'थोरै पढ्नुस्, नियमित पढ्नुस्'

'थोरै पढ्नुस्, नियमित पढ्नुस्'

परीक्षामा धेरै अंक ल्याउने नाममा दिमागलाई अनावश्यक दबाब दिन नहुने पक्षमा छिन् रोजिना अधिकारी । तर, उनले यसपटक त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयबाट एसईई परीक्षामा तीन दशमलव ९० प्रतिशत अंक ल्याइन् । मुलुकभर रहेका २८ हजार सामुदायिक विद्यालयका छात्रमध्ये एसईई परीक्षामा रोजिनाले ल्याएको नतिजा उत्कृष्ट रहेको दाबी गरिरहेको छ, विद्यालयले । रोजिनाको पढ्ने तरिका र अनभुवमा आधारित रहेर गरिएको छोटो कुराकानी ।

एसईईमा यस्तो नतिजा आउँछ भन्ने अपेक्षा गर्नुभएको थियो ?

राम्रै नम्बर आउँछजस्तो त लागेको थियो । तर, यति धेरै आउला भन्ने सोचेको थिइनँ । दैनिक स्कुलमा पढेर फर्केपछि पुनः घरमा पनि दोहोर्‍याएर पढ्ने बानी थियो, जसले मलाई राम्रो नतिजाको अपेक्षा गर्न बल पुर्‍याएको थियो ।

के कारणले परीक्षामा उत्कृष्ट नतिजा आयो ?

पढाइमा कहिल्यै पनि दिमागलाई दबाब दिनु हुँदैन भन्ने पक्षमा म छु । जति दबाब दियो उति धेरै पढ्न गाह्रो हुने मेरो अनुभव छ । यही सोचेर मैले परीक्षाभन्दा दुईतीन महिना अघिदेखि नै तयारी गरिरहेको थिएँ । पहिलादेखि नै तयारी गर्‍यो भने राम्रो नम्बर ल्याउन समस्या हुँदैन । यसैको परिणाम हो, एसईईमा आएको नतिजा ।

दैनिक कति घन्टा पढ्ने गर्नुहुन्थ्यो ?

म पढाइमा त्यति धेरै समय दिन्नँ । हरेक दिन १० बजेसम्म मात्र पढ्ने गर्छु । र बिहान साढे ४ बजेतिर उठ्छु । त्यसबाहेक स्कुलमा बिहान ७ बजेदेखि ५ बजेसम्म पढाइ हुन्थ्यो । जति समय पढाइका लागि दिन्छु, त्यो समय राम्रोसँग सदुपयोग गर्छु । मेरा बुझाइमा विद्यार्थीले समयको व्यवस्थापन गर्न जान्नुपर्छ । जुन काम मैले गरिरहेको छु जस्तो लाग्छ ।

राम्रो नतिजा आउनुमा कसको भूमिका कति छ जस्तो लाग्छ ?

हरेक विद्यार्थीले राम्रो नतिजाका लागि आफैंले परि श्रम गर्नुपर्छ । त्यसपछि बालबालिकाको उचित शिक्षाका लागि अभिभावकले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्छ र बालबालिकालाई पढ्ने वातावरण मिलाइदिनुपर्छ । मलाई पनि पढ्ने क्रममा बाआमाले कहिल्यै नाइँ भन्नुभएन । त्यसबाहेक अभिभावकले जस्तै शिक्षकशिक्षिकाको हात पनि ठूलो हुन्छ उचित बाटो देखाउनलाई ।

अघिल्ला कक्षाहरूमा पनि यस्तै राम्रो नतिजा आउँथ्यो ?

म अन्य कक्षाहरूमा पनि दोस्रो र तेस्रो स्थानमा रहन्थेँ । कक्षामा नबुझेको कुरा सोध्न लाज लाग्दैनथ्यो । यस विषयमा मलाई स्कुलका प्राचार्य हेरम्बराज कँडेलले निकै प्रेरणा दिनुहुन्थ्यो ।

सरकारी र निजी विद्यालयको पढाइमा के भिन्नता रहेछ ?

मैले कक्षा ७ सम्म कलंकीस्थित एलआरआई स्कुलमा पढेँ । मेरो अनुभवमा सरकारी र बोर्डिङ स्कुलको पढाइमा कुनै फरक छैन । दुवै ठाउँमा उत्तिकै मेहनत गर्नुपर्छ । पढाइलेखाइका विधिहरू उस्तै हुन् । आममान्छेहरू बोर्डिङ स्कुल राम्रो भन्छन्, जुन सोचाइ गलत रहेको मैले विशव निकेतन भर्ना भएपछि थाहा पाएँ।

अब कहाँ पढ्ने ? कुन विषय पढ्ने ?

कक्षा ११ म विश्व निकेतनमै पढ्छु । बायोलोजी लिएर विज्ञान विषय पढ्ने योजना बनाएको छु । यसपछि एमबीबीएस पढ्ने योजना छ । बीचैमा योजना परिवर्तन भयो भने बायोकेमेस्ट्री विषय अध्ययन गर्ने विकल्प रोजेको छु ।

परीक्षाको तयारी गरिरहेका वा पढिरहेका भाइबहिनीहरूलाई केही सुझाव दिनुहुन्छ ?

म अझै पनि भन्छु, कोही विद्यार्थी परीक्षाको तयारी गर्दै वा पढ्दै हुनुहुन्छ भने दिमागलाई स्वतन्त्र छोडेर पढाइमा लाग्नुस् । दिमागलाई अनावश्यक दबाब दिएर, घोकेर ल्याएको नम्बरको अर्थ रहँदैन । बरु थोरै समय पढ्नुस् तर नियमित पढ्नुस् । समय खेर नफाल्नुस्, तपाईंसँग भएको समयलाई रचनात्मक काममा प्रयोग गर्नुस् ।
   प्रस्तुति : नितु घले


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.