फुल्कीमा रोजगार
बुटवल : हरेक सहर आफ्नै स्वाद र गन्ध बोकेर बसेको हुन्छ । हरेक सहरसँग आफ्नै परिकार हुन्छ । तपाईंले बुटवलको फुल्की खानुभएको छ ? फुल्की अर्थात् तेलमा फुराएको सानो खालको पुरीमा मटर र मसलाको झोल राखेर बन्ने परिकार । ‘पानीपुरी' पनि भन्न सक्नुहुन्छ तपाईं यसलाई, भारतीय सहरमा गोलगप्पी भन्ने गरिन्छ । तर, यो ‘फुल्की' अरू सहरमा बनाइने/बेचिने पानीपुरीभन्दा फरक छ ।
अन्यत्रको पानीपुरीमा चिसो अमिलो झोल राखिन्छ भने यहाँको फुल्की खान तपाईं सडक किनारका ठेलामा उभिनुपर्छ । प्लेटमा मटरबाट बनाइएको बाक्लो अमिलो-पिरो तातो झोल राखिएको फुल्की बाफ उडाउँदै आइपुग्छ । तातो-तातो अमिलो-पिरो झोल भएको फुल्की मुखमा परेपछि तपाईंले थाहा पाइहाल्नुहुन्छ यो पानीपुरीभन्दा कति फरक छ ।
फुल्की बुटवलसँग जोडिएको स्वाद हो । त्यत्तिकै लामो इतिहास छ यसको । कोट्याउँदै जाँदा यसले पुरानो बटौली बजारसँग जोड्छ । र, यो यहाँको एक इलम बनिसकेको छ । चोकमा ठेलामा राखेर गरिने बनाइने/बेचिने यो परिकारले यहाँ धेरै युवालाई रोजगारी दिएको छ । तीमध्ये एक हुन् - रामअवतार यादव । ‘पुरानो बटौली' भनेर चिनिने तिनाउ पश्चिमको बुटवल बजारका रामअवतार यादव फुल्की व्यापार उनको परिवारका तेस्रो पुस्ता हुन् । ५६ वर्षीय यादवले जस्तै उनका बुबा र बाजेले पनि फुल्की बेचेरै जीवन कटाएका थिए ।
आधुनिक बुटवल बजारको छायामा परेको पुरानो बटौली कुनै बेला व्यापारिक पहाड र मधेस जोड्ने व्यापारिक केन्द्र थियो । पहाडका उत्पादन जम्मा हुन्थ्यो र मधेस एवं भारतीय बजारका उत्पादन बोकाएर पहाड पठाउँथ्यो । त्यसमध्ये सबैभन्दा खपत हुने पहाडी उत्पादन थियो घ्यू । बटौली बजारमा पहाडबाट ल्याएको घ्यु ठूलो कराईमा तताउँदै गर्दा यादवका हजुरबुवा फुल्की बेचिरहन्थे । घ्यू बेच्न आउनेहरू फुल्की खाएर मात्र पहाड फर्किन्थे । उता घ्यू पकाएको वाफ उड्थ्यो, यता फुल्की पकाएको ।
‘त्यतिखेर फुल्की भन्ने त्यति धेरै चर्चा थिएन, यादव बाल्यकालको समय सम्झिँदै भन्छन्, ‘दैनिक दुई/चार रुपैयाँको फुल्की बिक्री हुन्थ्यो ।' हजुरबुबाले सुरु गरेको पेसा यादवका बुबाले पनि गरे । तिनाउमाथि पक्की पुल बनिसकेको थिएन । त्यतिबेलाको खस्यौली अहिलेको आधुनिक बुटवल बन्दै थियो । तिनाउमा पक्कीपुल बनिसकेको थिएन । फुल्कीको रस भने मानिसको जिब्रोमा टाँसिइसककेको थियो । अहिले माथिल्लो पुल भनिने पुलबाट भारत जाने-आउने लाहुरेहरू फुल्की खान वारि बजार आउने गरेको सम्झन्छन् यादव ।
बुटवलमा लगभग तीन सय जनाले रोजगार पाएको फुल्की व्यवसायमा दैनिक झन्डै १८ लाखको बिक्री हुने गरेको छ ।
खस्यौली गुलजार हुँदै थियो । कताकती थकालीका भट्टीबाहेक अरू पसल थिएनन् । यादव बुबासँग फुल्की बेच्न नेपालगञ्ज रोड र अहिले लुम्बिनी अञ्चल अस्पताल रहेको क्षेत्रमा बस्थे । ल्याएजतिको फुल्की बेचेपछि घर फर्किन्थे । यादवका बाजेले थालेको फुल्की व्यवसायले अहिले सयौं वर्षगाँठ मनाउँदै छ । अहिले उनीसँगै छोराहरू पनि व्यवसाय सघाउन आउँछन् । फुल्की पेसा त अब उनको परिचय नै बनिसकेको छ र बनेको छ आम्दानीको बलियो स्रोत पनि । ‘पैसा त कति कमाइयो कमाइयो, तर बचाउन सकिएन', उनी भन्छन् ।
छोराछोरी ठूला भएपछि बल्ल पैसाको महत्व बुझेको बताउँछन् यादव । फुल्की बेचेरै उनी पुल्चोक इन्जिनियरिङ कलेजमा एउटा छोरालाई पढाइरहेछन् । अरू दुई छोराछोरीलाई पनि बुटवलकै क्याम्पसमा पढाइरहेछन् जबकि यो नियमित उही र उस्तै आम्दानी हुने पेसा होइन । व्यापार न हो । कहिले बढी हुन्छ कहिले कम । ‘दैनिक यति नै बिक्री हुन्छ भन्ने छैन', यादव सुनाउँछन्, ‘जाडोमा दैनिक १० हजार पनि फाइदा हुन्छ ।' नास्तामा बुटवलको पानीपुरी चर्चित हो । यादव परिवार सम्भवतः पहिलो पटक बुटवलमा फुल्की भित्र्याउने व्यवसायी हुन् । धेरैको रोजाइमा पर्छ उनको फुल्की व्यवसाय । कुनैबेला २२ किलोमिटर परको भैरहवाबाट पनि उनको फुल्की खान ग्राहक आउने गरेको सम्झन्छन् उनी । ‘अहिले त्यति टाढाका नभए पनि नियमित आउने ग्राहक भने प्रशस्त छन्', यादव भन्छन् ।
फास्टफुट नास्तामा बुटवलको पानीपुरी चर्चित हो । बुटवलमा मात्रै झण्डै दुई सय व्यवसायीले फुल्की बेच्छन् । यादव परिवारको फुल्की धेरैको रोजाइमा पर्छ । २२ किलोमिटर दूरीमा रहेको भैरहवाबाट पनि उहाँको फुल्की खानकै लागि ग्राहक नियमित आउँथे । अहिले पनि नियमित ग्राहक छन् तर त्यति टाढाका छैनन् ।
सबैलाई जोड्दै
फुल्कीसँग जोडिएको अर्को विशेषता हो सबै क्षेत्र र जातिसँगको यसको सम्बन्ध । मधेसी समुदायले थालेको फुल्की व्यवसायमा अहिले पहाडीमूलका व्यक्ति पनि जोडिइसकेका छन् । अमृता गौतम फुल्की तीमध्ये एक हुन् । सैनामैना-१ गौतम फुल्की र चाट व्यवसायमा लागेको त्यति धेरै भएको छैन । श्रीमान् विदेशबाट फर्किएपछि आम्दानीको बाटो केही भएन । सडककै छेउमा एउटा होटल खोले । आम्दानी सोचेजस्तो भएन । अनि सुरु भयो ठेलाको फुल्की व्यापार ।
- खाजामा लोकप्रिय
- कम लगानी भए पुग्ने
- स्थानीय बजारमा स्थापित
- करिब तीन सय आबद्ध छन्- औसतमा दैनिक तीन हजारको व्यापार
गौतमको फुल्की बुटवलको हाटबजारदेखि रामापुरको हाटबजारसम्म पुग्छ । गर्मीमा कम भए पनि पानी परेपछि उनको व्यवसाय चम्किन थालिहाल्छ । गौतम दम्पती अहिले औसतमा दैनिक तीन हजार कमाउने बताउँछ । अर्थात् मासिक एक लाख ५० हजार ।
‘हाटबजारको दिन त आठ हजारसम्म बिक्री हुन्छ', गौतम भन्छिन्, ‘अरू बेला तीन हजारजति हुन्छ ।' छोराछोरीलाई बोर्डिङ स्कुल पढाएर र घरखर्च जुटाएर सम्पत्ति जोडेका छन्, गौतम दम्पतीले । सुरु-सुरुमा फुल्की बनाउन नजान्दा धेरै फुल्की नोक्सान भए पनि अहिले यो दम्पतीको फुल्की व्यवसाय स्थापित भइसकेको छ ।
त्यस्तै बुटवलको मिलनचोकमा रहेको राजु चाट सेन्टर अर्को चर्चित फुल्की पसल हो । मणिग्रामदेखि सालझण्डीसम्मका ग्राहकलाई फुल्की खुवाउदै आएको छ यो सेन्टरले । सञ्चालक राजु भन्छन् - ‘कहिलेकाही त ग्राहकलाई खुवाउनै नसकेर फर्काउनुपर्छ ।'
दिनमै १८ लाख
बुटवलमा ठेलामा हिँड्ने एक जना फुल्की व्यवसायीले दैनिक कम्तीमा दुई हजार फुल्की बेच्ने गरेका छन् । यसरी दैनिक २ लाख फुल्की कम्तीमा दुई सय ठेलाबाट बिक्री हुन्छ । ४ लाख फुल्की भनेको झन्डै ६६ हजार प्लेट हो । प्रति प्लेट सरदर २५ रुपैयामा बिक्री हुदै आएको छ । यो तथ्यांकले बुटवलमा मात्रै दैनिक झण्डै १८ लाखको फुल्की बिक्री हुने गरेको छ । फल्की व्यवसायीले चाट, समोसा, दहीबडासमेत बिक्री गर्दै आएका छन् । बुटवलका फुल्कीका ठेलाबाट मात्रै दैनिक करिव २५ लाखको फास्टफुट खाजा खपत हुने गरेको छ । यसमा झण्डै तीन सय जनाले स्वरोजगार पाएका छन् ।
खर्च बढ्यो, मुल्य बढ्यो
एक दशक अघिसम्म मात्रै बुटवलमा प्रतिप्लेट पाच रुपैयाँमा फुल्की पाइन्थ्यो । अहिले धेरै स्थानमा २५ रुपैयाँ छ । कतिपयले ३० रुपैयाँमा पनि बिक्री गर्छन् । ‘सबै जिनिस बढ्यो, अलिअलि त कमाउनै पर्यो', यादव भन्छन् - ‘अन्य चिजजस्तो फुल्कीको मुल्य बढेको होइन ।' भारतबाट आउने मसला, मटर, आलु, तेल छोइनसक्नु भएपछि मूल्य बढेको उनी बताउँछन् ।
बुटवलका ठूला फुल्की व्यापारीलाई मजदुर अभाव समेत भएको छ । रातभरि फुल्की बनाएर दिनभरि ब्यापार गर्नुपर्छ । फुल्की बनाउन सकिएन भने ब्यापार हँुदैन । बुटवलको ट्राफिकचोकमा सात वर्षदेखि फुल्की बेच्दै आएका अयोध्या गुप्ता भन्छन्, फुल्की बनाउने मान्छे नै पाइँदैनन् ।'
गुप्ताको परिवारले नै फुल्की बनाउँदै आएको छ । बनाउने मजदुर राख्दा फुल्की बन्दैनन्, डाम्रिन्छन् । लगानी खेर जान्छ । बरु थोरै व्यापार गर्ने, घरकैले बनाउने सोच गुप्ताको छ ।
भारतीय वर्चस्व
बुटवलको फुल्कीमा भारतीय वर्चस्व छ । ‘भैया, फुल्की खाम न' धेरै ग्राहकको भनाइ हुन्छ । उत्तरप्रदेशका मानिस फुल्की र चाट पसलमा भेटिन्छन् । ‘८० प्रतिशत भारतीय नै छन्, नेपालीले त यस्ता व्यापार कहाँ गर्छन् ? ' यादव गुनासो गर्छन् । अझै पनि विदेशबाट फर्किएका, कमजोर आर्थिक अवस्था भएका नेपाली मात्रै फुल्की व्यापारमा छन् । धन हुनेले सानो व्यापार गर्नुहुँदैन भन्ने सोच रहेको यादवको विश्लेषण छ । ‘यो कसरी सानो व्यापार भयो, लगानीकै हिसाब गर्ने हो भने महिनामा लाखौं कारोबार हुन्छ', उनी तर्क गर्छन् ।
बुटवलको गोलपार्क, नेपालगञ्जरोड, तिनाउपुल, मिलनचोक, तिनकुने, देविनगर सदवहार फुल्की पाइने स्थान हुन् । अहिले बुटवलको ट्राफिकचोक, अमरपथ, मिलनचोकमा सटरमै फुल्की व्यवसाय सुरु भएको छ । सडकमा बिक्री हुने फुल्की ठुल्ठूला बिहे पार्टीमा भने खानेकुराको पहिलो स्थानमा हुन्छ । विशेष गरी मधेसी समुदायको बिहे भोजमा फुल्की अनिवार्यजस्तै हुन्छ । बुटवलका क्याटरिङ पसलले भारतीय फुल्की मेकानिक ल्याउने गरेका छन् ।
सुजी, मैदा, तेलबाट कम्तीमा २० मिनेटमा चार जनालाई फुल्की बनाउन सकिन्छ । यसरी बन्ने फुल्कीले सयौं व्यक्तिलाई रोजगारी दिएको छ ।
भारतमा फुल्कीको १ सय २१ स्वाद पहिचान गरिएको छ । तर, नेपालमा फुल्की मात्रै बिक्री हुन्छ, स्वादको रोजाइ हुने गरेको छैन । सन् १९५१ मा भारतमा पानीपुरी अर्थात् फुल्की सुरु भएको मानिन्छ ।