हठयोगको श्वेतशार्दूल

हठयोगको श्वेतशार्दूल

'सके आफैं राज गर्नु, सकिँदैन भने जनताले नै राज गर्छ । यो ढुंगाको मूर्ति भएर बस्नु हुँदैन,' योगी नरहरिनाथले मसँग भने ।तिथिमिति ठ्याक्कै याद भएन । 'राजाले छाता आफैं ओड्नुपर्छ' भन्ने अभिव्यक्ति दिएर चर्को विवादमा आएको केही समयपछि बाँके कोहलपुरको चपरगौढीस्थित रामजानकी मन्दिरमा उनीसँग मेरो भेट भएको थियो ।मूर्ति पूजामा विश्वास नगरे पनि मूर्ति पूजा हुने मन्दिरहरूमा बास बस्न रुचाउने योगी नरहरिनाथ २०५५ तिर हो शायद चपरगौढीस्थित रामजानकी मन्दिरमा पुगेका थिए । संस्कृत पाठशालासमेत सञ्चालन हुन थालेको त्यस मन्दिरमा आफ्ना भक्त, विद्यार्थी र आगन्तुकलाई एउटा संस्कृतको लिखत पढेर सुनाउन चाहे । त्यतिबेला उनको घाँटीमा समस्या भएकोले कसैलाई पढेर सुनाउने आग्रह गरे । तर, कसैबाट त्यो सम्भव नभएपछि त्यहाँ कसैले मेरो नाम उच्चारण गरेछन् ।

Resham-Birahiरामजानकी मन्दिरबाट करिब पाँच सय मिटर टाढा रहेको मेरो झुपडीमा उनका दुईजना अनुचरहरू आए । रातको समय योगी नरहरिनाथले भेट्न चाहेको खबर सुनेपछि उनीप्रति खासै गहिरो अभिरुचि नभए पनि गज्कन्दास नबँनु भन्ने विचारले म उनीहरूको पछि लागेँ ।

मैले उनको संस्कृत भाषाको लिखत पढेर सुनाएपछि उनी अत्यन्त खुसी भए । पुरानो पढाइ र संस्कृत भाषाको सम्मान पाएर उनले मलाई नेपालको शिक्षा पद्धतिका बारेमा पनि केही जानकारी दिए । 'अहिलेको शिक्षा सूत्र शिक्षा हो, परजीवी बनाउने शिक्षा हो । तपाईंले पढेको शिक्षा आफूलाई आत्मनिर्भर बनाउने र नैतिक आचरणमा राख्ने शिक्षा हो,' यसका अतिरिक्त उनले मेरा बारेमा थुप्रै बखान गरे । उनको र मेरो अलिकति हिमचिम बढ्यो।

योगी नरहरिनाथका बारेमा अन्नपूर्ण पोस्ट्को शनिबारीय परिशिष्टांक 'फुर्सद'ले विशेष सामग्रीको प्याकेज प्रकाशन गरेको देखेपछि स्वाभाविक रूपमा मेरो रुचि बढ्यो । सर्सती पढेपछि योगीका बारेमा आउनुपर्ने कतिपय व्यावहारिक कुराहरू छुटेको अनुभव भयो । हुन त उनीजस्ता प्रकाण्ड व्यक्तित्वका बारेमा सबै कुरा एउटा पत्रिकाको सामान्य परिशिष्टमा अटाउन सम्भव होइन तथापि उनको व्यक्तित्वका अनेका पाटाहरूको संक्षेपमा शाब्दिक स्केच भने गर्न सकिन्थ्यो ।

नरहरिनाथ एक सिद्ध योगी, विचारक, इतिहासविद्, अनुसन्धातामात्र थिएनन् 'फुर्सद'को प्याकेजमा सौरभको राज्यले उनीमाथि गरेका तीन अपराध, योगीले प्रकाशनमा ल्याएका तीन ग्रन्थको सूचनात्मक टिपोट मात्रले पनि उनीबारे धेरै कुरा थाहा हुन्छ । अरू सबै लेख इतिहास, पुरातत्व, हिन्दुवाद र संस्कृत भाषाप्रति उनले पुर्‍याएको योगदानको ऐतिहासिक विवरणमा मात्र केन्द्रित छ ।

योगी नरहरिनाथ यतिमात्र थिएनन् ।

हठयोगद्वारा सिद्धिप्राप्त गरेका बलवीरसिंह थापाले आफूलाई योगी नरहरिनाथ बनाउन स्वयम् आफूलाई हठ, विवाद र अध्ययन-अनुसन्धानको तपस्यामा होमेका थिए । उनको अध्ययनको क्यानभासमा मानिसको जीवन, प्रकृति र अध्यात्मको गहिरो चित्ररेखाहरू पनि थिए ।

अब मैले माथि चपरगौढीमा भेटेको प्रसंगमा कुरामा जोडौं ।

उनको र मेरोबीचमा छाताको प्रसंग र जेलयात्रालगायतका कुराकानी भए । यही सन्दर्भमा उनले मलाई पत्रकार भए पनि प्रकाशनमा नल्याउने सर्तमा भनेका थिए, 'राजतन्त्र यस्तो लाचार छाया भएर बस्नुभन्दा गणतन्त्र हुनु राम्रो । यो पद्धति मलाई मन नपरेर के गर्नु ? अब म राजा, व्यवस्था र राजनीतिका बारेमा सार्वजानिक रूपमा बोल्दिनँ । मेरो आफ्नो धर्म छ, कर्म छ त्यही बाटो हिडँ्छु-जहाँ पुग्छु । तपार्इंले पनि मेरा यी कुरा मनैभित्र राख्नु होला ।'

तीन दिनमा गोरखाबाट जुम्ला पुग्ने हठयोगको खेचरीमुद्रा साधित योगी नरहरिनाथ वास्तवमा अत्यत्न हठी र दुस्साहसी थिए । दुनियाँमा असम्भव केही छैन भन्ने मान्यता राख्ने योगी नरहरिनाथ कठिनभन्दा कठिन काममा स्वयम् अग्रसर हुन्थे ।

त्यतिबेला नजिकै एउटा डेक्चीमा पानी उम्लिँदै थियो । उनले त्यहाँ उपस्थित कसैलाई खयरको बोक्रा ल्याउने आदेश दिए । एक किलो जति खयरका बोक्रा उम्लिँदै गरेको पानीमा हालेर खट्खटी पकाए । त्यसमा थोरै वीरे नुन र अलिकति गाईको शुद्ध घिउ मिसाएर चिया बनाए । सबैले खयरको बोक्राको चिया स्वाद मानी-मानी खाए । 'आहा, कस्तो स्वादिलो' मेरो मुखबाट निस्कियो । 'तपाईं यो खयरको जंगल नजिक बस्नुहुन्छ । नियमित रूपमा यो खयरको चिया यसैगरी खानुस्, तपाईंलाई सर्दी, जुकामात्र होइन पेटसम्बन्धी कुनै रोग लाग्ने छैन,' उनले भने ।

सम्भवत, उनले जीवनमा कुनै पनि मेडिसिन प्रयोग गरेनन् । उनलाई प्राकृतिक जडीबुटीलाई कुन रोगमा कसरी प्रयोग गर्ने भन्ने यावत् ज्ञान थियो । सारमा उनी चिकित्सा क्षेत्रका ज्ञाता थिए । उनको बौद्धिक क्षमता, ज्ञान र सिद्धिका विषयमा गहिरो व्याख्या गर्ने मेरो अभिप्राय होइन र मबाट यो सम्भव पनि छैन । यो उनीसँग भएको केही घटना, उनले गरेका काम र विवादमा आएका केही विषयको स्मृतिलेखन मात्र हो ।

उनले जसरी हठयोगद्वारा सिद्धि प्राप्त गरे त्यसरी नै चितवनमा उनले एउटा ठूलो विजय प्राप्त गरे । नारायणगढ आँपटारीबाट देवघाटधाम जाने बाटोमा पर्ने बागेश्वरीमा एकजना भारतीयले केही बिघा जंगल नेपाल सरकारसँग भाडामा लिएर मेडिकल कलेज स्थापना गरे । देवघाट क्षेत्रभित्र पर्ने बागेश्वरी नामको धार्मिकस्थलमा राज्यले भारतीयलाई मेडिकल कलेज खोल्न दिनु घोर आपत्तिजनक विषय थियो, जहाँ योगी नरहरिनाथले एक विशाल गौशाला र आयुर्वेद चिकित्सालय स्थापना गर्ने पहल गरिसकेका थिए । स्थानीय नागरिक र योगी नरहरिनाथको संयुक्त पहलमा विरोधका कार्यक्रम भए । अदालतमा मुद्दा पर्‍यो । मेडिकल कलेज पनि बन्यो । गौशाला पनि बन्यो । विरोधको आवाज दबाउन ठूलै धनराशिको चलखेल चलिरह्यो । सयौंले आर्थिक लाभ गरे । राजनीतिक दलका कतिपय नेताहरू पनि विरोध गर्दागर्दै पनि चुपचाप भए । अन्त्यमा अदालतले मेडिकल कलेजको विपक्षमा फैसला गर्‍यो ।

नारायणी नदीमा धेरै पानी बगेर गयो । योगीको कदमको पछाडि सयौं मानिस लागे तर नारायणीको पानीझैं बगेर सकिए । तर, उनी हतास भएनन्, लडिरहे । योगी एक प्रकारले सन्त पनि थिए । जसलाई पनि विश्वास गर्थे र आफ्नो सहयोगीको रूपमा लिन्थे तर कालान्तरमा त्यो सहयोगी पर्दा पछाडिबाट फाइदा बोकेर कुलेलम ठोक्थ्यो । यस्तै दुईचार चरित्रहरू म स्वयम्ले देखेको छु । बागेश्वरीमा स्थापित मेडिकल कलेजको विरोधमा योगीलाई साथ दिइरहेको एक व्यक्तिलाई मैले चपरगौढीमा पनि भेटेँ, जो साँझ चपरगौढीको भट्टीमा मदिराले मातेर होटेलमा सुत्थ्यो र बिहान पहेँलो वस्त्र लगाएर रामजानकी मन्दिरमा योगीलाई दर्शन गर्न पुग्थ्यो ।

कालान्तरमा त्यही व्यक्तिले एउटी नारायणगढकी तरकारी बेच्ने युवतीलाई गर्भवती बनाएर अलपत्र छाड्यो । यो सन्दर्भ मैले 'देब्रे आँखा' निबन्धसंग्रहको 'चपरगौढी डायरी'मा पनि उल्लेख गरेको छु ।उनी राजनीतिक दृष्टिले पनि विश्व राजनीतिको ज्ञाता थिए । बेलाबखत उनमा राजनीतिक अस्थिरताले घाँटी खस्खस्याउँथ्यो र प्याक्क केही बोलिदिन्थे । राजनीतिक अभिव्यक्तिले पटकपटक विवादमा आइरहेका कारण पछिल्ला दिनमा उनी प्रेसवाट टाढा रहन थाले ।

यो पत्रकारिताको कर्म पनि कहिलेकाहीँ पाप-कर्म जस्तो लाग्छ । कसैबाट केही विवादास्पद कुरा छँदाएर न्युज-ब्रेकको आनन्द लिने कर्ममा म पनि एकपटक उद्यत् भएँ । योगी नरहरिनाथ एकपटक बागेश्वरी मन्दिर नेपालगन्जमा बसेको थाहा भयो । केही पत्रकार साथीहरूले कुराकानी गर्ने प्रयास गरे तर सकेनन् । उनी पत्रकारका अगाडि आउनै नचाहेको कुरा मैले पनि थाहा पाएँ । भोलिपल्ट साँझपख एकजना पत्रकार साथीको आग्रहमा म उनलाई भेट्न पुगेँ । उनले राजनीतिक कुरा नगर्ने सर्त राखे । त्यसैमा टेकेर हामीले धार्मिक कुराकानीमात्र सोध्यौं ।

उनले उत्साहित हुँदै ठाउँठाउँमा कोटीहोम, महिलालाई गायत्री मन्त्र र जनैधारण गराएको कुरा गरे । विदेशतिर पनि हिन्दु धर्मको प्रचार, मन्दिर स्थापना आदि उनले गरेका कामको प्रशंसा गर्दै मैले शालीनतापूर्वक सोधेँ, 'गुरु तपाईंले देशविदेशमा हिन्दु धर्म, संस्कृत भाषा, प्राकृतिक चिकित्सा आदिमा यति ठूलो योगदान दिइरहनुभएको छ तर यो सरकार भने तपाईंको कुनै मूल्यांकन गर्दैन, किन ? ' उनी एकाएक आवेगमा आए, राजनीतिक कुरा नगर्ने पूर्वसर्त बिर्सिएर जंगिँदै भने 'हो, यो सरकार, यो बहुदलीय व्यवस्था र राजा ठीक छैन । यो व्यवस्था तत्काल हटाउनुपर्छ ।'

हाम्रो मक्सद पूरा भयो । यसरी मैले उनलाई सुर्‍याउँदै राजनीतिक विवादको मोहरीमा होमिदिएँ । अर्को दिन सञ्चारमाध्यममा उनको अभिव्यक्ति छरिएपछि भने मलाई अलिकति आत्मग्लानी पनि भयो ।उनी कहिलेकाहीँ भावावेशी थिए । रिसाए भने दुर्वाशा पनि हुन्थे । कुनै लोभ, स्वार्थ, आफ्नो-अर्को नभएको निष्कपटक प्राणी संसारमा दुर्लभै पाइएला । नेपालको माटोमा जन्मिएको त्यो कालिकोटे थापा कालान्तरमा हठयोगबाट सिद्धि प्राप्त गरी नेपालमा एक प्रकारको दोस्रो बुद्ध जन्मिएको थियो । उनका विचारसँग सबै सहमत हुनुपर्छ भन्ने छैन । म स्वयम् उनको विचार र हिन्दुवादसँग सहमत हुने मनुवा थिइनँ । तर, यी भित्र निहित अपार ज्ञान, खोज र खजनाले म अभिभूत हुनु पनि अस्वाभाविक थिएन ।

एउटा फकिर जो कहिल्यै एक ठाउँमा बसेन । ज्ञानका भण्डारहरू खोतल्दै खोतल्दै हिँड्यो, के के पायो थाहा छैन तर हामीले उसको ज्ञानबाट धेरै पाएका छौं, कतिपय गुमायौं । जतिसुकै भावावेशमा आए पनि यी उनका अल्प दुर्गुणहरू थिए । उनी इतिहास, संस्कृत, आयुर्वेद आदिमा प्रकाण्ड थिए । सँगै कूटनीतिक विषयमा पनि उनको दक्षता मनन्योग्य थियो । उनका बौद्धिक तर्कमा कूटनीतिक भाषा हुन्थ्यो । पटक-पटक भारत प्रवासमा रहँदा पनि उनले आफ्नो कूटनीतिक क्षमता प्रस्तुत गरेका कैयौं उदाहरण छन् । उनलाई भारतमै ठूलो मानसम्मान र खाातिरदारीका साथ हजारौं अनुचरसँग विलासी योगीका रूपमा बस्ने प्रस्ताव पनि नआएको होइन । कतिपय सवालमा चरम यातना पनि पाएका छन् उनले । उनले मानसम्मान र यातना दुवैलाई ठूलै कूटनैतिक यत्नबाट नजरअन्दाज गरे र आफ्नै माटोमा फर्किए ।

उनको साधनायुक्त व्यक्तित्वको थुप्रै पाटामध्ये एउटा वाङ्मय पनि हो । उनी कला र साहित्यको पनि गहन पारखी थिए । खासगरी संस्कृत साहित्यमा उनको थुप्रै कृति पनि छन् । कवि- लेखकलाई सम्मानपूर्वक सम्बोधन र व्यवहार गरेको मैले धेरैपटक अनुभव गरेको छु । सरल र सुबोध्य संस्कृत भाषामा उनले रचना गरेका अधिकांश कवितामा प्रकृति प्राकृतिक सम्पदा र जडीबुटीहरूको महिमा पाइन्छ ।

आजभन्दा करिब ३० वर्ष अगाडिको कुरा हो । योगी नरहरिनाथले वाल्मीकि जयन्तीको अवसरमा राष्ट्रव्यापी कविगोष्ठीको आयोजना गरे । हाल नवलपरासीको त्रिवेणीधाममा लाग्ने मेलाको अवसर पारेर आयोजित बृहत् राष्ट्रव्यापी कविगोष्ठीमा देशभरिबाट दर्जनौं कवि आमन्त्रित थिए । चितवनबाट म र कवि अनिल सिग्देल आमन्त्रित थियौं । राजधानीबाट केदारमान व्यथित, सिद्धिचरण श्रेष्ठ, ईश्वरवल्लभ मोहन कोइराला, कमलराज रेग्मी आदि त्रिवेणीधामको कविगोष्ठीमा पुगेका थियौं ।

माघेऔंसी जसलाई संस्कृत साहित्यका आदिकवि वाल्मीकि जयन्तीको रूपमा पनि मनाइन्छ । त्यसै दिनमा त्रिवेणीधाम र नारायणी पारि चितवन जिल्लामा पर्ने वाल्मीकि आ श्रममा पनि ठूलो मेला लाग्ने गर्छ । माघ महिनाको कठोर जाडो । त्यसमाथि अझ अघिल्लो दिनदेखि नै पानी परिरहेको थियो । बर्दघाटदेखि त्रिवेणीसम्म पुग्ने त्यतिबेलाको कच्ची सडक, रातो र चिप्लो माटो । पानी परेपछि झन् हिँड्नै मुस्किल पर्ने सडकमा काठमाडौंबाट एउटा मिनीबस लिएर आएका केदारमान व्यथितसहितका साहित्यकार सवार बस बाटोमै फस्यो । पञ्चायतलकाल, एकपटक गृहमन्त्री भइसकेका व्यथित र मन्त्री भएका कमलराज रेग्मीका कारणले तत्कालीन अञ्चलाधीशको आदेशमा प्रहरी तैनाथ भयो । फसेका गाडी उतारेर राति १० बजे कविहरू हिलाम्य भएर त्रिवेणीधामको योगीले व्यवस्थापन गरेको आ श्रममा पुगे ।

स्वयम् पनि हिलोमा गड्दै कविहरूलाई स्वागत गर्न पुगेका योगी नरहरिनाथको अगाडि नै कवि ईश्वर वल्लभले केदारमान व्यथितसँग प्वाक्कै भने, 'कविज्यू, हामीले थाकेर चुर भयौं, रक्सीको व्यवस्था गर्न लगाउनुपर्‍यो ।' योगी अवाक् भएर भुनभुनाउँदै हिँडे । जबकि त्रिवेणीधाम आसपास झन्डै एक किलोमिटरको परिधिलाई मदिरा र मांस निषेधित क्षेत्र घोषणा गरिएको थियो । योगी नहरिनाथको मुखमुद्रामा दुर्वाशा चढ्यो । केदारमान व्यथितको अनुहारमा भने गृहमन्त्रीको रवाफको चमक देखापर्‍यो । उनले तत्काल त्यहाँ उपस्थित सहअञ्चलाधीशलाई तुरुन्त रक्सीको व्यवस्था गर्न आदेश दिँदै भने, 'उनैले बोलाएका पाहुना हामी, रिसाएछन् भने के गर्न सकिन्छ र? '

केदारमान व्यथितको लागि एउटा खाट व्यवस्था गरिएको थियो । अरू सबैलाई भुँइमा लस्करै बिच्छ्यौना लगाइएको थियो । केदारमानलाई 'ई ग्य्रान्ड ह्विस्की' र अरूलाई दुधियाको बोतल आयो । कविहरू खाइपिइ गरेर मस्तसँग सुते । भोलिपल्ट बिहान मैयादेवी श्रेष्ठले भनिन्, 'आज योगीजी रातभरि नै सुत्न सक्नुभएन।'

भोलिपल्ट बिहानै नारायणीपारि वाल्मीकि आ श्रममा भव्य कविगोष्ठी आरम्भ भयो । तर, योगी नरहरिनाथ भने उपस्थित भएनन् । उनको मुखमुद्रा उदास थियो । वाल्मीकि आ श्रमका विभिन्न पुरातात्विक वस्तुहरूमा अल्मलिइरहे । उनलाई कविगोष्ठी आयोजना गर्नुको खास महत्व सकिएको र कविहरूले आफ्नो आदर्शविपरीत खुलेआम आचरण गरेकोमा अत्यन्त क्षुब्ध भएको कुरा काव्य गोष्ठी परिसरमा चर्चाको विषय बन्यो ।

तीन दिनमा गोरखाबाट जुम्ला पुग्ने हठयोगको खेचरीमुद्रा साधित योगी नरहरिनाथ वास्तवमा अत्यत्न हठी र दुस्साहसी पनि थिए । दुनियाँमा असम्भव केही छैन भन्ने मान्यता राख्ने योगी नरहरिनाथ कठिनभन्दा कठिन काममा स्यवम् अग्रसर हुन्थे । कवि गोष्ठी सकिएपछि राजधानीका कविहरू आफ्नो बस लिएर प्रहरीको सहयोगमा काठमाडौंतर्फ हिँडे । मलगायत योगी, मैयाँदेवी श्रेष्ठ र अन्य केही कसैको एउटा सानो जिपमा हिँडे । तर, जिपबीच बाटोको हिलोमा फस्यो । हामी चारपाँचजनाबाट जिप उतार्न सक्ने अवस्था थिएन । तर, योगी कराउँदै भन्थे- यो उत्रन्छ र हामी नै उतार्न सक्छौं, कसैको गुहार आवश्यक छैन । अघिल्लै दिनदेखि अञ्चलाधीश, प्रहरी र कविहरूदेखि रुष्ट भएका योगीले प्रहरीको सहयोग लिन चाहेनन् । आफैं हिलोमा गाडिएर जिप नै उचाल्न तम्सिए । करिब दुई घण्टाको प्रयत्नपछि साँच्चै नै जिप हिलोबाट उत्रियो । यो घटना सम्झँदा उनी दिन दिनमा गोरखाबाट जुम्ला पुगेको कुरा अविश्वासिलो लाग्दैन ।

योगी नरहरिनाथको अर्को महत्वपूर्ण पाटो अध्ययनको गतिशीलता पनि हो । उनी प्राप्त भएसम्म हरेक पुस्तकहरू पढ्थे । पत्रपत्रिकामा आउने हरेक टिप्पणी र सूचनाहरू त उनको अभिलेखालयमा सुरक्षित रहन्थ्यो । आफूले पढेको कुनै लेखको लेखकको नाम उनलाई सधैं कण्ठ रहन्थ्यो ।

योगी नरहरिनाथ आध्यात्मिक चिन्तक भए पनि उनको चिन्तन-प्रणाली वैज्ञानिक ढाँचाको हुन्थ्यो । प्रकृतिको दोहन र पर्यावरण विनाशप्रति पनि उनी सचेत थिए । पृथ्वी, जल, अग्नि, वायु र प्राकृतिक सम्पदालगायत जीवजन्तुको संरक्षण, संवद्र्धनका विषयमा पनि आममानिसका बीचमा उनी प्रवचन दिइरहन्थे ।

नेपालको राजनीतिलगायत हरेक क्षेत्रमा विदेशी घूसपैठ र उपयोग भइरहेको सन्दर्भमा योगी नरहरिनाथमात्र एक नेपाली इतिहासको श्वेतशार्दूल थिए । हिन्दु दर्शनको आडमा राजाको महत्व र महिमागान गरे पनि उनी जनप्रिय राजा चाहन्थे । पञ्चायतकालमा नै राजको कमजोर भूमिकाको आलोचक रहेका योगी पञ्चायतबाटै पनि सताइए र राजाबाट पनि सताइए । सत्ताको अकर्मण्य भूमिकाबाट आक्रोशित भएर मात्र उनका अभिव्यक्ति विवादास्पद भएका हुन् । उनलाई विवादमा ल्याउने काम कतिपय पटक सत्ता स्वयम्ले गर्‍यो भने कतिपय पटक सञ्चारमाध्यमहरूले पनि गरे ।

उनमा सत्ता, मानमर्यादा वा आर्थिक कुनै पनि लोभलालच थिएन । राजनीतिक पद्धतिसँग पनि उनको खासै चासो थिएन । उनको सिधै सरोकारको विषय भनेको व्यक्ति र समाज थियो । हिन्दु दर्शनमा आधारित बैद्धिक सनातन आचारणयुक्त समतामूलक समाज निर्माण नै उनको ध्येय थियो । नेपालको राष्ट्रिय गौरव, अस्तित्व र इतिहासको अक्षुष्णतामा मात्र उनको सामाजिक भूमिका थियो ।

एउटा त्यागी र निस्वार्थ भावनाले ओतप्रोत योगी नरहरिनाथलाई जतिसुकै विवादास्पद बनाउन खोजिए पनि उनी विवादास्पद व्यक्तित्व थिएनन् । योगी नरहरिनाथ नेपाली समाजमा चिरकाल पर्यन्त बाँचिरहने दोस्रो बुद्ध अर्थात् श्वेतशार्दूल नै हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.