बजेट ल्याउन पाएको भए बृद्धभत्ता दोब्बर बनाइदिन्थेँ : प्रधानमन्त्री
डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनपछि जनता नै शासक बन्ने बताउनुभएको छ । उहाँले स्थानीय तह अधिकार सम्पन्न निकाय भएकाले अब जनताले घरदैलोमा सरकारको अनुभूति गर्ने दाबी गर्नुभयो ।
स्थानीय तहको निर्वाचनको शिलशिलामा गृह जिल्ला डडेल्धुरा पुग्नुभएका प्रधानमन्त्री देउवाले आइतबार अमरगढी नगरपालिकाले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै अब अधिकारका लागि सिंहदरबार धाउने दिनको अन्त भएको बताउनुभयो । नेपाली कांग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले असन्तुष्ट दललाई सहमतिमा ल्याउन सरकारले २ नं प्रदेशको चुनाव सारेको स्पष्ट पार्नुभयो ।
‘चुनावमा सबैको सहभागिता सुनिश्चित होस् भन्ने सरकारको चाहना हो, त्यसका लागि हामीले केही समय पर सारेर भएपनि असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउन खोजेका छौं’, प्रधानमन्त्री देउवाले भन्नुभयो। चुनावको प्रचारप्रसारका क्रममा एमालेले झुटको खेती रहेको भन्दै देउवाले बृद्धभत्ताका नाममा एमालेले जनतालाई भ्रम फैलाइरहेको आरोप लगाउनुभयो ।
देउवाले भन्नुभयो, ‘यसपटक मैले आचारसंहिताका कारण बजेट ल्याउन पाएन, नत्र बृद्धभत्ता दोब्बर बनाइदिन्थेँ।’ देउवापत्नी सांसद आरजु राणा देउवाले महिलाको अधिकार र हितमा आफूले आजसम्मको काम गरिरहेको उल्लेख गर्दै सुदूरपश्चिमको विकासका लागि आगामी दिनमा पनि सक्रिय रहने बताउनुभयो।