‘कांग्रेस बुढो भइसक्यो, समय एमालेको
इटहरी: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पुरातनवादी पार्टी भएको आरोप लगाउनुभएको छ ।
सुनसरीको इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता ओलीले कांग्रेस अझै पनि पुरानै सोच र विचारबाट ग्रसित रहेकाले अब एमालेको विकल्प नरहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, कांग्रेस बुढो र विचारहीन भइसक्यो । उसले आजका कुरा गर्न सक्दैन, हिजोका कुरा गर्छ, अगाडीका होइन, पछाडीका कुरा गर्छ, त्यसैले अब समय नेकपा एमालेको हो ।'
आफुले नेपालमा रेलको विकासको कुरा गर्दा कांग्रेसले खिल्ली उडाएको प्रसंग निकाल्दै अध्यक्ष ओलीले यति बेला कांग्रेसले पार्टीको घोषणा पत्रको कभरमा रेलको फोटो राखेर एमालेको नीतिलाई स्वीकार गरेको टिप्पणि गर्नुभयो । पूर्व पश्चिम रेलको कुरा गर्दा वालुवाटार अघि खेलौना रेल ल्याएर काँग्रेसले तमासा गरेको बताउँदै भन्नुभयो, ‘अहिले त अफ्ठ्यारो मानि मानि चुनावको घोषणापत्रको अघिल्लो पेजमा रेल छापेछ ।'
नेता ओलीले काँग्रेसको विदेश नीतिको समेत आलोचना गर्नुभयो । काँग्रेसले सबै देशसँग सन्तुलित सम्बन्ध राख्ने भनेपनि एक देशसँग मात्र निर्भर हुन खोजेको वहाँको आरोप थियो । ‘तर हामी दुवै छिमेकीसँग हामी सन्तुलित सम्बन्ध राख्छौं,' वहाँले भन्नुभयो, ‘त्यसैले हामीले केरुङ, किमांथाकालाई नेपालसँग जोड्ने योजना बनायौं ।' वहाँले सानो भनेर नहेप्न समेत छिमेकी देशहरुलाई चेतावनी दिनुभयो ।
थारु, मधेस, मुस्लिम, अल्पसंख्यकको सम्बन्धमा एमालेलाई लिएर भ्रम फिजाइएको उहाँको गुनासो थियो । ‘हुलाकी राजमार्ग आफै बनाउन ठेक्का लगाईदिएको एमाले मधेस विरोधी भयो ? २० हजार घर बनाएर दिने भन्दा एमाले मधेस विरोधी भयो ? १० वटा आधुनिक शहर बनाउँछु भन्दा एमाले मधेस विरोधी भयो ?' उहाँको प्रश्न थियो ।
आफ्नै प्रधानमन्त्रीत्व कालमा जोगबनी–किमाथांका सडक विस्तारको योजना बनाएको सुनाउँदै उहाँ सो सडक बनेपछि धरान र इटहरीको विकास हुने दावी गर्नुभयो । स्थानीय तहको चुनाव नजिकिदै गर्दा केपी ओली केही दिनयता प्रदेश १ का जिल्लाहरुको भ्रमणमा हुनुहुन्छ । उहाँले शनिबार मात्रै मोरंगको बेलबारीको सभालाईसमेत सम्बोधन गर्नुभएको थियो । शनिबार नै इटहरीपछि विराटनगरको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।