आफ्नैबारे
अक्सर, पत्रकारिता र 'एथिक्स' बीचको सम्बन्धमा दूरी थपिएको छ । कतिपय घटना र विचलनले पत्रकारितामा 'एथिक्स' बारे बहस जन्माउँछ । तर त्यो बहस कुनै स्पष्ट कार्यनीतिबिना मर्न जान्छ ।छिमेकी भारतमा 'पेड न्युज' या 'राडिया टेप' आदि व्यावसायिक मर्यादासँग जोडिएका मुद्दाले अक्सर बहस जन्माए पनि बिना कुनै निष्कर्ष टुंगिए ती मुद्दा । हालै नेपालमा एउटा त्यस्तो विषम सार्वजनिक भएको छ, जसलाई सम्बोधन गर्न नचाहेमा पत्रकारिता र एथिक्सबीचको दूरी अरू बढ्नेछ ।
पत्रकार उजिर मगरद्वारा लिखित 'अंश' नामक पुस्तकमा उनले एउटा रहस्योद्घाटन गरेका छन् । कान्तिपुर दैनिकका संवाददाताका रूपमा र माओवादी सशस्त्र विद्रोहताकाको एउटा रिपोर्टिङ तथ्यमा आधारित नरहेको र एउटा नियोजित प्रोपगान्डा या रणनीतिका रूपमा त्यो समाचार प्रेषित गरिएको उनले स्वीकार गरेका छन् । गोरखाको एउटा जेलभित्रबाट सुरुङ खनेर केही माओवादी फरार भएको समाचार एउटा काल्पनिक घटना भएको तथ्य झन्डै १२ वर्षपछि उनले स्वीकार गरेका छन् । पुस्तकमा आफूले मनगढन्ते समाचार लेखे पनि त्यसमा लेखकको आत्मालोचना र आत्समीक्षाको अंश भने छैन ।
अमेरिकामा काल्पनिक घटनालाई सत्यको जामा ओढाएर लेखिएको 'रिपोर्ट' ले अति सम्मानित पुलित्जर प्राइजसमेत हात पारेको छ, यद्यपि घटना असत्य भएको पुष्टि भएपछि त्यो पुरस्कार फिर्ता गरिएको छ ।
नेपालमा रहस्योद्घाटितको 'रिपोर्टिङ' को उद्देश्य स्पष्ट छ । लेखक पत्रकारितासँगै वाम राजनीतिमा सक्रिय थिए त्यसबेला र असत्य समाचारकै आधारमा भए पनि प्रोपगान्डाका रूपमा त्यसलाई प्रयोग गरी सत्ताविरुद्ध भिडेको माओवादीलाई रणनीतिक विशिष्टताको माहोल सिर्जना गर्न चाहन्थे । किनकि उनले त्यसबारे आफ्ना सम्पादकलाई अन्धकारमा राखेका थिए र केही माओवादी रणनीतिकार तथा पत्रकारहरूको सुझाव या निर्देशनमा त्यसो गरेका थिए । सञ्चारमा यस्ता गडबडीहरूको नैतिक र अन्तिम कानुनी दायित्व सम्पादककै हुने भए पनि 'बिट रिपोर्टर' लाई बेवास्ता या अवमूल्यन गरिँदैन अक्सर ।
खासगरी द्वन्द्वको स्थितिमा हुने 'प्रोपगान्डा' युद्धमा अक्सर विद्रोही पक्ष नै अगाडि हुन्छ र उसले सकेसम्म सञ्चारमाध्यमलाई अर्को पक्ष (राज्य पक्ष) विरुद्धको युद्धमा ढाल बनाउन चाहन्छ नै । त्यस्तो सम्भावनाबारे अक्सर प्रकाशन गृहहरू सचेत हुँदाहुँदै पनि व्यक्तिगत साँठगाँठबाट प्रोपगान्डालाई अगाडि बढाउन असम्भव हुँदैन भन्ने तथा 'अंश' को रहस्योद्घाटनले सावित गरेको छ ।
यो एक्लो मुद्दा नभए पनि यस्ता घटनालाई दुरुत्साहित गर्न सकिएन भने पत्रकारिताले विश्वसनीयता घटाउनेछ । उजिर मगरको स्वीकारोक्तिपछि वास्तवमा यसले प्रेस काउन्सिल र पत्रकार महासंघसँगै सम्पादकहरूको आधिकारिक संस्थाको ध्यान आकर्षित हुनु आवश्यक छ । नेपालको पत्रकारितालाई निकै हदसम्म दलीय आबद्धता र 'एक्टिभिज्म' ले गालिसकेको छ र प्रोपगान्डा तथा काल्पनिक तथ्यहरूले त्यसमा प्रवेश पाए भने पत्रकारिता राजनीतिभन्दा र पत्रकार राजनीतिज्ञहरूभन्दा बढी अविश्वसनीय हुनेछन् ।