अब सबैतिर क्यासलेस कारोबार

अब सबैतिर क्यासलेस कारोबार

काठमाडौं : राष्ट्र बैंकले गत मंगलबार एकै पटक तीनवटा कम्पनी इसेवा फोन पेमेन्ट प्रालि, आईएमई डिजिटल सोलुसन प्रालि र प्रभु टेक्नोलोजी प्रालिलाई भुक्तानी सेवा प्रदायकको रूपमा पेमेन्ट गेटवेका लागि अनुमति दिएको छ । बैंकले भुक्तानी तथा फस्र्योट विनियमावली २०७२ को विनियम १९ मा आधारित रहेर दूरसञ्चार सञ्जालको माध्यमबाट डिजिटल वालेटका लागि भुक्तानी तथा फर्स्योट अनुमति नीति २०७३ बमोजिम लाइसेन्स प्रदान गरेको हो । योसँगै नेपाली बैंकिङ क्षेत्रमा नयाँ प्रविधि भित्रिएको छ । क्यालेस कारोबारले वैधानिकता पाएसँगै वैधानिक रूपमा मोबाइलबाटै आर्थिक कारोबार गर्न सकिने भएको छ । सरकारको यो कदमले नेपालमा क्यासलेस सिस्टमलाई अघि बढाउन बाटो खोलिदिएको सेवा प्रदायक कम्पनीको विश्वास छ ।

लामो समयदेखि अध्ययनको क्रममा रहेको यो प्रक्रिया अघि बढेसँगै अब नेपालमा क्यासलेस कारोबार सम्भव हुने देखिएको हो । बैंक तथा वित्तीय संस्था नियमन विभागले योभन्दा अघि पनि २८ वटा वाणिज्य बैंकलाई भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणालीको रूपमा अनुमति प्रदान गरिसकेको छ । यी भुक्तानी सेवा प्रदायक (सिधै ग्राहकमा सेवा दिने) र भुक्तानी प्रणाली (बैंकमा सेवा दिने) दुवै लाइसेन्स पाएको वाणिज्य बैंकले अहिले अनलाइन कारोबार, डेबिट क्रेडिट कार्ड जारी गर्ने काममात्रै गर्दै आएका छन् ।

तर, भुक्तानी प्रणाली विभागमार्फत लाइसेन्स पाएका ती नयाँ प्राइभेट संस्थाले मोबाइल पेमेन्ट सिस्टमलाई विस्तार गर्नेछन् । जसबाट मोबाइल रिचार्ज, टपअप, बिजुली, खानेपानीको बिल भुक्तानी, एयरलाइन्स, बस टिकट, मुभी टिकट खरिदजस्ता विभिन्न सुविधा लिन सकिनेछ । यतिमात्र नभएर हातमा पैसा बोकेर हिड्नपर्ने बाध्यताको अन्त्य हुने आईएमई डिजिटल सोलुसन प्रालिका निर्देशक सुमन पोखे्रलको भनाइ छ । उहाँका अनुसार आईएमई डिजिटल सोलुसन प्रालिले चाँडै नै यो सेवालाई ग्राहकमाझ ल्याउने जनाएको छ । यसमा सम्पूर्ण काम सकेर परीक्षणका लागि यो एप्स स्टोरमा राखिएको उहाँले बताउनुभयो ।

पेमेन्ट गेटवे सिस्टमबाट सामान खरिद गर्ने, स्कुल कलेजको फी तिर्ने तथा अन्य विभिन्न बिल भुक्तानीलगायत सुविधा पाउन सकिन्छ ।

नेपालमा मोबाइल पेमेन्टको रूपमा सात वर्षदेखि इसेवा फोन पेमेन्ट प्रालिले कारोबार गर्दै आएको थियो । तर, कुनै नियमन निकाय नभएकाले यसले वैधानिकता पाउन सकेको थिएन । इसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीका अनुसार अनुमति प्राप्त गरेसँगै मोबाइल कारोबार अझ व्यवस्थित र मर्यादित हुनेछ । यसले क्यासलेस ट्रान्जेक्सनको आवश्यकतालाई सहजीकरण गर्ने उहाँको विश्वास छ ।

साथै सबै सम्भव हुने हो भने ग्राहकले अब तरकारी किन्नेदेखि विद्युत्, खानेपानीलगायत बिल भुक्तानी मोबाइलबाटै गर्न सकिने अली बताउनुहुन्छ । उहाँका अनुसार यो कारोबार सुरक्षित हुनुका साथै प्रभावकारी पनि हुनेछ । योसँगै सरकारले क्यासलेस कारोबारका लागि बाटो खोलिदिएको उहाँले बताउनुभयो । मोबाइलबाटै सबै कुराको पेमेन्ट हुने भएकाले यसबाट नेपालमा पनि थप सरल बैंकिङ सेवा सुरु हुनेछ । तर, यसलाई कार्यान्वयनमा ल्याउन भने केही समय लाग्ने उहाँको भनाइ छ ।

प्रभु टेक्नोलोजी प्रालिका अध्यक्ष बेबीप्रसाद भट्टचनका अनुसार यो सरकारले बैंकिङ क्षेत्रमा गरेको नयाँ काम नभए पनि प्राइभेट क्षेत्रमा दिएको अनुमति भने उदाहरणीय हो । यसले खल्तीमा पैसा पनि बोक्ने कार्ड पनि बोक्ने प्रचलनलाई प्रविधिले अन्त्य गर्ने उहाँको विश्वास छ । अहिले एटीएममा गएर पैसा निकाल्ने अनि पसलमा गएर त्यही पैसाले रिचार्ज कार्ड किन्ने अवस्था छ । तर, मोबाइल पेमेन्ट सिस्टमले डिजिटल फाइनान्सको सरल एवं सहज व्यवस्था भित्र्याउने उहाँ बताउनुहुन्छ । अब मोबाइलमा पैसा हालेर सबै काम गर्न सकिनेछ । यसबाट सामान खरिद गर्ने, स्कुल कलेजको शुल्क तिर्ने तथा अन्य विभिन्न बिल तिर्नेलगायत सुविधा पाउन सकिनेछ । प्रभु टेक्नोलोजी प्रालिले पनि केही महिनामै ग्राहकमाझ आफ्नो सेवा विस्तार गर्ने जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.