आशा जगाउने पुस्तक
आँखाको समस्याका कारण अचेल म खासै पुस्तक पढ्न सक्दिनँ । पढ्नेभन्दा पनि प्रत्यक्ष भेटघाट नै मेरो प्राथमिकतामा पर्छ । उमेरले पनि ७५ पुगिसकेँ । जीवनको उत्तराद्र्ध लाग्छ मलाई यो उमेर । त्यसैले जति सक्दो धेरै मान्छे भेट्न चाहन्छु र धेरैसँग आफ्ना अनुभव साट्न चाहन्छु ।पछिल्लोपटक भेटेका धेरै मान्छे मध्ये एकजना मान्छे जोसँग असाध्यै मन मिलेको छ । उसको सकारात्मक सोच र सकारात्मक काम देखेर मन प्रभावित भएको छ । ऊ अर्थात् रोहित भण्डारी ।
रोहितलाई मैले ट्विटरबाट चिनेको हुँ । कहिल्यै डीभी नभर्ने कहिल्यै पीआर नलिने, ट्विटरमा देखेको यो प्रतिज्ञाले म रोहितबाट प्रभावित भएको हुँ । र, यही कारण उनी मेरो धेरै नजिकमा छन् । सकारात्मक ट्विटहरू नै गरिरहेका हुन्थे उनी । एकदिन फोन गरेर मेरोमा आए । साथमा एउटा पुस्तक पनि ल्याएका रहेछन्—सम्भव छ । २३ जना प्रेरणादायी व्यक्तिबारे लेखिएको त्यो पुस्तकको नाम नै राम्रो लाग्यो । अरुको राम्रो कामको चर्चा गरेर, अरूबारे सकारात्मक लेखेर, संघर्ष र सफलताका पुस्तकमा उल्लेख गरेको देख्दा औधी खुसी लाग्यो । सकारात्मक सोचको अभियानमा लाग्ने आफू जस्तै अर्को व्यक्ति भेट्दा मन प्रफुल्लित भयो । खुसीले अँगालो हालेँ रोहितलाई । यस्तै सफलताका अन्य कथा प्रकाशित गर्दै जान सल्लाह दिएँ । तर, उनले त अर्को पुस्तक पनि तयार पो पारिसकेका रहेछन् । अर्को पुस्तकका विषयमा छोटो भूमिका लेखिदिन आग्रह गर्दै पुस्तक विमोचनका लागि निम्तो दिए ।
पुस्तकबारे विस्तृत बुझेर केहीदिनपछि छोटो भूमिका लेखिदिएँ । पुस्तकमा जस्ता विषयवस्तु उठाइएका छन् ती विषयवस्तु मन छुने र अहिलेको परिस्थितिमा अत्यन्तै आवश्यकीय छन् । नेपालमा केही हुँदैन, केही गर्न सकिँदैन भन्ने नकारात्मक मानसिकता हावी भएका बेला 'नेपालमै सकिन्छ' पुस्तकमा जे जस्ता सन्दर्भहरू उनले समेटेका छन् ती पढ्नैपर्ने र व्यवहारमा लागू गर्नैपर्ने प्रकृतिका छन् ।
कामको सम्मान गर्ने परम्परा स्थापित गर्न आवश्यक छ नेपालमा । 'नेपालमै सकिन्छ' पुस्तकमा उनले कामको सम्मान गरेर राम्रो आम्दानी गरिरहेका युवाबारे लेखेका छन् । मास्टर्स डिग्री सकेर पनि कपाल काट्ने, घरमा रङ लगाउने, टायर मर्मत गर्ने, फर्निचर बनाउने, कपडा सिलाउने, गाई पाल्नेलगायतका काम गरेका युवाबारे लेखेका छन् उनले । ती काममार्फत विदेशमा कमाइने पैसाभन्दा राम्रो कमाइ नेपालमा नै भइरहेको तथ्य पुस्तकमार्फत प्रस्तुत गरेका छन् जसले कामप्रतिको सम्मान भाव सिर्जना गराउँछ ।
विदेशको डीभी, पीआर त्यागेर नेपाल फर्की केही व्यवसाय गरिरहेका व्यक्तिबारे पनि लेखेका छन् उनले जसले नेपालीको विदेश मोहप्रति कमी ल्याउन सघाउ पुर्याउँछ । विदेशको पीआर त्यागेर नेपाल फर्किएका कृष्णजंग केसी, दिनेश श्रेष्ठ, गुराँस गिरीलगायतका युवा उद्यमीका विषयमा उल्लेख गरेका छन् उनले । के कसरी फर्किए भन्ने सम्बन्धमा मेरो 'सोच' पुस्तकको प्रभाव भनी लेखेका छन् । 'सोच' पढेर नेपाल फर्की कृष्णजंग केसीले स्याङ्जामा अर्गानिक फार्म सञ्चालन गरेको, दिनेश श्रेष्ठले पार्टी प्यालेस खोलेको, गुराँस गिरीले मोटिभेसनल तालिमहरू सञ्चालन गरेको सन्दर्भ प्रस्तुत गरेका छन् । लेखनको क्रममा उनले जुन इमानदारिता देखाएका छन् त्यसबाट अत्यन्तै प्रभावित भएको छु म । एउटा लेखकले अर्को लेखकको नाम उल्लेख गर्न पनि हिच्किचाउने चलन रहेको बेलामा उनले यो पुस्तक पढेर यी यी मान्छे नेपाल फर्किएछन् भन्ने लेख्नु इमानदारिताको नमुना हो । क्रेडिट दिन कन्जुस्याइँ गर्छन् मान्छे । तर, उनी त्यसमा अपवाद बनेका छन् । उनको इमानदारी र सकारात्मक सोच साँच्चै प्रशंसनीय छ ।
'नेपालमै सकिन्छ' पुस्तकमा रोहित भण्डारीले कामको सम्मान गरेर राम्रो आम्दानी गरिरहेका युवाबारे लेखेका छन् । मास्टर्स डिग्री सकेर पनि कपाल काट्ने, घरमा रङ लगाउने, टायर मर्मत गर्ने, फर्निचर बनाउने, कपडा सिलाउने, गाई पाल्नेलगायतका काम गरेका युवाबारे लेखेका छन् उनले ।
एउटा मात्रै रूख ठिंग भएर जंगल बन्दैन । जति धेरै रूख भयो त्यति राम्रो हुन्छ वा भनौं त्यसले जंगलको आकार लिन्छ । सकारात्मक सोचको अभियान पनि एक्लैले सम्भव छैन । त्यसका लागि जति धेरै अभियन्ता भयो त्यत्ति नै प्रभावकारी हुन्छ । त्यसैले सकारात्मक सोचको अभियानलाई अझ व्यापक बनाउन यीजस्ता लेखक÷पत्रकारको साथ आवश्यक ठानेको छु ।
फेरि कुरा गरौं उनकै पुस्तकबारे । 'नेपालमै सकिन्छ' पुस्तकमा नेपालमा थोरै लगानीमा गर्न सकिने विभिन्न व्यवसायका विषयमा धेरै लेखेका छन् । अनेक व्यावसायिक टिप्स छन् पुस्तकमा । विदेश जानका लागि गरिने खर्च यहाँ लगाउने हो भने प्रशस्तै कमाउन सकिने उदाहरण दिएका छन् । हुन त पुस्तकमा प्रस्तुत गरिएका कथा र सन्दर्भ प्रतिनिधिमात्रै हुन् । यस्ता कथा कत्ति छन् कत्ति । तर, विडम्बना भनौं, त्यस्ता कथा खासै लेखिँदैनन्, बोलिँदैनन् । समाजमा सानातिना भनिने काम गरेर राम्रो आम्दानी गरिरहेकालाई यसैगरी प्रस्तुत गर्ने हो भने पक्कै मान्छेहरूमा काम गर्ने ऊर्जा जाग्छ । श्रमको सम्मान गर्ने र गराउने वातावरण सिर्जना हुन्छ ।
नेपालमा पनि केही गर्न सकिन्छ भन्ने भावना उब्जिन्छ । उनको पहिलो पुस्तक 'सम्भव छ' होस् या दोस्रो पुस्तक 'नेपालमै सकिन्छ' दुवै उत्तिकै उत्साहवद्र्धक छन् । नेपालमा हुँदैन, सकिँदैन, सम्भावना छैन भन्नेहरूका लागि गतिलो पाठ बनेका छन् यी पुस्तक । म रोहितलाई आग्रह गर्छु, यो सकारात्मक सोचको-खोजको निरन्तरता नरोकियोस् । यही हो देशलाई समृद्ध बनाउने व्यावहारिक प्रक्रिया ।