चीनले दिएको इन्डक्सन चुल्हो चार हजारमा बिक्री

चीनले  दिएको इन्डक्सन चुल्हो चार हजारमा बिक्री

काठमाडौं : नेसनल ट्रेडिङ लिमिटेडले चार हजार रुपैयाँमा १० हजार थान इन्डक्सन चुल्होको बिक्री सुरु गरेको छ । आपूर्ति मन्त्रालयले एक थान चुल्हो एक थान भाँडा सेटसहितको चार हजार मूल्यमा बिक्री गर्न सहमति दिएपछि नेसनलले बिक्री गर्न सुरु गरेको हो । 

नेसनलका महाप्रबन्धक लबराज जोशीले गत शुक्रबारदेखि टेकुस्थित केन्द्रीय कार्यालयबाट चुल्होको बिक्री गर्न सुरु गरेको जानकारी दिनुभयो ।‘आपूर्ति मन्त्रालयमार्फत अर्थबाट सहमति आएलगत्तै बिक्री सुरु ग¥यौं’, जोशीले भन्नुभयो, ‘सर्वसाधारणले चासो देखाएर खरिद गर्न आइरहनुभएको छ ।’
नाकाबन्दीको समयमा नेपाल सरकारको आग्रहमा चीन सरकारले झन्डै आठ करोड मूल्य बराबरको ११ हजार तीन सय थान इन्डक्सन चुल्हो नेपाललाई उपलब्ध गराएको थियो । चर्को मूल्यका कारण उक्त चुल्होमध्ये एक थान मात्रै तत्कालीन समयमा बिक्री भएको थियो । बाँकी ११ हजार दुई सय ९९ थान चुल्हो विमानस्थलको पारवहन तथा गोदाम कम्पनीको लिमिटेडमा थन्केर बसेको थियो । 

जोशीका अनुसार ट्रेडिङले दुइ सेट भाँडावर्तन, एक थान चुल्हो र कमिसनसहित प्रारम्भिक चरणमा ११ हजार नौ सय ९६ रुपैयाँ मूल्य तोकिएको थियो । ‘तत्कालीन समयमा इन्धनको चर्को अभाव भएको समय थियो,’ जोशीले भन्नुभयो, ‘इन्धनको अभाव भएको समयमा बिक्री हुने अपेक्षा राखिएको थियो । तर, केही दिनपछि इन्धनको अवस्था सामान्य बन्दै गयो । अर्कोतर्फ भारतबाट निकै सस्तोमा आएको चुल्होका कारण हामीले राखेको मूल्यका कारण चुल्हो बिक्री हुन सकेन ।’ 

पछिल्लो समयमा व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति र समितिअन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिले अर्थ मन्त्रालय र आपूर्ति मन्त्रालयलाई तत्कालै आवश्यक गाँठो फुकाएर सस्तो मूल्यमा बिक्री गर्न निर्देशन दिएपछि अर्थको सहमतिमा आपूर्तिले उपभोक्ता बिक्री मूल्य चार हजार रुपैयाँ निर्धारण गरेको थियो । नयाँ मूल्य निर्धारणसँगै चीनले रसुवा नाकामार्फट पहिलो चरणमा उपलब्ध गराएको एक हजार तीन सय थान चुल्हो केही साताअघि बिक्री भएको थियो । दोस्रो चरणमा विमानमार्फत चीनले उपलब्ध गराएको १० हजार थान चुल्हो अहिले बिक्री गर्न सुरु गरिएको हो । नेसनलको अनुसार विमानस्थलको पारवहन तथा गोदाम कम्पनीबाट १० हजारमध्ये २८ वटा चुल्हो चोरी भएको छ ।

विमानमार्फत आएको चुल्होको मूल्य कायम गर्न अर्थ मन्त्रालयले लामो समयसम्म सहमति नदिँदा १० हजार थान विमानस्थलको गोदाममा करिब दुई वर्षसम्म थन्किएको थियो । यसरी गोदाममा लामो समयसम्म राखिँदा विलम्ब शुल्क (डेमरेज) नै डेढ करोड पुगेको थियो । सरकारले हालै उक्त शुल्क मिनाहा गरेपछि १० हजार चुल्होको बिक्री गर्ने बाटो खुलेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.