न्याय खोज्दै भरतपुरमा च्यातिएका मतपत्र सर्वोच्चमा !
काठमाडौं : स्थानिय निर्वाचन मतगणनाका क्रममा भरतपुरमा च्यातिएका मतपत्र र घटनास्थलको वस्तुस्थिति मुचुल्का सर्वोच्च अदालतमा दाखिल भएको छ। सर्वोच्चले गत मंगलबार च्यातिएका मतपत्र सात दिनभित्र पेश गर्न निर्वाचन आयोगलगायत निकायलाई आदेश दिएको थियो। स्थानिय निकाय निर्वाचनका क्रममा भरतपुर वडा नम्बर १९ का मतपत्र च्यातिएपछि पुनःमतगणनाको मागसहित दायर रिटमा सर्वोच्चले उक्त आदेश दिएको हो।
कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले च्यातिएको भनिएको मतपत्र, मतपत्र च्यातिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट तत्काल घटनास्थलमा गरिएको वस्तुस्थिति मुचुल्का मुख्य निर्वाचन अधिकृतबाट भएको गणना स्थगित गर्ने निर्णय र सो बमोजिमको सूचनासहितको कागजात मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनबाट झिकाउन आदेशमा भनेको थियो। ‘च्यातिएका मतपत्र र घटनास्थलको वस्तुस्थिति मुचुल्कासहित आदेश अनुरुपका कागजात भरतपुरबाट आइपुगेका छन्,’ सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले अन्नपूर्ण पोष्टसँग भन्नुभयो, ‘च्यातिएका मतपत्र प्राप्त भएपछि उक्त बिवादमा सुनुवाइका लागि २३ असारको पेशी तय भएको छ।’
च्यातिएका मतपत्रसँगै मत च्यात्ने कार्यमा संलग्नताको अभियोगमा निर्वाचन कसुर अन्तर्गत मुद्दा चलाइएका द्रोणबाबु शिवाकोटी र मधु न्यौपानेका सम्बन्धमा चितवन जिल्ला अदालतमा चलाइएको मुद्दाको सम्पूर्ण मिसिलको प्रमाणित प्रतिलिपिसमेत प्राप्त भएको छ।
सर्वोच्चले चितवन जिल्ला अदालतमार्फत उक्त मिसिल झिकाएको थियो। शिवाकोटी र न्यौपाने भरतपुरमा माओवादी केन्द्रका मतगणना प्रतिनिधि थिए। यसैगरी जिल्ला प्रकाशन कार्यालय चितवनबाट वडा नम्वर १९ को मतगणनाका क्रममा राति भएको घटनापछिको प्रहरी संचारको प्रतिलिपि र निर्वाचन आयोगको जेठ २० गतेको पुनः मतदान गर्ने निर्णय, आयोगद्वारा जारी प्रेश विज्ञप्ति, घटनास्थलको अनुगमनका लागि गठित अनुगमन समितिको निर्णय तथा प्रतिवेदनसमेत सर्वोच्चमा दाखिल भएको छ। प्रारम्भिक सुनुवाइका क्रममा सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रसमशेर राणाको एकल इजलासले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः निर्वाचन गर्नेलगायत कुनै पनि कामकारवाही अघि नबढाउन अन्तरिम आदेश दिएको थियो।
आयोगद्वारा गत जेठ २० गते पुनः निर्वाचन गर्न भरतपुरका मतदान अधिकृतलाई दिएको निर्देशन रोकी मतगणनालाई निरन्तरता दिन माग राखेर भरतपुर वडा नम्बर १९ मा एमालेतर्फ खुल्ला वडा सदस्यका उम्मेदवार गुन्जमान विश्वकर्मा र सोही वडाका मतदातासमेत रहनुभएका अधिवक्ता तुल्सीराम पाण्डेले रिट दायर गर्नुभएको हो। सोही रिटमा सर्वोच्चले आयोगको निर्देशन रोक्दै तत्कालका लागि निर्वाचन कार्यक्रम अघि नबढाउन निर्वाचन आयोग, भरतपुर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने र अनुगमन समितिका संयोजक सह न्यायाधिवक्ता गिताप्रसाद तिम्सिनाका नाममा आदेश जारी गर्दै दुबै पक्षलाई बृहत् छलफलमा डाकेको थियो।
गत जेठ २० गते आयोगले भरतपुर वडा नम्बर १९ मा पुनः मतदान हुने निर्णय गरेको थियो। भरतपुरमा २७ वडाको मतगणना कार्य सम्पन्न भई १९ र २० वडाको मात्र बाँकी रहेको छ। रिट निवेदकले सुनियोजित रुपमा मतपत्र च्यातिएको दाबी गरेका छन्। भरतपुर वडा नम्बर १९ को मतदान केन्द्रको मतगणना प्रारम्भ भई कुल खसेको मत २८९७ मध्ये १८०९ को परिणाम घोषणा भई बाँकी मत गणना भइरहेका बेला नगरप्रमुखका उम्मेदवार रेणु दाहालका प्रतिनिधि न्यौपाने र सिवाकोटीले मतपत्र च्यातेको दाबी रिट निवेदकको छ। जेठ १४ गते राति पौने १२ बजे उक्त घटना भएको थियो।
आगामी असार २३ गते रिट निवेदक र आयोगका वकीलबीचको छलफलपछि पुन मतदान वा निर्वाचन गर्ने बिषयको टुंगो लाग्ने छ।