लुम्बिनीका तीन सय ४६ मतदानस्थल अति संवेदनशील
पोखरा : आउँदो १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रदेश नम्बर ५ मा पर्ने लुम्बिनी अञ्चलका ६ जिल्लामा ३४६ मतदानस्थल अतिसंवेदनशील रहेको प्रहरीले जनाएको छ । पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराले नवलपरासी, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु र पाल्पामा मतदानस्थलको स्थिति र संवेदनशीलता पहिचान गरेको हो ।
६९ स्थानीय तह रहेको लुम्बिनीमा ९ सय १० मतदानस्थल छन् । १ उपमहानगर, २१ नगर र ३९ गाउँपालिकाका ती मतदानस्थलमा सुरक्षा संवेदनशीलता अनुसार चुनावका लागि प्रत्येकस्थलमा ७ देखि २३ सुरक्षाकर्मी परिचालित हुने जानकारी एसएसपी वसन्तबहादुर कुँवर दिनुभयो । उहाँका अनुसार संविधान संशोधनको मागसहित आन्दोलित राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ता स्वतन्त्र हैसियतमा उम्मेदवार बने पनि सुरक्षा चुनौती पूरै समाप्त भएको छ । राजपाकै असन्तुष्ट एवं कांग्रेस, एमाले र माओवादी केन्द्र लगायत प्रमुख पार्टीहरुको कडा प्रतिस्पर्धा पनि सुरक्षा चुनौती हुने विश्लेषणसहित प्रहरी चुनावमा खटिएको हो ।
निर्वाचन विरोधी गतिविधिमा संलग्न राजपाका ८६ जनालाई पक्राउ गरी १४ जनामाथि मुद्दा चलाइएको र ७२ जनालाई जमानीमा छाडिएको जानकारी पनि एसएसपी कुँवरले दिनुभयो । ‘विप्लव माओवादीका १५ जना पक्राउ गरिएको थियो’, उहाँले आइतबार पत्रकारहरुसँग भन्नुभयो, ‘१० जनालाई तारेखमा छाडिएको छ भने ३ जनालाई अनुसन्धानका लागि अदालतको अनुमति लिएर हिरासतमा राखिएको छ ।’ अरु २ जनालाई सोधपुछपछि छाडिएको पनि उहाँले बताउनुभयो ।
भारतसँग जोडिएका तराई मधेशका नाकाहरुमा पनि प्रहरीले कडाइ गरेको छ । कुकुरसमेत परिचालित गरी जाँच भइरहेको छ । ‘सबै प्रकारका सुरक्षा उपाय अपनाएका छौं’, कुँवरले भन्नुभयो, ‘निर्वाचन आयोगले पठाएका सबै समाग्रीको पनि सुरक्षा गरेका छौं ।’ सीमापारिबाट हुनसक्ने निर्वाचन विरोधी गतिविधि नियन्त्रणका लागि भारततर्फका समकक्षीहरुसँग प्रहरी उच्च अधिकारीले समन्वयसमेत गरेका छन् ।
प्रहरीका अनुसार लुम्बिनीमा ३४६ अतिसंवेदनशीलसहित ३९१ सामान्य, २४५ संवेदनशील मतदानस्थल पहिचान गरिएको छ । ‘संवेदनशीलताको आधारमा इन्स्पेक्टर, सब इन्स्पेक्टरसहितको कमान्डमा प्रहरी टोली खटाएको छ’, एसएसपी कुँवरले भन्नुभयो, ‘आवश्यकता अनुसार मोबाइल, रिजर्भ फोर्स तयार छ ।’
सुरक्षा उच्चअधिकारीले संवेदनशील मतदानस्थलमध्ये कतिपयको स्थलगत निरीक्षण र अनुगमन पनि गरेका छन् । कुँवरका अनुसार सबै मतदानस्थलमा प्रहरी टोली यसअघि नै पुगिसकेको थियो र आइतबार निर्वाचन सामग्रीहरु पनि पुगेको छ । ‘निर्वाचनपूर्व, निर्वाचनको समयमा र पछि गर्नुपर्ने सुरक्षा रणनीति सबै तय गरिएको प्रहरीको भनाइ छ । लुम्बिनीका ६ जिल्लामा २ हजार ९ सय २२ पदका लागि १३ हजार २ सय ४२ उम्मेदवार प्रतिस्पर्धामा छन् । नवलपरासीमा ४ उम्मेदवार भने निर्विरोध भइसके ।