ठूला दलको घमण्डले देश संकटमा : कमल थापा
बैतडी : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले ठूला राजनीतिक दलका कारण लामो समयसम्म स्थानीय तहको निर्वाचन नभएको आरोप लगाउनुभएको छ। राप्रपाले आइतबार बैतडीको गोठलापानीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले ठूला दलको घमण्डले देशमा समस्या आएको दाबी गर्नुभयो। थापाले भन्नुभयो, ‘ठूला दलहरुको घमण्ड अहिले पनि देशले निकास पाउन सकेको छैन्। उनीहरुमा देशको समस्या समाधान गर्ने इच्छाशक्ति नै छैन्।’
अहिले देशलाई टुक्र्याउनका लागि मधेसमा एकशक्ति क्रियाशील रहेको भन्दै थापाले राष्ट्रिय अखण्डता, एकता र सार्वभौमिकता इतिहासकै कमजोर अवस्थामा पुगेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ‘अहिले देश इतिहासकै कूटनीतिक कमजोरीको अवस्थामा छ। यस्तो अवस्था देशले कहिले भोगेको थिएन। यो अवस्था ल्याउनुमा ठूला दल नै जिम्मेवार छन्।’
प्रजातन्त्र स्थापनाको ७ दशकमा पनि प्रजातन्त्रको संस्थागत विकास हुन नसकेको बताउँदै अध्यक्ष थापाले प्रजातन्त्रको फाइदा केही सीमिति व्यक्तिले लिएको बताउनुभयो। ‘ठूला दलका पनि केही सीमिति व्यक्तिले लोकतन्त्र प्रजातन्त्रको नाममा फाइदा उठाएका छन्। जनताका सामू प्रजातन्त्र अझै पुगेको छैन्’, उहाँले भन्नुभयो।