विर्तामोडमा राखिएको बम ‘आइइडि’ होः नेपाली सेना
विर्तामोडः विर्तामोडमा दुईवटा स्थानमा भेटिएको बम ‘इम्प्रिोभाइज्ड एक्सप्लोसिभ डिभाइस–आइइडि’ भएको बम निस्क्रिय पार्न खटिएको नेपाली सेनाको टोलीले जानकारी दिएको छ । उक्त बम मान्छेले हातले बनाएको र पड्केको खण्डमा केही मानिस घाइते हुनसक्ने नेपाली सेनाको भनाइ छ ।
विर्तामोडमा सोमबार विहानैदेखि बम आतंक फैलिएको थियो । विहान हिँडडुल गर्ने मानिसहरुले कालो प्लास्टिकमा बेरिएको बाहिर तार निस्केको बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्काल बम भएका दुईवटै स्थानलाई खाली गराएको थियो । विहान करीब पाँच बजेदेखि ती स्थानहरुमा मानिसहरुको घुईंचो लागेको थियो । करीब १० बजे चारआलीमा रहेको नेपाली सेनाको कालीबहादुर गणबाट बम डिस्पोजल टोली आएर बम निस्क्रिय बनाउन काम सुरु गरेको थियो ।
अपरान्ह करीब साँढे एक बजेमात्र बमलाई निस्क्रिय बनाइसकिएको थियो । बिर्तामोड नगरपालिका–६ स्थित देवी उच्च मावि नजिकै सडक छेउमा रहेका बम नेपाली सेनाले निस्क्रिय पारेको हो । मतदान केन्द्र रहेको देवी माविको करिब १५० मिटरनजिकै अज्ञात समूहले बम राखेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए ।
बिर्तामोडकै सुब्बाचोक नजिक रहेको अर्को बम पनि सेनाको डिस्पोजल टोलीले निस्क्रिय पारेको थियो । दुईवटै बम निस्क्रिय बनाउँदा पाँच पटक ठूल्ठूला आवाज सुनिएको थियो । सुब्बा चोक नजिकमा बम राखिएको स्थानसंगै रहेको घरमा नेकपा माओवादी केन्द्रकी विर्तामोड नगरपालिकाका लागि उपमेयरका उम्मेद्वार लक्ष्मी न्यौपाने सरुको डेरा रहेको छ ।
बम भेटिएको स्थानको २०० मिटर वरपर खाली गराएर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिएको थिए । निर्वाचन विरोधी समूहले त्रास फैलाउन बम राखेको हुनसक्ने अनुमान प्रहरीको छ । बम फेला परेपछि स्थानीय त्रसित भएका छन् ।