नेपाल-बंगलादेश मैत्रीपूर्ण खेल हुने
काठमाडौं : नेपालको यू-२३ र बंगलादेशको यू-२३ टोलीवीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । मैत्रीपूर्ण खेल यही असार २७ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । बंगलादेश टोलीविरुद्धको मैत्रीपूर्ण खेल एसियाली फुटबल महासंघ (एएफसी) यू-२३ छनोट खेलका लागि तयारीका रुपमा हेरिएको छ । एएफसी यू-२३ को छनोट चरणमा नेपाल आयोजक यूएई, उज्वेकिस्तान र लेबनानसँगै समूह डीमा रहेको छ ।
एएफसी यू-२३ को छनोट चरणको पहिलो खेल नेपालले आयोजक यूएईविरुद्ध असार ३१ मा खेल्नेछ । यस्तै साउन २ मा उज्वेकिस्तान र साउन ४ मा लेबनानसँग प्रतिस्पर्धा गर्नेछ । छनोट चरणका सबै खेल तहनुन बिन मोहमद स्टेडियम अलइन सिटीमा हुनेछ । यही प्रतियोगितालाई मध्यनजर गर्दै एन्फाले राजुकाजी शाक्यलाई गत असार १ गते प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।