पिरामिडका जागा रात

पिरामिडका जागा रात

केही गर्नेहरू पछि पर्दैनन् भन्ने अब्बल उदाहरण बनेको छ, इजिप्ट । परि श्रमीको अघिल्तिर जस्तो पहिरो पनि पहेँलपुर फाँट बन्छ भन्ने प्रमाण पनि हो, इजिप्ट । मरुभूमिको छुरो बालुवामा घाम घुसेपछि बालुवा आफैं तातो फलाम बन्छ । त्यही तातो फलामलाई नाइलको पानीले चिस्याए, बोटविरुवा उभ्याए इजिप्टेलीहरूले र आफ्नो देशलाई बनाए मरुभूमिमाझको हराभरा बगैंचा ।

Damodar-Pudasainaiवर्षभर पानी बर्संदैन इजिप्टमा । बालुवाको बतास चल्छ । धुलोको मुस्लोले सहर र बस्तीहरू रंगाउँछ । वायुभरि बालुवाका कण मिसिएकाले घरहरू बालुवा रङले रंगाइएका छन् । सहरको भित्री भागमा पुराना घर पनि छन् । इँटाका रातमाटे घरहरूले अझै छोडेको छैन सहरलाई ।सभ्यता स्थान विशेषले फैलिने कुरो होइन । मान्छेको चेतना र जागरणमा भर पर्छ । लमतन्न सुतेको मरुभूमिबाट सभ्यताको विस्तार गरे इजिप्टेलीहरूले । बालुवामा नाइल सिँचदै अन्नदाना फलाए । गाँस, बास र कपासका लागि नौलो सोचको विकास गरे ।

आपसी भाइचाराले मान्छेको अस्तित्व उज्यालो हुने खुलासा गरे । शुक्रबार र शनिबार दुई दिन सरकारी कार्यालय बन्द हुने रहेछन् इजिप्टमा । शुक्रबार हामीलाई कायरो र गिजा सहर घुमाइदिन दूतावासले जनसम्पर्क अधिकृत हाइतम अजुजलाई खटाएको थियो । हाइतम आफैं सुसंस्कारका प्रतीक थिए । मित्रता र अरूलाई सहयोग गर्ने भावनाबाहेक मान्छेमा अरू केही छैन कि क्या हो भन्ने झल्को दिइरहेथ्यो हाइतमको व्यवहारले । पिरामिड नै इजिप्टको एक आकर्षण हो । नाइल सभ्यता र मरुभूमिको मर्म पनि नबुझी हँदैन इजिप्टसँग मितेरी लगाउन ।

प्रसिद्ध पिरामिडहरू गिजा सहरको बाहिरी भागमा रहेकाले हाम्रो मन्तव्य पनि उतै थियो । विश्वका सात आश्चर्यमध्येका पिरामिड राजा कोफु, उनका छोरा केफरस र नाति मकाराले निर्माण गर्न लगाएका थिए । तीनवटै पिरामिड विशाल पहाडजस्ता ठूला र अग्ला रहेछन् । राजा कोफुले २५५६-२५६६ इसापूर्वमा सबैभन्दा ठूलो पिरामिड बनाउन लगाएका थिए । त्यसको अघिल्तिर राजा केफरसको विशाल सालिक पनि रहेछ । हाइतम भन्दै थिए- इजिप्टमा भएका पिरामिडहरू गनिसाध्य छैन । पिरामिडहरूले झल्को दिइरहेछन् आस्थाका प्रबल पहाडहरूको ।

बिहान सवा ११ बजे पिरामिड अघिल्तिर पुग्दा प्रचण्ड गर्मी थियो । विभिन्न देशका पर्यटकको भीड लागिसकेको थियो । राष्ट्रिय पाहुना र विदेशी कूटनीतिज्ञले पिरामिड अवलोकनका लागि शुल्क भुक्तान गर्न नपर्ने रहेछ । त्यसैले हामीलाई टिकट खरिद गर्न लस्करमा उभिनु परेन । प्रवेशद्वारदेखि नै अरू आगन्तुकलाई हटाउँदै कर्मचारीले हाम्रो यात्रा अघि बढाए । उपस्थित सबैको आँखा हामीमाथि पर्‍यो ।

एक समय मृत्युपछिका सम्भावित अप्ठेराको कवचका लागि बनाइए पिरामिड, अहिले वास्तुकलाका अनुपम नमुना बनेर बाँचिरहेका छन् ।

प्रवेशद्वारबाट भित्र पस्नेबित्तिकै हामी कमिले ताँतीबीचको गँड्यौला बन्यौं । निकै उच्चस्तरका र धनीमानी पाहुना ठानेर छोपिहाले त्यहाँका फिरन्ते व्यापारीले । उँट तथा घोडा चढाएर फोटो खिच्ने र पिरामिडका ससाना मिनेचर बिक्री गर्नेहरूको भीड नै थियो । 'अत्यधिक मोलमोलाइ गर्नुपर्छ त्यसैले एक्लै सामान नकिन्नु होला', हाइतमले पहिले नै सजग गराइसकेका थिए हामीलाई ।

'क्यामेल राइडिग सर ? ' एउटा इजिप्टेलीले टुटेफुटेको अंगे्रजीमा प्रश्न गर्‍यो । उसको साथमा सप्तरंगी ध्वजापताका बेरेको विचित्रको उँट थियो । सयाँ घुँघरु र घन्टी झुन्ड्याइएकाले उँट हिँड्दा संगीतको मीठो झंकार टाढाटाढासम्म पैmलिँदै जान्थ्यो । उँट दौडँदा उडेको धुलोले विचित्र सौन्दर्यशाली रङ पैदा गरिरहेथ्यो । मैले उँट चढ्न इन्कार गरेँ । त्यो उँटवालाले उसकै भाषामा के-के गाली गर्‍यो र फनक्क फन्किएर पर्तिर मोडियो । 'दिस इज क्यामेल स्किन, सर, प्लिज राइड अन हेयर', अर्कोले आफ्नो उँटको बखान गायो । उसको उँटलाई रातो, हरियो र नीलो रङले चित्रमय बनाइएको थियो । मैले उसलाई पनि इन्कार गरेँ । एक घन्टाको सय इजिप्टेली डलर, पचास डलर, पच्चीस डलर भन्दै पन्ध्र डलरसम्म ओर्लियो ऊ । मैले नमानेपछि उसले पनि आफ्नो भाषामा गाली बर्सायो र अरू पर्यटकतिर मोडियो । ग्राहक आफूतिर आए ज्यूज्यू गर्ने, अन्यत्र मोडिए धारे हात लाउने चलन त्यहाँ पनि रहेछ ।

प्राचीन इजिप्टमा पुनर्जन्मप्रति प्रगाढ आस्था थियो । मान्छे मरेपछि पुनः जन्मने भएकोले मृत्युपश्चात् पनि खानेकुरा र लत्ताकपडा आवश्यक पर्छ भन्ने उनीहरूको विश्वास थियो । राजामहाराजा मरेपछि लासलाई सड्न नदिई ममिजको रूपमा पिरामिडभित्र राख्ने र उनीहरूका लागि लत्ताकपडा र खानेकुरा प्रदान गर्ने चलन थियो । तिनै विश्वासलाई साकार रूप दिन अजगका पिरामिडहरू तयार गरिन्थ्यो ।

पिरामिड नजिकै पानीजहाज आकारका दुईवटा खाल्टा देखिए । राजाहरू मृत्युपछि पानीजहाज चढेर स्वर्ग जाऊन् भनेर ती खाल्टा निर्माण गरिएको बताउँछन् हाइतम । हामीहरूले मुख्य पिरामिड पूरै परिक्रम गर्‍यौं । बाँकी दुई पिरामिडको अग्रभाग मात्र प्रदक्षिणा गरियो ।पिरामिडहरू अजगका पहाड बनेर उभिएका छन् । त्यति ठूला पिरामिड मान्छेले कसरी बनाउन सके होलान् भन्ने आश्चर्य पनि लाग्छ । पिरामिडको पुछारमा उभिँदा नागार्जुन पहाडको फेदीमा उभिएजस्तो अनुभूति हुन्छ ।

मुख्य पिरामिडसँग रहेको अर्को सानो पिरामिड राजा कोफुकी आमाका लागि बनाइएको रहेछ । त्यही पिरामिडको सुरुङभित्र छिरेँ म । झन्डै पच्चीस फिट गहिरो सुरुङ फराकिलो छ । गहिरो भएकाले अक्सिजनको कमीले श्वासप्रश्वासमा गाह्रो हुने रहेछ । एकजना मात्र मुस्किलले हिँड्न मिल्ने भर्‍याङ पारमात्र गरेको के थिएँ, म झस्किएँ । गुम्बज आकारको त्यो गुफाको भित्तामा एउटी अँगारेकेटी ठिंग उभिरहेकी रहिछन् । कालो अनुहारमा उसका सेता दाँत बेस्सरी टल्किरहेका थिए । सुरुमा त मैले उसलाई मरेको ठानेँ । कुनाबाट अर्को कालेले तस्बिर खिचिरहेको देखेपछि होश ठेगानामा आयो । चिनाजानी भयो । तिनीहरू त जायरबाट आएका रहेछन् ।

केफरस र मकारा पनि आआफ्नो पिरामिडमा जीवन्त छन् भन्ने विश्वास छ धेरैमा । केफरस र मकारा पिरामिड मुख्य पिरामिडबाट पश्चिम लहरमा उभिएका छन् ।पिरामिड पश्चिमतिरको मरुभूमिमा उँट चढेर सयर गर्नेहरू कमिला ताँतीझैं देखिँदैथ्यो । उँटका खुट्टाले हावामा फैलाएका बालुवाकणहरू घामको प्रकाशमा चम्किलो देखिन्थ्यो । त्यहाँ पानीबिनाको हुस्सु, कुहिरो र बादल बाक्लिरहेथ्यो । आकाशभर चम्किरहेथे हिराझैं बालुवा कणहरू । त्यही छेकारोमा प्रेमी-प्रेमिकाहरू प्रेमको कसम खाइरहेथे । पिरामिडको चित्र तयार गर्ने बालबालिकाको भीड नै लागेको रहेछ त्यति बेला । बूढाबूढीहरू पिरामिडका ढुंगाहरूको स्पर्शमा आकलन गरिरहेथे आफ्नो जीवनको मूल्य ।

जीवनको सार जग हो भन्ने अर्थ खुलाइरहेछन् पिरामिडले । चार कुनाहरूले धर्तीका विशाल भाग ओगट्नु र क्रमशः उचालिँदै र घट्दै जानुले शिखर रूप धारण गरिरहेछन् पिरामिडहरूले । एक समय मृत्युपछिका सम्भावित अप्ठेराको कवचका लागि बनाइए पिरामिड, यतिखेर वास्तुकलाका अनुपम नमुना बनेर बाँचिरहेछन् । लामो समयसम्म कुनै भूकम्पले कोट्याएको छैन, हावाले हल्लाएको छैन । घामको असह्य रापले पनि कुनै असर गरेको छैन । त्यसले पिरामिडहरू मानवनिर्मित पहाड बनेर उभिएका छन् मरुभूमिमा ।दिउँसो पौने ३ बजे गिजाका पिरामिड छोडेर फर्कियौं हामी ।

मेरी जापानी साथी सचिको सुनेकावा भन्थिन्, 'पिरामिडमात्र होइन, संग्रहालय पनि नहेरी नहुनेमध्ये एक हो इजिप्टमा ।' इजिप्ट पुगेपछि मानव सभ्यताका विम्बहरू चियाउन जरुरी पनि थियो । मध्य कायरोमा रहेको ताहिर स्क्वायर संग्रहालयमा पुग्यौं । संग्रहालयको छेउबाट नाइल नदीको एउटा भँगालाले शीतल छरिरहेछ । संग्रहालय अघिल्तिर पुग्दा 'पपैरसु पपैरसु' भन्दै पहेँला कागजमा अंकित चित्रहरू बेच्नेहरूले घेरे । 'यो इजिप्टेलीहरूले बनाएका हाते कागज हो । पपैरसबाट पेपर बनेको हो', हाइतमले अथ्र्याए । मैले कागजको पुर्खा पपैरसमा अंकित केही चित्र खरिद गरेँ । ती चित्रले हाम्रै मिथिला चित्रको झल्को दिँदा रहेछन् ।

संग्रहालय धेरै ठूलो रहेछ । सबै कुरा राम्रोसँग अवलोकन गर्ने हो भने दुई दिन पनि अपर्याप्त हुनसक्छ । हामीसँग धेरै समय थिएन । संग्रहालयमा सभ्यताको सुआतदेखिका अनेकौं झिल्काहरू भेटिए । ढुंगाका विशाल 'क्याफिनु' प्रशस्त छन् । मान्छेको मृत्युपश्चात् शरीरलाई ममिज बनाइराख्ने ढुंगाका आवरण पनि प्रशस्त रहेछन् । ममिज कक्ष बेग्लै छ । त्यो कक्षमा प्रवेश गर्न छुट्टै प्रतिव्यक्ति ७० इजिप्ट पाउन्ड आवश्यक पर्छ । हामीले मुद्रा विनिमय नगरेको र त्यहाँ अमेरिकी डलर स्वीकार नगरिने भएकाले त्यो कक्षामा प्रवेश गर्न सकेनौं । अर्को कक्षमा ममिज भने देखियो । हजारौं वर्षअघि मरेको मान्छेको त्यो शरीर सुकेको हाडछालामात्र थियो । आखिर प्राण नभएपछि प्राणी त केवल सुकेको काठ त हुने रहेछ नि, चाउरी परेको मरीचजस्तो।

संग्रहालयमा प्राचीन सभ्यताका झल्को दिने असंख्य पुरातात्िवक वस्तुको उपस्थिति थियो । धेरै मूर्तिमा महिलाले अनेकौं शैलीमा चुल्ठो बाटेको देखियो । सृष्टिको सुरुआतमै पुरुषको तुलनामा नारीहरूले शृंगारपटारमा जोड दिएका तथ्य खुलस्त पार्दै थिए त्यहाँका मूर्तिले । कलात्मक रंगीन कन्तुर, मदुस, सन्दुस, कोदाला, कोदाली, भाला, युद्धका सामग्री, लट्ठी, तरबार, पंखा, अत्तर राख्ने भाँडा, चुरापोते, सुनको जन्तर, सुनका माला र बालाहरूको लहरले समयसमयको प्रतिनिधित्व गरिरहेथे । हिँड्दै थिएँ । एउटा मूर्तिमा ठोक्किएँ- रूपवतीको रहेछ । मूर्तिमा गहनाहरू सजिएका थिए । परिधानले पर्दाको काम गरिहेथे । मूर्ति आफैं आवाज निकाल्ने तयारीमा थियो । सोचेँ- महिला, पुरुषभन्दा बढी सुन्दर हुन्छन् र हुनुपर्छ भन्ने सोचाइ प्राचीन कालदेखि नै रहेछ ।

मध्यकक्षमा विभिन्न देवताको जमघट रहेछ । प्राचीन इजिप्टेलीहरू जनावर, खोला र सूर्यलाई देवताको रूपमा पूज्थे भन्ने बक्दैथिए ती मूर्तिले । सर्पलाई जीवित देवता मान्ने भएकाले सर्पका ठूलाठूला मूर्ति, शासकलाई सर्वोच्च झल्काउने सुनका श्रीपेच, श्रीपेचको माथिल्तिर सजिएका नागका मूर्तिहरू, शासक ढलिमली गर्दै बस्ने गद्दी एवं जनताले आसनका रूपमा प्रयोग गर्ने पिर्का र कुर्सीको क्रमबद्धताले विकासका विभिन्न चरणको प्रतिनिधित्व गरेका छन् ।

प्रयोग गरेका चिजबिजले मान्छेका आनीबानी र रूपको झल्को प्रकट भइरहेछ ताहिर स्क्वायर संग्रहालयमा । प्राचीन राजाका कुर्सीलाई पनि पपैरसले बेरिने चलन रहेछ । यसबाट पपैरसलाई प्राचीन कालदेखि नै बहुउपयोगमा ल्याइन्थ्यो भन्ने पुष्टि हुन्छ । राजा कुर्सीमा बसेपछि खुट्टा टेक्ने छुट्टै पिर्का र राजाले टेक्ने स्थानमा उनका शत्रुका चित्र कोरिएका हुने रहेछन् । यौनजन्य हाउभाउ झल्कने चित्र पनि कम छैन त्यहाँ ।

महिलालाई आफ्नो बसमा राख्न पुरुष-पुरुषबीच झगडा भएको, भाला देखाउँदै महिलालाई बलात्कार गरिरहेको, पुरुष र नारी यौन क्रियाकलापमा संलग्न हुँदा समाधि प्राप्त गरेका चित्र यत्रतत्र छरिएका छन् । जीवन र जगत् उजिल्याउन ती कला जीवन्त बनेका छन् । संग्रहालय आफैं मानव सभ्यताको सजीव चित्र बनेर उभिएको छ । विगतले आगतको लागि शिक्षा दिन्छ, सौन्दर्य दिन्छ र सम्मान दिन्छ । केवल मिहिनतापूर्वक खोतल्न सक्नुपर्छ विगतलाई ।

राति कायरो र गिजा जूनफूलझैं जगमगाइरहेथे । इन्द्रेणी रङका बिजुली बत्तीले गगनचुम्बी घर धपक्कै बलिरहेका थिए । सडकपेटीका सदाबहार रूख रंगीन बत्तीका लहरले घुम्टो खोलेका बेहुली बनेका थिए । रातभर मान्छेहरू आवतजावत गरिरहेथे, घरका ढोका खुला थिए । पातला वस्त्रमा बरालिनेहरूको पनि कहाँ कमी थियो र ? इस्लाम धर्मका अनुयायीको बाहुल्यले नारीको भने अनुहारमात्र हेर्न पाइन्थ्यो, स्कार्फ बेरेकाले कपालको भने भेउ नपाइने ।

शीतलता र सुरक्षाको समागमले रात बढी रंगीन थियो सहरभरि । सर्वोच्च अदालत भवनबाट अलिकति अघि बढेपछि नाइलको नीरमा गिजा र कायरो निराकूल नुहाइरहेका भेटिए । घस्रेका जहाजको प्रकाशले शान्त पानी सलबलाइरहेथ्यो । पानी र प्रकाश भएपछि पो गतिमा गीत थपिन्छ । अन्धकारमा आकृति सजिन्छ ।

कायरो र गिजामा दिनभन्दा रात धपक्क बल्दो रहेछ । मान्छेहरू मुस्कान छरेर सहरका कुनाकाप्चासम्म फैलिएका थिए । बजारहरू दिउँसोभन्दा बलिया बनेर ब्यूँझिरहेथे । घाम हराए पनि मान्छेहरू नै घामभन्दा चहकिला थिए । इजिप्टेलीहरूको सामु अँध्यारो हारेर भाग्दो रहेछ । दिन कामका लागि हो, रात निद्रा र आरामका लागि हो भन्ने परिभाषालाई परिवर्तन गरेछन् इजिप्टेलीले ।

'सहरमा सबै जागा छन्, ममात्र किन सुत्नु ? ' साथीहरू ओछ्यानमा अटसमटस गर्दै थिए । म हुत्तिएँ गिजाका गजुरहरूको गणना गर्न । नाइलजस्तै हर्दम जाँगरिलो र उर्वर छ गिजा । करवीरका कलिला पत्रहरूझैं सधैं रंगीन र मायालु बनिरहेछ कायरो । अन्तरकुन्तरसम्मको अँध्यारो बढार्दै पिरामिडझैं उचाइ खोजिरहेछ इजिप्ट । इजिप्ट पूरै मभित्र पसेको बेला निद्राले मेरो आँखामा पाइला हाल्नै सकेन । अत्यन्त खुसीमा होस् वा साह्रै दुःखमा मान्छेको मनमा निद्रा चढ्न सक्तैन । मन नयाँ स्थानका नूतन दृश्यमा फुरुंग थियो ।

निद्रा, भोक र थकाइ नाइलको भेलले बगाइसकेको होला सायद अगाडि नै । कायरोको जागा रातभन्दा अझ जागा बनेर निद्रालाई शक्तिमा रूपान्तरण गर्न सहरका गल्लीगल्लीमा भेटेँ आफैंलाई ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.