देउवाको गृहजिल्लामै
अमरगढी (डडेलधुरा) : पार्टीभित्र उम्मेदवारका लागि असन्तुष्टि चुलिइरहेका बेला कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्लाका लागि आफै टिकट बाँड्नुभएको थियो । त्यसले जिल्लाका नेता–कार्यकर्तामा भने असन्तुष्टि देखिएको छ । अन्ततः अहिले जिल्लाभरि स्वतन्त्रका नाममा 'बागी' उठेका कांग्रेसका उम्मेदवार देउवाका लागि भारी बनेका छन् ।
चुनावको मुखमा त्यही असन्तुष्टि साम्य पार्न भए पनि देउवा पाँच दिनअघि नै गृहजिल्ला आइपुग्नुभएको छ । तर, दिनहुँ उहाँलाई चुनावी सभामा सम्बोधन गर्नै भ्याइनभ्याइ छ । जिल्लाकै सदरमुकाम अमरगढीलगायत धेरै वडा र गाउँपालिकामा अहिले कांग्रेसका बागी उम्मेदवार आआफ्नै तरिकाले प्रचारप्रचारमा लागिरहेका छन् ।
कांग्रेस डडेल्धुराका अनुसार जिल्लाभरि करिब २० जना कांग्रेस कार्यकर्ताले बागी उम्मेदवारी दर्ता गराएका छन् । पार्टीभित्र उम्मेदवार छनोटमा चरम असन्तुष्टि देखिएसँगै निर्वाचनमा भाग लिन मनोनयन दर्तामा स्वतन्त्रका तर्फबाट उम्मेदवारी दिँदै कांग्रेसकै नेता बागी उम्मेदवारका रूपमा उठेका हुन् ।
जिल्लामा स्थानीय तहको प्रमुख, उपप्रमुखसहित सदस्य पदमा समेत बागी उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त मनोनयनअनुसार दुई नगरपालिका र दुईवटा गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी भन्दै उनीहरूले मनोनयन दर्ता गराएका थिए ।
कांग्रेस डडेल्धुराका क्रियाशील सदस्य नरभान पार्कीले अमरगढी नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गराई घरदैलोमा व्यस्त हुनुहुन्छ । त्यस्तै नगरपालिकाकै वडा नं १ बाट पुष्पराज जोशी, ३ मा वीरबहादुर ऐर, ४ मा तेजबहादुर बोहरा र गगन सिंह विष्ट, ६ मा बलराम भट्ट र ९ मा नरबहादुर पालले वडाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । वडा नं ७ बाट खुला सदस्यमा गणेश सिंह साँकीले समेत उम्मेदवारी दिनुभएको छ ।
भित्री मधेस क्षेत्रमा पर्ने परशुराम नगरपालिकामा नेविसंघ पूर्वसदस्य विजयकुमार बोहराले नगर प्रमुखमा उम्मेदवारी दिनुभएको छ । उपप्रमुखमा लालबहादुर दमाईको उम्मेदवारी छ । साथै नगरपालिकाकै वडा नं १० को अध्यक्षमा कांग्रेसका मीनबहादुर बोहराले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
अजयमेरु गाउँपालिकाबाट सातजनाले बागी उम्मेदवारी दिएका छन् । गाउँपालिका अध्यक्षका लागि त्रिभुवन विश्वविद्यालयका पूर्वस्ववियु सभापति लोकराज भट्टले उम्मेदवारी दिनुभएको छ । यस्तै गाउँपालिका उपाध्यक्षमा कृष्णबहादुर बिष्ट र शिवराज शाहले उम्मेदवारी दिनुभएको छ ।
जिल्लाकै सदरमुकाम अमरगढीलगायत धेरै वडा र गाउँपालिकामा अहिले कांग्रेसका बागी उम्मेदवार आआफ्नै तरिकाले प्रचारप्रचारमा लागिरहेका छन् ।
वडा नं १ बाट अध्यक्ष पदमा भुवन सिंह ताम्राकार र ५ बाट देवराज जोशीले उम्मेदवारी दर्ता गराउनुभएको छ । भागेश्वर गाउँपालिका ५ मा कांग्रेसका क्रियाशील सदस्य गोपाल नाथले वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । नवदुर्गा गाउँपालिका ४ मा कांग्रेसका क्रियाशील सदस्य टेकबहादुर साउदले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
जिल्लामा दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तह छन् । तीमध्ये तीनवटा गाउँपालिकाबाहेक सबैमा कांग्रेसबाट बागी उम्मेदवार छन् । लामो समयसम्म स्थानीय तहको चुनाव नहुनु र कांग्रेस ठूलो पार्टी भएकाले आकांक्षी बढी हुनु स्वाभाविक भएको कांगे्रस जिल्ला कार्य समिति सदस्य गोकुलबहादुर शाहीको भनाइ छ । उहाकाँ अनुसार उम्मेदवारले आफ्नो मनसाय व्यक्त गर्न पाउने अधिकार भएकाले यो प्रक्रिया गलत होइन ।
पार्टी सभापति देउवाकै गृहजिल्लामा देखिएको यस्तो अस्तव्यस्तताले पार्टीलाई घाटा पुर्याउने भन्दै धेरै नेता–कार्यकर्ताले बागीलाई सम्झाउने प्रयास पनि गरिरहेका छन् । जिल्ला कार्यसमितिले बागीहरूले पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग गर्ने सहमति भइसकेको बताएको छ । तर बागीहरू भने आफ्नै तरिकाले प्रचारप्रसारमा व्यस्त छन् । 'सबै बागीले उम्मेदवारी स्थगन गरेर पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग गर्ने सहमति भइसकेको छ', अमरगढी नगर सभापति दानसिंह पालले भन्नुभयो, 'अलिअलि असन्तुष्टि त देखिन्छ नै, यात्रो वर्षपछि चुनाव जो हुँदै छ ।'
नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महर पनि यस्तो तरिकाले पार्टीलाई असर पुग्ने बताउनुहुन्छ । 'त्यही असन्तुष्टि साम्य पार्न र जिल्लाका सबै स्थानीय तहमा कांग्रेसको इतिहास कायम राख्न अहिले पार्टी सभापति तथा प्रधानमन्त्री जिल्लामै हुनुहुन्छ', महरले भन्नुभयो, 'उहाँले पार्टीभित्रका सबै विवाद समाधान गरेर चुनावमा कांग्रेसको इतिहास फेरि कायम गरेर फर्किनुहुन्छ ।'
शनिबारदेखि नै देउवा गृहजिल्ला डडेल्धुरामा हुनुहुन्छ । असार १४ गते आफ्नै घरनजिकको असीग्राम उमाविमा रहेको मतदान केन्द्रमा भोट हाले उहाँ राजधानी फर्किने कार्यक्रम छ । साविकको असिग्राम गाविस अहिले गन्यापधुरा गाउँपालिका भएको छ । सोही गाउँपालिकाको १ मटेलामा उहाँको घर हो । त्यही वडाबाट अध्यक्षका लागि उहाँका काकाका छोरा विक्रमबहादुर देउवा माओवादी केन्द्रका तर्फबाट अध्यक्षको उम्मेदवार हुनुभएको छ ।