भारतसँग जोडिएका सीमानाका ७२ घण्टा बन्द

 भारतसँग जोडिएका सीमानाका ७२ घण्टा बन्द

बैतडी: स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर सोमबार बिहानदेखि भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा आवतजावत बन्द गरिएको छ। निर्वाचन सुरक्षालाई ध्यानमा राखेर सीमा नाकामा आवतजावत बन्द गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो।

भारतसंग सीमा जोडिएको नाकाबाट चुनावी सुरक्षालाई प्रभाव पार्न सक्ने गतिविधि हुन सक्ने भन्दै सीमानाका बन्द गरिएको हो। उहाँले भन्नुभयो 'निर्वाचन सुरक्षालाई मध्यनजर गरेर भारतीय अधिकारीहरुसंग छलफल गरेर सीमा नाका बन्द गरेका हौं। बिरामी तथा अत्यावश्यक काम परेमा जिल्ला प्रशासनको सिफारिश लगेर नाकाबाट आवतजावत गर्न सकिन्छ।'

निर्वाचन सुरक्षालाई ध्यानमा राखेर जिल्लाभरी सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो। १० ओटै स्थानीय तहमा प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी खटिएका छन् भने म्यादी प्रहरीलाई पनि संगै खटाइएको छ।

यस्तै बाहिर सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाली सेना खटिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो। उहाँले भन्नुभयो 'चुनावी सुरक्षाका लागि जिल्लाभरी आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। निर्भिकतापूर्व मतदान गर्न हामी सबै नागरिकलाई आग्रह गर्दछौं।'

यस्तै पूर्वाञ्चलका सुरक्षा अधिकारीहरुले बुधबार हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सबै सुरक्षा तयारी पूरा भएको जनाएका छन्।

प्रदेश नम्बर १ का १४ वटै जिल्लामा हुने निर्वाचनका लागि उचित सुरक्षा व्यवस्था मिलाएर सबै मतदान केन्द्रमा आवश्यक हातहतियार र वन्दोवस्तीका सामान सहित सुरक्षाकर्मी परिचालन गरिसकिएको अधिकारीहरुले जनाएका छन्।

निर्वाचन नजिकिंदै जाँदा केही दिनदेखि पूर्वाञ्चलका विभिन्न स्थानमा बम फेला परेका र विष्फोट भएका खवरहरु सार्वजनिक भइरहँदा निर्वाचन विरोधी गतिविधी गर्ने जोकोहीलाई कुनै पनि अवस्था र बहानमा छुट नदिइने नीति रहेको सुरक्षा प्रमुखहरुले स्पष्ट पारेका छन् । तीन घेरामा निर्वाचनको सुरक्षा व्यवस्था मिलाइने छ । मतदान केन्द्र नेपाल प्रहरीको जिम्मामा छ । त्यस भन्दा बाहिर सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षाको व्यवस्था मिलाउने छन्।

पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजी रमेश भट्राईले भन्नु भयो, ‘निर्वाचन सुरक्षाको सबै तयारी पूरा भएको छ । सबै मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मी परिचालन पनि गरिसकिएको छ।' निर्वाचनमा बेलामा कुनै मानविय क्षति नहोस, मतदान केन्द्र सुरक्षित रहोस, मतदाता एवं उम्मेदवारहरु सुरक्षित रहुन् र सुरक्षित तथा भयरहित वातावरणमा मतदान गर्ने अवस्थाको सिर्जना होस भनेर सबै ठाउँमा उच्च सुरक्षा सतर्कता अपनाइएको उहाँको भनाइ छ ।

भट्राईका अनुसार निर्वाचन विरोधी गतिविधी नियन्त्रण गर्न निर्वाचन हुने १४ वटै जिल्लामा सबै सुरक्षाकर्मीलाई ‘हाईअलर्ट’ मा राखिएको छ । ‘केही ठाउँमा निर्वाचन विरोधी गतिविधी पनि भइरहेका छन् । ठाउँ ठाउँमा सकेट र सुतली बम राख्ने नाममा आतंक सिर्जना गरेर मतदातालाई सशंकित पार्ने काम पनि भएका छन्,’ अन्नपूर्णसंग उहाँले भन्नु भयो, ‘सबै संकास्पद र निर्वाचन विरोधी गतिविधी हुन सक्ने सम्भावित स्थानकोे पहिचान गर्दै नियन्त्रणमा लिएर मतदातालाई डर, त्रास र भयरहित वातावरणमा मतदानमा स्वतन्त्र पूर्वक रुपमा सहभागी हुने अवस्थाको सिर्जना गरिएको छ । निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न सबै ठाउँमा सुरक्षाकर्मीबाट निगरानी बढाउने काम पनि भइरहेको छ।'

डीआईजी भट्राईले सबै सुरक्षा निकायबीचको समन्वयबाट बम राखिएको, विष्फोट गराइएको आदि कारणले मतदाता डराएर मतदानमै सहभागी नहुने स्थितीको भने अन्त्य गरिएको बताउनुभयो। ‘बमका कारण निर्वाचनमा भाग लिने अधिकारबाट मतदाता बन्चित नहुन् भनेर सुरक्षा निकाय चनाखो भएको छ,’ उहाँले भन्नु भयो, ‘कहींकतैबाट कुनै पनि बहानामा मतदानमा सहभागी हुन र मतदान गरेर फर्कनलाई अवरोध सिर्जना गर्ने काम भयो भने अवरोध गर्नेलाई तत्काल पक्राउ गरेर कारवाही अघि बढाइने छ।'

निर्वाचनका लागि सुरक्षाका कुनै पनि कसर बाँकी नराखिएको एवं डर, त्रास र भय रहित वातावरणको सिर्जना गरिएको बताउँदै सुरक्षा अधिकारीहरुले मतदातालाई ढुक्कसंग मतदान प्रक्रियामा सहभागी हुन आब्हान पनि गरेका छन्। 'निर्वाचनमा सुरक्षाको उचित प्रबन्ध मिलाउने र सुरक्षाको ग्यारेन्टी लिने जिम्मेवारी एवं दायित्व सुरक्षाकर्मीको हो,’ डीआईजी भट्राईले मतदातालाई भन्नु भयो, ‘ढुक्क भएर तपाईहरु मतदान गर्न जानुस्, हामी सुरक्षाको प्रत्याभूति दिलाउँछौं।' उहाँले कसैको डर, धम्की, त्रास र प्रलोभनमा नपरिकन स्वतन्त्र पूर्वक रुपमा मतदान गर्न पाउने आफ्नो अधिकारको प्रयोग गर्न पनि आग्रह गर्नु भयो ।

सुरक्षा अधिकारीहरुले निर्वाचनलाई लक्षित गरेर पैदल र मोवाइल गस्तीहरु पनि बढाइएको जनाएका छन् । मतदान स्थल र वरपर कुनै पनि अवरोध एवं उसृङखल गतिविधी हुन नपाओस भनेर सुरक्षाकर्मीको उपस्थिती सबै ठाउँमा बाक्लो बनाइएको छ । प्रहरीका अनुसार सुरक्षा अवस्थालाई मध्यनजर गर्दै यस अघि संचार सम्पर्क विहीन रहेका मतदान केन्द्रहरुलाई संचार सम्पर्क हुने व्यवस्था मिलाइएको छ।

पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहका अनुसार आपतकालिन अवस्थामा हवाई गस्तीको व्यवस्था गरिएको छ । ‘हेलिकोप्टरमार्फत नियमित रुपमा गस्ती गर्ने काम केही दिनदेखि भइरहेको छ । संवेदनशील मतदान केन्द्रलाई लक्षित गरेर हवाई गस्ती बढाइएको हो,’ अन्नपूर्णसंग उहाँले भन्नु भयो, ‘निर्वाचनमा अवस्था कावु भन्दा बाहिर गयो भने आपतकालिन अवस्थामा सुरक्षाकर्मी ओसार्न पनि हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ। आवश्यकता अनुसार मतदान स्थलको ‘रेकी’ गर्न र निर्वाचन सकिएपछि टाढा टाढाका मतदान केन्द्रबाट मतपेटिका ओसार्न पनि हेलिकोप्टरको प्रयोग गरिने छ।'

आपतकालिन अवस्थामा र कावु भन्दा बाहिरको परिस्थिती सिर्जना भएमा त्यसलाई नियन्त्रणमा लिन नेपाल, सशस्त्र प्रहरी एवं नेपाली सेनाको विशेष टोली नै परिचालन गरिएको क्षेत्रीय प्रशासक सिंहको भनाइ छ । दोस्रो चरण अन्तर्गत प्रदेश नम्बर १ का झापा, इलाम, ताप्लेजुङ, पाँचथर, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, उदयपुर, ओखलढुँगा, खोटाङ र सोलुखुम्बुका स्थानीय तहमा निर्वाचन हुँदैछन्।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.