एक महान् प्रतिभा सम्झेर
दार्जीलिङकै पे्रेरणाले म साहित्यितिर लागेको हुँ । म दार्जीलिङबाट प्रभावित भएको बेला त्यो नेपाली साहित्यको अति उर्वर र रसिलो थलो थियो । मलाई त्यहाँका नेपाली साहित्यिक महारथीहरूमध्ये सबैभन्दा उग्र रूपनारायण सिंह नै लाग्थे । उनी मात्र यस्ता प्रसिद्ध व्यक्ति थिए जससँग ठाडै गएर परिचय गर्ने र बोल्ने साहस मैले कहिल्यै गर्न सकिनँ । साहस पनि कसरी गर्ने ? उनी रहनसहन, ठाँटबाँट र बोलीचालीमा अंग्रेजका अवतारै थिए।
म आजभन्दा झन्नै ६०÷६१ वर्षअघिको दार्जीलिङलाई सम्झँदै छु जति बेला कवि ईश्वरवल्लभ आफ्ना पितासँग यतै काठमाडौंमै बालसुलभ विद्रोह गर्दै थिए । वैरागी काइँला तिलविक्रम नेम्बाङ नै थिए जो इलामको पाँचथरतिर डाँडैडाँडा बाहुलामा सिंगान पुछ्दै ओह्रालो-उकालो गर्दै थिए । देवकुमारी सिंह र सूर्यविक्रम ज्ञवाली त्यतिबेलाका जल्दाबल्दा व्यक्तित्व थिए जसको अभिमान दार्जीलिङभर प्रसिद्ध थियो । पारसमणि प्रधान झन् अर्कै प्रकारको अभिमानका प्रतीक थिए : उनी दार्जीलिङ नगरभित्रको कुनै पनि सभामा उपस्थित हुँदैनथे, तर कसैलाई पनि फुट्टी नगन्ने जिद्दी र अडानको उदाहरण दिनुपर्दा भने रामकृष्ण शर्माको नाउँ अघि सथ्र्यो ।
थियोडर मनेन (वा छोट्करीमा टी.मनेन) नाउँ गरेका अर्का प्रतिभा थिए जसले चोकबजारको बार्दलीमा उभिएर माइक समातेर बोल्न थालेपछि दिल्लीमा त्यति बेलाका जल्दाबल्दा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको समेत मुटु हल्लन्थ्यो । पण्डित धरणीधर शर्मा कोइराला जस्ता अग्ला, गोरा, उच्च ललाट र तेजस्वी मुखमण्डलका सर्वत्र प्रशंसित ऋषिकवि पनि त्यहीँ थिए । यी सबै असाधारण व्यक्तित्वहरूसँग मेरो परिचय थियो र म बोलेको समेत थिएँ । कवि कुलगुरु कोइराला, प्रेरणा र प्रोत्साहनका प्रतीक पारसमणि प्रधान र आलोचनाका सगरमाथा शर्मा मेरा अत्यन्त आत्मीय हितैषी र प्रशंसक थिए । त्यति मात्र होइन, नेपाली भाषालाई भाषणको शिखरमा पुर्याउने मनेन जस्ता सिद्धहस्त वक्ता त मेरा अभिन्न मित्र नै थिए । यस्ता सुयोग्य र प्रवीण व्यक्तित्वहरूको हुटहुटीले म मक्ख थिएँ, तापनि रूपनारायण सिंह भने मेरा लागि आकाशको फल आँखा तरी मर् नै थिए !
हो, बेलाइती गौरांग प्रभुहरूले भारत भारतीयहरूलाई नै सुम्पेर टाप ठोकिसकेका थिए, तर दार्जीलिङको समस्त इलाका तिनको र तिनका भक्तहरूको जगजगीले जग्मगाइरहेको थियो । त्यसका केन्द्रीय व्यक्तित्व रूपनारायण सिंह नै थिए । उनी गोरी आइमाईहरूसित मदिरासेवन गर्थे र जिमखाना क्लबमा नाच्थे । उनी ठाँटसित बस्थे, अंग्रेजी पोसाकमा जम्थे र अंग्रेजहरूले मात्र धान्न सक्ने 'प्लीभा' भोजनालयमा खान्थे ।
बेलाइतका गौरांग प्रभुहरूले भारत भारतीयहरूलाई नै सुम्पेर टाप ठोकिसकेका थिए, तर दार्जीलिङको समस्त इलाका तिनको र तिनका भक्तहरूको जगजगीले जग्मगाइरहेको थियो । त्यसका केन्द्रीय व्यक्तित्व रूपनारायण सिंह नै थिए । उनी गोरी आइमाईहरूसित मदिरासेवन गर्थे र जिमखाना क्लबमा नाच्थे ।
उनी जसरी उच्चवर्गीय सानसित दैनिक जीवन व्यतीत गर्थे, त्यत्तिकै प्रखर तार्किक र श्रेष्ठ वक्तासमेत थिए । यसरी बाहिरबाट हेर्दा जतिसुकै पाश्चात्य ढाँचाका देखिए पनि र अंग्रेजी भाषाका प्रकाण्ड विद्वान भए पनि रूपनारायण सिंह एक जिउँदा जाग्दा, जोसिला र ज्वलन्त नेपाली थिए । उनी नेपाली भनेपछि हुरुक्क हुन्थे । उनको नेपाली भाषा लेखाइको शैली बेजोडको थियो । उनका 'कथा नवरत्न' का कथाहरू पढेर र प्रसिद्ध उपन्यास 'भ्रमर' हेरेर नै मैले आफ्नो नेपाली शैलीलाई तिखारेको थिएँ, छरितो र रमाइलो पार्ने जमर्को गरेको थिएँ । त्यति भएर पनि उनी बाँचुन्जेल म फुच्चो उनका छेउमा पर्न सकिनँ, पर्ने आँटै ममा आएन ।
रूपनारायण सिंह सफल र लोकप्रिय वकिल थिए । उनले बहस गरेका मुद्दाहरूमा उनी हारेको कुनै अभिलेख पाइँदैन । उनी त्यसैले पारि श्रमिक पनि कम लिन्थे र तर्क पनि उफ्रीउफ्री, हँसाइहँसाई र व्यंग्य गरीगरी गर्थे अनि आफ्ना ग्राहकहरूलाई जिताउँथे, जिताएरै छाड्थे ।
तर, उनको एउटा कमजोरी थियो र मेरा विचारमा कमजोरी नभएर उनको विशालता नै त्यही थियो, महानता नै त्यही थियो, विशिष्टता नै त्यही थियो । कुनै झगडियाहरूमध्ये दुईमा एकजना नेपाली परेछ भने उनी आफूले जतिसुकै मन नपराएको मान्छे भए पनि र पारि श्रमिक दिन नसक्ने भए पनि त्यसैको पक्षमा ज्यान छाडेर वकालत गर्थे । अनेपालीलाई हराएरै मात्र सास लिन्थे ।
एकपल्ट रतनलाल ब्राह्मण वा माइला बाजेलाई एउटी गोरीका विरुद्ध उजुरी परेछ । माइला बाजे त्यस समयमा दार्जीलिङका साम्यवादी नेता थिए र रूपनारायण सिंह भने कट्टर साम्यवादविरोधी मानिन्थे । सिंहका सिद्धान्तको कठोरतालाई ध्यानमा लिएर सबै नै उनी पक्का पनि बाजेको पक्षमा वकालत गर्ने छैनन् भन्ने धारणामा थिए । तर सिंहले आफ्नो नेपाली धर्मलाई छाडेनन् । उनले रतनलाल बाजेको पक्षमा वकालत गर्ने निर्णय गरेको सुनेर सारा दार्जीलिङवासी स्तब्ध भए । स्तब्ध हुने कारण पनि डरलाग्दो नै थियो । एकातिर रतनलाल ब्राह्मणका विरुद्ध उभिएकी महिला अंग्रेज थिई र त्यतिबेला भारतमा अंग्रेजको शासन थियो ।
शासक वर्गका मानिस र त्यसमा पनि स्वास्नीमान्छेको चरित्रमा लाञ्छना लाग्ने मुद्दामा माइला बाजे फँसेका थिए । यस्तो मुद्दामा नेपालीले जित्नु पश्चिम दिशाबाट घाम झुल्किनु जस्तै असम्भव मानिन्थ्यो । मानिसहरू यस्तो असम्भव मुद्दामा रूपनारायण सिंहले चाख देखाएको देखेर तीनछक परेका थिए । जीवनमा पहिलो बाजी वकिल रूपनारायण सिंहले हार्ने भए भनेर त्यस ऐतिहासिक मुद्दाको बहस सुन्न दार्जीलिङको कचहरीमा र त्यसो प्रांगणसमेत पूरै ढाकेर हजारौं व्यक्ति भेला भएका थिए । तर रूपनारायण सिंह लर्तरो मुटु र मामुली ज्ञानमात्र भएका व्यक्ति थिएनन् । उनले सहज रूपमा अकाट्य तर्कहरू फटाफट प्रस्तुत गरे र प्राणदण्डसम्म मिल्ने सम्भावना भएको मुद्दाबाट माइला बाजेलाई बचाए । उनी साम्यवादीलाई कस्तो घृणा गर्थे भने मुद्दाको विजयपछि माइला बाजेले गरेका कृतज्ञाताज्ञापनको उत्तरसम्म नदिई मुन्टो बटारेर घर फर्के र त्यसपछि जीवनभर माइला बाजेसँग एकै वचन पनि बोलेनन् ।
धरणीधर कोइराला अग्ला र खाइलाग्दा थिए । गोरा हुनाले अंग्रेजजस्तै देखिन्थे । उनी हँसिला, मिजासिला र बोलक्कड थिए । सूर्यविक्रम ज्ञवाली होचा र डल्ला थिए अनि गम्भीर अनुहारका हुनाले सारा मानिसहरू उनीसँग तर्सन्थे र हत्तपत्त जसतससित नबोल्ने हुनाले उनलाई विद्यार्थी 'भीम बूढा' भन्थे । मैले धेरै जानेको छु र धेरै पढेको छु भनेजस्तो अभिमानमा फुलेर नै ज्ञवाली कसैसँग पनि खुल्दैनन् भन्ने व्यापक धारणा थियो ।
त्यस्तै धारणा दार्जीलिङेहरूको थियो देवकुमारी सिंहप्रति पनि । उनी भरिसक्के नेपालीहरूसँग बोल्नु नपरे पनि हुन्थ्यो भनेजस्तो गर्थिन् । उनी बंगालीहरूसँग बढी खुल्थिन् ।
रूपनारायण सिंहको भने रवाफै अर्को थियो । धरणीधर कोइराला गोरा र अग्ला भएर पनि दौरासुरुवाल, कोट र टोपीमा मात्र देखिन्थे र होचा भए पनि ज्ञवाली पनि दौरासुरुवाल र कोटमै जम्थे, तर उनी बिर्के टोपी लगाउँथे । पारसमणि प्रधान भने दौरासुरुवाल र नेपाली टोपीमै रम्थे । रूपनारायण सिंहलाई भने नेपाली पोसाकमा विरलै देख्न पाइन्थ्यो । उनी चिटिक्क परेको अंग्रेजी सुटमा पुतली टाई बाँधेर सजिएका देखिन्थे । उनी निकै पुड्का थिए बित्ते भने पनि हुनेजस्ता । त्यति होचा मान्छे टाँगनघोडीजस्ता गोरी मेमहरूसँग नाचेको हेर्न मानिसहरू जिमखाना क्लबतिर जाने गर्थे ।
जेहोस्, रूपनारायण सिंहको अन्त्य अत्यन्त बिजोकसित भयो । जवाहरलाल नेहरू दार्जीलिङ आएका बेला उनलाई चढाउने अभिनन्दन लेख्ने आँट दार्जीलिङमा कसैले पनि गर्न नसक्दा उनको धुँइधुँइती खोजी भयो । उनी त आफ्नै अध्ययनकक्षमा भोकै कुर्सीमै निधाइरहेका फेला परे । उनको पीडा पल्लो स्थितिमा पुगेर पाँच-पाँच दिनदेखि खानेकुरा त के पानीसम्म पनि खान पाएका रहेनछन् ।
'नेहरूको अभिनन्दन लेखिदिने कसैको पनि हिम्मत भएन । अंग्रेजी भाषामै त्यसको लेखोट यहाँबाट तयार पारिदिए हाम्रो दार्जीलिङको ठूलो इज्जत रहने थियो' भनेर धेरै व्यक्तिहरूले प्रार्थना गरेपछि उनले आफ्नो दयनीय शारीरिक स्थितिमा पनि जसरीतसरी उठेर उनको आफ्नै हातले अभिनन्दन पत्र लेखिदिएछन् । पछि नेहरूले त्यस अभिनन्दनपत्रको भाषाको ठूलो प्रशंसा गरे रे ।यसरी रूपनारायण सिंहले जीवनका अन्तिम दिनहरू सुत्ने कोठामा समेत नगई अध्ययनकक्षको कुर्सीमा रोएर बिताए ।
गन्न नभ्याइने उनको पैसा उनकी कान्छी पत्नी र तिनका लहैलहैमा जेठीपट्टिका छोरीहरूले स्वाहा पारिदिए । तिनीहरू आज लखनउ, भोलि कलकत्ता र पर्सि काश्मीर गर्थे । तिनीहरूका लागि मुम्बई र दिल्ली, पूणे र ब्यांग्लोर चोकबजार घुम्न गएजत्तिकै थियो । कसकससँग जान्थे, कति बेला जान्थे र कसरी जान्थे रूपनारायण सिंहलाई थाहा हुँदैनथ्यो । भित्रभित्रै वेदनाले छियाछिया भएर उनको देह पनि अध्ययनकक्षको प्रिय कुर्सीमै बिसर्जन भयो ।
यता दार्जीलिङमा उनको मृत शरीर जलाउन लानलाई पैसा थिएन भने उता उनकी पत्नी काश्मीरमा हिउँचिप्ली खेल्दै थिइन् !