दूरीले थाक्दैनन् पैताला
नेपालको पहिलो एयर होस्टेज कृष्णा लामा छोरीलाई आफूजस्तै हरपल जहाजमा उडेको हेर्न चाहन्थिन् तर फरक जिम्मेवारीका साथ । छोरी रानु पाइलट भएको देख्ने सपना उनको आँखामा सजिएको थियो । र, त्यहीअनुसारको शिक्षा र मार्गनिर्देशमा सामेल गराइन् छोरीलाई । रानु पनि आमाको सपना आफ्नो बनाउँदै अध्ययनमा मेहनत गर्दै थिइन् । तर, त्यो सपनामा एकाएक विराम लाग्यो जब रानुका आँखाले साथ दिएनन् । एसएलसीपछि गरिएको स्वास्थ्यजाँचमा उनका आँखामा कमजोरी देखिए ।
प्रायः मानिस आफ्नो सपना वा उद्देश्य पूरा हुने छाँटकाँट नदेखिएपछि चिन्तित बन्छन् । सफलता प्राप्त नहुने डरमा विकल्प रोज्न पनि डराउँछन् । तर रानु भने वर्षौंदेखि बुनेको सपना टुट्दा पनि डगमगाइनन् । आकाशमा उड्न नपाएर के भो धर्तीमा दौडिएर पनि उचाइ प्राप्त गरिन्छ सोचिन् उनले । त्यसैले जीवनको अर्को सपना बुन्न ढिलो गरिनन् उनले । हुन त त्यो सपना पूरा गर्न उनका अघिल्तिर संघर्षका अनगिन्ती पहाड थिए अपरिचित भूगोल, भिन्न परिवेश, भाषा र संस्कृति फरक भएको अस्ट्रेलियामा । निरन्तरको लगन र अठोटका सामु ती सबै संघर्षका पहाड होचा साबित भए ।
अस्ट्रेलियाको प्रमुख सहर सिड्नीमा बस्दै आएकी रानु गत साता काठमाडौंको ठमेलमा भेटिइन् नेपालकी पहिलो एयरहोस्टेजकी छोरीका रूपमा होइन, सफल म्याराथन धावकका रूपमा । एभरेस्ट म्याराथन दोस्रो पटक सफलतापूर्वक सम्पन्न गरेर फर्किएकी रानुको परिचय म्याराथनले फराकिलो बनाइदिएको छ । उमेरको क्यालेन्डरले ४१ प्रति फेरिसके पनि शारीरिक बनावट र पहिरन हेर्दा लाग्छ उनी भर्खर १६÷१७ को उमेरमा दौडिरहिछन् । जीवनका यी यात्राहरू जन्मभूमिबाट टाढा रहेर संघर्षमै बिताएकी छन् उनले ।
तत्कालीन युवराज दीपेन्द्रलाई ट्युसन पढाउने मौका पाएसँगै आमा कृष्णाले काठमाडौंको सेन्ट जेभियर्समा अंग्रेजी शिक्षक बन्ने मौका पाएकी थिइन् । आमाका कारण रानुलाई त्यहाँ अध्ययन गर्न अप्ठ्यारो परेन । स्वास्थ्य जाँचका बेला आँखा कमजोर देखियो । आँखाले धोका दिएकाले पाइलट बन्ने लक्ष्य त्याग्न बाध्य उनी ग्यालेक्सी कलेजबाट प्लस टु सकेपछि नयाँ बाटो खोज्दै अस्ट्रेलिया हानिइन् उनी । नयाँ ठाउँ नयाँ परिवेशमा भिज्न धेरै समय भने लागेन । दाइ पनि त्यतै भएकाले उनलाई खासै अप्ठेरो त भएन तर अध्ययन भने गाह्रै भइदियो ।
त्यहाँ बस्नकै लागि कहिल्यै आफ्नो रुचिमा नपरेको विषय 'एकाउन्टिङ' अध्ययन गर्नुपर्यो उनले । अध्ययनसँगै उनले दौडमा भाग लिने र त्यससम्बन्धी तालिम लिने योजना बुन्दै थिइन् अस्ट्रेलियन नागरिक 'माइकल'सँगको प्रेमविवाहले बाटो मोडियो । विवाहपछि काँधमा थप जिम्मेवारी थपियो । छोराछोरीका लागि भर्खर सुरु गरेको 'एड डिजाइन कम्पनी' को काम छोड्नुपर्यो तर उत्कृष्ट 'रनर' बन्ने उहाँको सपना मरिसकेको थिएन ।
रानुले आफू मोटाउन थालेको बहानामा एकदिन माइकललाई दौड्न मन लागेको बताइन् । 'माइकल'ले नाई भन्ने कुरै थिएन । यसै त पहिले मौका पाउनासाथ दौडिहाल्ने बानी नै थियोे । आमाको मुख हेर्ने दिन पारेर उनी पहिलो पटक निःशुल्क ५० मिनेटमा आठ किलोमिटरको दौड प्रतियोगितामा भाग लिइन् । त्यसले हिम्मत बढाइदियो । एक दिन बजार घुमिरहेका बेला खेलकुद सामग्री पसलको भित्तामा राखेको 'रनर गुप्र'को फोटोले उनको मन तान्यो । माइकलले पनि मन पराए । तत्कालै त्यो गुपसँग सम्पर्क राखी सातामा दुई पटक लामो दौडमा निस्कन थालिन् । छोराछोरीलाई स्कुल पुर्याउने दैनिकीमा थपियो सातामा दुई पटक 'रनिङ' ।
सन् २०१० बाट नियमित 'रनिङ' गर्न थाल्नुभएकी रानुले २०१३ मा आइपुग्दा १० किलोमिटर ४३ मिनेटमा पार गर्न सफल भइन् । आफैंले काम गर्ने पसलका मालिकबाटै तालिम लिने मौकासमेत पाइन् । लामो अभ्यासपछि सन् २०१५ मा एभरेस्ट म्याराथनमा भाग लिन अन्य ६ जना साथीसहित आउने योजना बनाइन् उनले । नेपालमा भूकम्प भएकाले त्यो योजना स्थगित भयो । आफ्नो जन्मभूमिलाई दुःख पर्दा रानुको मन के मान्थ्यो र चुपचाप बस्न ? अस्ट्रेलियामा संकलन गरेको राहत नेपाल आएर रसुवाको विकट गाउँमै पुगेर वितरण गरिन् । फर्केर फेरि म्याराथनको तालिम लिइन् ।
सिड्नी त समथर थियो । त्यहाँबाट दुई घन्टापछि 'ब्लु माउन्टेनमा' पुगेर दौडन थालिन् नेपालको हिमाल सम्झिएर । ४५ किलोमिटरको 'अल्ट्रा ट्रेल' आठ घन्टा २७ मिनेटमा पार गर्नुभयो । दौडका लागि समय निकाल्न धेरै नै गाह्रो हुने चाडपर्वका बेला समेत उनले एक घन्टा चाँडो दौडमा निस्केर भए पनि अभ्यासलाई निरन्तरता दिइरहिन् । सन् २०१६ को म्याराथनका लागि पुनः अरू चारजना अस्ट्रेलियनसँगै नेपाल आइन् ।
'पहिलो पटक त्यति खतरा विमानस्थल देखेको थिएँ मैले । जीवन यति नै रहेछ भन्ने लाग्यो,' म्याराथनका लागि सगरमाथा आधारशिविर जाँदै गर्दाको अनुभव सुनाइन् रानुले । नाम्चेबजारको बसाइमा पनि हिमालमा आफूलाई अभ्यस्त बनाउन उकालोमा दौडिरहिन् । गोरक्ष हिमालमा पुगेपछि उनले म्याराथन आयोजक भेट्नुभयो ।
आठ घन्टा ३७ मिनेटमा ४२ किलोमिटोरको म्याराथन त्यो पनि धारिला हिमालमा कम्ता चुनौती थिएन । त्यो दौड पूरा गर्न कसैलाई १२ घन्टा लाग्यो, कोही बाटोमै सुते, कोही बिरामी परे । रानुले भने तोकिएको समयमै पार गरिन् । 'म त डाँको छोडेर रोएँ' दौड सफल हुँदाको क्षण सुनाइन् उनले, 'मेरो लागि जीवनकै महत्वपूर्ण उपलब्धि थियो ।'
सफलताले थप हौसला दियो । झन् जोसिइन् उनी । अस्ट्रेलिया पुगेर फेरि 'ब्लुमाउन्टेन'को दौडलाई दैनिकी बनाइन् । यसपालि चारजना अस्ट्रेलियनलाई लिएर म्याराथनमा भाग लिन नेपाल आइन् । प्लेन नगएकाले हेलिकप्टर लिएरै लुक्ला पुग्यो त्यो टोली । नाम्चे पुगेपछि पहिलेकै तालिका दोहोरियो ।
'जित्छु भन्ने आँटले मात्र हुँदो रहनेछ त्यहाँको मौसमले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्नेमा भर पर्ने रहेछ । अलिकति खुट्टा चिप्लियो भने बाँच्ने सम्भावना कम छ । जित्छु भन्दै दौडिनेहरू बाटोमै छोडिएका थिए,' रानुले भनिन् 'सिंगापुरबाट आएका एकजना धावकको ज्यान नै गएको सुनेँ । मन चिसो भयो तर अरूलाई भनिन् ।' मौसमका कारण रानुको अक्सिजनको लेवल तलमाथि भइरहेको थियो । तर पनि उहाँ हाफ म्याराथनको महिलातर्फ दोस्रो र सिंगो म्याराथनमा पाँचा स्थान ओगट्न सफल भइन् । तीन घन्टा सात मिनेटमा २१ किलोमिटर पार गर्नु सहज थिएन । हिम्मत र अठोटले पूरा गरिछोडिन् उनले ।