनीय थियो जति हिन्दूहरूका लागि 'गीता' र इसाईहरूका लागि 'बाइबल' । दर्शन र साहित्यको विज्ञान जब विश्वासमा रूपान्तरित हुन्छ जब त्यसले असहमत विश्वासहरूलाई क्षेप्यास्त्रको आँखाले हेर्न थाल्छ ।

नेपाली साहित्य विशेष रूपले नेपाली कविताको सन्दर्भमा छलफल गर्दा पहिले आफैंलाई सोध्नुपर्ने हुन्छ- हामी विश्वासवादी हौं कि विज्ञानवादी ? अधिकांश मानिसका विश्वास अन्धविश्वास हुन्छन् । हामी अन्धविश्वासवादी हौं कि सत्यवादी ? केही वर्षअगाडि मात्र हामीले नेपाली साहित्यका आदिकवि मानिएका भानुभक्त आचार्यको द्वीशतवार्षिकी राष्ट्रव्यापी रूपमा मनायौं । भारतीय नेपालीका लागि पनि भानुभक्त आचार्य भाषिक एवं जातीय एकताका प्रतीक बनेका छन् । यो कविताको शक्ति हो जसले एक कविलाई सिंगो जाति, सिंगो राष्ट्र र सिंगो विश्वको पे्ररक प्रतिनिधि बनाइदिनसक्छ ।

म व्यक्तिगत रूपले नेपालको सबैभन्दा ठूलो महानगरपालिकाको बासिन्दा हुँ जुन महानगरपालिकाले आफ्नो आधिकारिक नाममा एक कविको नामलाई प्रयोग गरिरहेको छ- पोखरा लेखनाथ महानगरपालिका । कवि शिरोमणि लेखनाथ पौड्याललाई गरिएको यो सम्मान निश्चय पनि कवितालाई गरिएको सम्मान हो । निकटमा व्यास नगरपालिका छ जुन वेदव्यासको ऋषित्वलाई मात्र होइन कवित्वलाई पनि गरिएको सम्मान हो ।
जीवनमा कविताको महत्व कति गहन छ, दुर्गम गाउँघरमा नातिनातिनीहरूलाई लोरी सुनाउने अनपढ हजुरआमाहरूदेखि स्वतःस्फूर्त रूपमा रनवनमा चराहरूले झैं गीत गाइहिँड्ने घँसिनी-दाउरेहरू, धवल हिमालदेखि ओर्लेर गड्गडाई बग्ने खोलामा महाजाल फ्याँक्ने जालहारीहरू, तराईका समथल फाँटमा मनसुनी लयमा रोपाइँमग्न हली, बाउसे, रोपाहारहरू सबैलाई थाहा छ । लिखित कविता या अक्षरमा कविता कहिल्यै नपढेका, नसुनेकालाई पनि कविताको मर्म र महत्व थाहा छ । यस्तो लाग्छ, कविता हामी मानवजातिको आनुवंशिक वर्णमालामा सुरक्षित छ त्यसैले त्यसलाई साक्षरताको आँखाले होइन समयको आँखाले सहजै पल्टाई पढ्न सकिन्छ ।

साहित्यको लिखित इतिहासमा, जुन केही हजार वर्ष पुरानो छ, कवितालाई वर्चश्व प्राप्त गर्न कुनै शक्तिसित संघर्ष गर्नु परेन । समाजमा कविता रक्तसञ्चार केन्द्र हृदयसहश प्रतिष्ठित भयो । हामीले सहजै विश्वास गर्‍यौं, त्यो हृदयभित्र सोचविचार गर्ने, सत्यतथ्य साक्षात्कार गर्ने मस्तिष्कका सम्पूर्ण न्युरोनहरू रामको सेवामा हनुमानझैं घुँडा धसेर उपस्थित भइरहेछन् ।

कविताको शक्तिले महाकाव्ययुगीन कविहरू नश्वर विश्वमा अमर मानिए । तिनका कविता अशास्वत विश्वमा शास्वत मानिए । संस्कृत साहित्यको युगमा राजामहाराजाका दरबारमा कविहरू रत्न मानिए । इटाली, बेलायत, जर्मनीजस्ता युरोपियन देशमा 'पोयट लरिएट'का अवधारणा जन्मे । भनिन्छ, शास्त्रीय युगको अन्त्यपछि सन् १३१५ र १३४२ मा इटालीका अर्वदिनो मुसारो र फ्रान्सेस्को पेट्रार्चा 'पोयट लरिएट'का रूपमा सम्मानित पहिला कविहरू थिए । बेलायतमा हेनरी सातौंको समयमा बर्नार्ड एन्ड्रे 'पोयट लरिएट'मा नियुक्त भएको मानिन्छ।

कविताको महत्वप्रति उत्साहित भई कविलाई 'पोयट लरिएट' घोषित गर्ने यो परम्पराको अनुकरणमा संयुक्त राज्य अमेरिका घोडेजात्राको घोडाझैं तेज गतिमा दगुर्‍यो । त्यसले केन्द्रीय सरकार र राज्य सरकारका स्तरमा थुप्रै 'पोयट लरिएट' घोषणा गर्न थाल्यो । दाना जिओआले 'क्यान पोयट्री म्याटर ? ' लेखेताका अमेरिकामा केन्द्रमा बाहेक राज्यस्तरमा पच्चीस जना 'पोयट लरिएट' नियुक्त थिए । उनको सरोकार थियो यति धेरै संरक्षित, हजारौंको संख्यामा कृतिगत रूपमा प्रकाशित, विद्यालय, विश्वविद्यालय स्तर, बौद्धिक-बुद्धिजीवी स्तर, अनेक पत्रपत्रिका, पुरस्कार, संघसंस्थास्तरमा प्रचारित र दशौं हजारको संख्यामा कविहरूको जनसंख्या वृद्धि हुँदाहुँदै पनि किन कविताको आम पठन घट्दो छ ?

सापेक्षमा समकालीन नेपाली कविताको अवस्था २६ वर्षपहिले दाना जिओआले अनुभूत गरेको अमेरिकी कविताको अवस्थासित मेल खान्छ । महाकवि देवकोटाले स्वस्थ कल्पनाले मानिस कवि हुन्छ भने तर अस्वस्थ कल्पना र व्यवहारले पागल नबनेका कत्ति कविहरू बगे्रल्ती समाजमा देखिन्छन् । तिनले कसरी कविता रच्छन्, आश्चर्य लाग्छ । भावनाको वौद्धिक कोमलता-कविता भनी परिभाषित गर्ने समेली चिन्तनलाई कति समसामयिक कविले अप्रगतिशील प्रगतिशीलतामा उडाएका छन्- के भावना पनि बौद्धिक हुन्छ ? के बौद्धिकता पनि कोमल हुन्छ ? लाहुरिने र प्रवासिने परम्परा भएको देशमा नेपाली कविता नेपालमा मात्र सीमित रहेन ।

नेपाली कविता भारतको पनि कविता हो । नेपाली कविता डायस्पोराको कविता पनि हो । सोझै परदेशी बुट बजार्न लाहुरिएकाहरूले बन्दुक समाए, अहिले विश्वभर विविध पेसामा लाहुरिएकाहरूले कलम समातिरहेका छन् । यो नेपाली साहित्य र कविताको प्रगति हो । तर, मोटामोटी पाठकीय अनुभवहरूले भन्छन्- समकालीन नेपाली साहित्यमा कविहरूको संख्या कविताहरूको संख्याभन्दा बढी छ ।

के यो सत्य हो वा अतिशयोक्ति हो ?

पछिल्लो पन्ध्र-बीस वर्षमा निश्चय पनि कविहरूको संख्या बढेको छ । हामीकहाँ ठूला पत्रपत्रिकाहरूले कविता र तत्सम्बन्धी सामग्री प्रकाशित गर्दैनन् भन्ने अवस्था पनि आइहालेको छैन । विकसित देशले 'पोयट लरिएट'झैं हाम्रो देशले कविलाई राष्ट्रकविको उपाधि प्रदान गरेकै छ । सुखद प्रसंग, झन्डै शताब्दी वयका हाम्रा राष्ट्रकवि माधवप्रसाद घिमिरे अथक रूपले महाकाव्य रचनामा तल्लीन छन् । तर, प्रश्न प्रश्नकै रूपमा उपस्थित छ- के समकालीन नेपाली कविता ह्रासोन्मुख अवस्थामा गुज्रिरहेको छ ? के समकालीन कविता मृत्युउन्मुख अवस्थामा पुगेको छ ? मलाई चेतना छ- अहिले पनि बर्सेनि दर्जनौंका संख्यामा महाकाव्य÷खण्डकाव्य र कवितासंग्रहहरू प्रकाशित भइरहेका छन् ।

म कविताभन्दा गजल पनि बुझ्छु तर यहाँ कति गजलकारहरू गजलप्रति यति विमोहित छन् कि उनीहरू कविताको दासत्वबाट मुक्तियुद्ध लडिरहेछन् । समकालीन कवितामा केहीले आफूलाई स्वयंघोषित वा निकट समूहद्वारा घोषित रूपले आफूलाई महाकवि देवकोटा, गोपालप्रसाद रिमाल, माधवप्रसाद घिमिरे, भूपि शेरचन, बैरागी काइँला र मोहन कोइरालाका उत्तराधिकारी घोषित गरिरहेका देखिन्छन् । भूपि-बैरागी काइँलाका उत्तरवर्ती युगमा कसैकसैले आफूलाई नयाँ र मौलिक कवितालेखन सम्प्रदायका अगुवा घोषित गरेका परिदृश्य पनि उदेकलाग्दो छ । फेसबुक र युट्युबका अप्रत्याशित लाइकहरूमा तारकीय व्यक्तित्व निर्माण भएको अनुभूति गरेका केही कविले बुझ्नु जरुरी छ- तत्कालीन लाइकहरू दीर्घकालीन डिसलाइकहरूमा परिणत हुन सक्छन् ।

समकालीन साहित्यमा कविताको जति चर्चा हुन्छ त्यति ती चर्चायोग्य लाग्दैनन् । कविता चर्चित हुन ती सुन्दर हुनुपर्छ, ती उत्कृष्ट हुनुपर्छ, ती मौलिक हुनुपर्छ । कविता चर्चित हुन ती कविता हुनुपर्छ । हामीकहाँ वास्तविक कविताको भन्दा कविताको नाममा लेखिएका अन्यथा कुराहरूको बढी चर्चा हुन्छ । सहयोगी हात हुन्छन्, निकटवर्ती पत्रकार, अधर्मी समीक्षक, व्यावसायिक प्रकाशक आदि । हालै मैले व्यावसायिक प्रकाशक र तिनका छत्रछायामा लामबद्ध केही व्यक्तिद्वारा अति प्रशंसित एक कवितासंग्रह अध्ययन गर्ने मौका पाएँ । कवि नयाँ थिए त्यसैले कवितामा पनि केही नयाँपन थियो तर मझौला प्रभावका । धेरैजसो कवितामा समकालीन कथामात्र थिए । तर हल्ला यति मच्चाइयो, उनले महाकविसमेतलाई पछाडि पारिसके । समकालीन कविताको सन्दर्भमा यो लक्षण शरीर संरचनाभित्र क्यान्सरजत्तिकै भयानक छ ।

सम्भवतः नेपाली कविता फेरि एकपल्ट अतिवादतर्फ उन्मुख छ । विक्रामाब्द चालीसको दशकारम्भतिर, जब म विश्वविद्यालयको विद्यार्थी थिएँ, तत्कालीन नेराप्रप्रका प्राज्ञ वरिष्ठ कवि मोहन कोइरालाले 'कविता' पत्रिकाको लागि मेरा केही कविता र कवितासम्बन्धी विचार आमन्त्रण गरे । मैले पहिलोपल्ट कविताबारे सोच्ने कोसिस गरेँ । त्यस समय म शून्यवादसम्बन्धी एक दार्शनिक अवधारणा निर्माणको क्रममा थिएँ । यही दार्शनिक अवधारणाअनुरूप कविताबारे सोच्दा 'कवितामा मध्यमा प्रतिपद' नाममा एउटा छोटो लेख जन्म्यो । मलाई लाग्यो, तत्कालीन समयको नेपाली कविता अतिहरूद्वारा ग्रसित छ ।

एकातिर परम्परागत छन्दवादी कविताको अतिवाद, अर्कोतर्फ प्रयोगवादी कविताको अतिवाद, साथमा सरलता सहजतावादी कविताको अतिवाद । छन्दका अतिवादीहरू भन्थे- गद्य कवितै होइन । प्रयोगवादी अतिवादीहरू भन्थे- छन्दमा कविता लेख्नु पुरातनपन्थी हुनु हो, त्यस्ता कविता रोबोटले पनि लेख्न सक्छन् । सरलता सहजतावादीहरू भन्थे- आधुनिक युगमा प्राचीन छन्दमा कविता लेख्नुको कुनै औचित्य छैन न प्रयोगका नाममा आफैंले नबुझ्ने कविता लेख्नुको कुनै अर्थ छ । विशेषगरी काठमाडौं केन्द्रित यस अतिवादी समयमा आयोजित एक विशेष कविगोष्ठीमा कविता पाठ गर्न जाँदा मैले छन्दवाद र प्रयोगवादका दुई अगुवा कविहरूले दन्तबजान गरेको दुखद दृश्य देखेँ । म दुवैलाई अति सम्मान गर्ने युवा विद्यार्थी कविको हृदय क्षतिग्रस्त भयो ।

यो आघातीत मनस्थितिमा मैले सोचेँ- न छन्दका नाममा पुरातनपन्थी हुनु कविता हो, न प्रयोगका नाममा सिङ न पुच्छरको जथाभावी बौद्धिकता र अमूर्तता कविता हो, न सरलता-सहजताको नाममा सपाट ठूलो वर्णमालाजस्ता अभिव्यक्ति दिनु कविता हो । यी कविताका अतिहरू हुन् र असल कविता बुद्धले जीवनको सन्दर्भमा भनेझैं जहिले पनि अतिहरूको बीचमा हुन्छ । कविता न छन्दमा हुन्छ, न छन्दहीनतामा हुन्छ । कविता न प्रयोगमा हुन्छ न प्रयोगहीनतामा हुन्छ । कविता न सरलतामा हुन्छ, न जटिलतामा हुन्छ । कविता यी सबैका बीचमा हुन्छ ।

कविता सोच्नु सजिलो हुन्छ, कविता रच्नु गाह्रो हुन्छ । कवितामा मध्यमा प्रतिपद सोचेपछि र त्यसको डेढ दशकजतिपछि विक्रामाब्द २०५५ मा आफ्नै संयोजनमा 'संरक्षण कविता आन्दोलन' घोषणा भएपछि मलाई तीव्रतापूर्वक यो अनुभूति भएको छ । महान् दार्शनिक साहित्यकार झँ पल सात्र्रले 'ह्वाट इज लिट्रेचर ? ' मा कवितालाई 'एक्ट्स अफ् पर्सिभिंग र्‍यादर द्यान डिसक्लोजिंग' भने । उनको धारणालाई उनले वा अरू कसैले कवितामा कसरी उतारे, मलाई थाहा छैन । सात्र्रका समकालीन कामूले भनेका थिए, 'एक लेखकले धेरैभन्दा धेरै पाठकले पढून् भन्ने अभिप्रायले लेख्छन् र ती जसले यो होइन भन्छन् तिनका कुरा म राम्रो मान्न सक्छु तर विश्वास गर्न सक्दिनँ ।'

यस परिप्रेक्ष्यमा हामी कविहरू कता लागेका छौं ? सयौं के हजारौं संख्यामा हामी कविहरू कविता रचिरहेछौं, कविताका ठूलासाना पुस्तक प्रकाशित गरिरहेछौं, छायाहरूमा धेरैथोरै ठाउँ ओगटिरहेका छौं । तर हामी कविहरू के साँचो अर्थमा जनतासमक्ष पुगेका छौं ? के हाम्रो कविताहरू साँचो अर्थमा जनताका मन्त्र बनेका छन् ?

म कविताको मृत्यु परिकल्पना गर्दिनँ त्यसैले भर्मन सेटले झैं 'अफ्टर द डेथ फ पोयट्री'को चर्चा गर्दिनँ । यहाँ कविताको होइन कविको स्वैच्छिक मुत्यु हुन्छ, त्यसैले समहरू 'मृत्युपछिको अभिव्यञ्जना' जन्माउँछन् । सायद अमेरिकाको कवि दानाको 'क्यान पोयट्री म्याटर ? 'बाट डेभिड वेसफिल्डको 'डज पोयट्री म्याटर ? 'सम्म आइपुगेको छ, जहाँ अहिले पनि कविताले वर्तमानका रहस्य र भविष्यका सपना सम्हालिराख्छन् भने विश्वास गरिँदैछ । तर नेपाली कविता हाम्रो कमजोर काँधमा चढेर कहाँसम्म आइपुगेको छ ?

कविताको प्रतिष्ठा भएरै होला, धेरै कविहरू अनावश्यक रूपले अभिमानी हुन्छन् । उनीहरूलाई आफ्नो सानो सिर्जना पनि विश्वको सिर्जनाझैं महान् लाग्छ । कुनै बेला जेठा समालोचक रामकृष्ण शर्माले 'टाक्सिएको नेपाली कविता'को चर्चा गर्दा कति कविका अभिमानमा चोट परेको थियो । समकालीन नेपाली कविताको परिदृश्यमा महाकवि देवकोटा, गोपालप्रसाद रिमाल, माधवप्रसाद घिमिरे, भूपि शेरचन, मोहन कोइराला, बैरागी काइँला र ईश्वरबल्लभपछिका पुस्ता कुनै न कुनै रूपमा तिनकै प्रभावमा रुमल्लिरहेका छन् भन्दा धेरैका अभिमानमा चोट पर्न सक्छ तर हामी तिनका काँधसम्म आइपुगेका छैनौं भन्ने सत्य स्वीकार गर्दा के बिग्रन्छ ?

समकालीन नेपाली कविता अग्रजहरूमा प्रभाव र विश्वप्रभावका प्रभाववादी युगबाट विमुक्त भई आफ्नै विथीनिर्माणमा लाग्न सकेको छैन भनी आत्मस्वीकार गर्दा के बिग्रन्छ ? हामीले सोच्नुपर्छ, विश्वबाट हामीले धेरै लिइसक्यौं, अब हामीले विश्वलाई केही दिन सक्नुपर्छ । सधैं लिनेमात्र सोचले व्यक्तिलाई पनि, समाजलाई पनि मगन्तेमा परिणत गर्छ । म समकालीन कविताको क्षमता र तिनका कविहरूको लोभलाग्दो ऊर्जाशीलतादेखि परिचित छु तर सत्य स्वीकारोक्तिले सिर्जनधर्मितालाई अगाडि बढाउन मद्दत पुर्‍याउँछ भन्ने मान्यता पनि राख्छु ।

समकालीन कविहरूले हजारौं वर्षदेखि प्रवाहमान दीर्घजीवी कविताको एक अंशियार हुँ भनेर बृथाभिमान गर्ने समय यो होइन, अर्को हजारौं वर्षसम्म कवितालाई कसरी दीर्घजीवी तुल्याउन सकिन्छ सोच्ने समय हो ।अग्रगण्य कविहरूका सामुन्ने बाउन्ने भएँ भनी अपमानबोध गर्ने पनि समय यो होइन । सट्टामा कसरी सक्दो महान् र मौलिक सिर्जनाहरू गरी अग्लिने भन्ने समय हो । साहित्यमा प्रतिस्पर्धा होइन आत्मपरीक्षा गर्दा महत्व हुन्छ ।

समकालीन नेपाली साहित्यमा कवितामाथि अन्य विधाका हमलाहरूबारे म चर्चा गर्दिनँ । चाहे कवितामाथि अन्य विधाका हमला होस् या नहोस्, चाहे कविता धेरै संख्यामा लेखियोस्-नलेखियोस्, चाहे कवितासम्बन्धी गतिविधि धेरै होऊन्-नहोऊन्-कविताले कविताको रूपमा बाँच्ने अधिकार राख्छ । समाजमा कविताको आकर्षण घट्दै गयो, कविता जनताहरूका हृदयमा डायनोसोरझैं हराउँदै गयो भने हामीले बुझ्नुपर्छ- दोषी कविता होइन, हामी कविहरू हौं, दुर्बल र असक्षम कविता होइन, हामी कविहरू हौं ।

समकालीन कविहरूले यो सत्य आजै बुझ्नुपर्छ, होइन भने क्षणिकतावादी बुद्ध र हेराक्लिटसहरूले बुझेका सत्य हाम्रो लौकिक समाजले बुझेकै छ उखानमा । समय आउँछ पर्खंदैन, बगेको खोला फर्कंदैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.