स्कुले विद्यार्थीले बनाए फोहोर पानी शुद्ध गर्ने रोबट
काठमाडौं: विश्वभर शुद्ध पानीको अभाव भइरहेको बेला स्कुले विद्यार्थीले फोहोर पानी शुद्ध गर्ने नमुना रोबोट रोकुबोटको निर्माण गरेका छन्।
काठमाडौंको दक्षिणकाली नगरपालिकामा रहेको शिखरपुरा सामुदायिक विद्यालय र अरुणोदय विद्यालयका विद्यार्थीहरुले यस्तो रोकुबोटको बनाएका हुन्। मंगलबार शिक्षा मन्त्रालयमा शिक्षामन्त्री गोपालमान श्रेष्ठको उपस्थितिमा दुई विद्यालयका ६ विद्यार्थीहरुले रोबोकुटको प्रदर्शन गरेर देखाएका छन्।
प्रदर्शनपछि शिक्षामन्त्री गोपालमान श्रेष्ठले बालबालिका भविष्यको कर्णधार भएको बताउँदै अल्पविकसित देशले अवसर पाए विश्वलाई चिनाउन सक्ने दाबी गर्नुभयो। उहाँले भन्नुभयो, नयाँ आविष्कार गर्न उत्साहपूर्वक लाग्नुस, तपाईहरु सबैलाई मेरो शुभकामना छ।
यस्तै रोबट बनाउन सहयोग गर्ने मेन्टर सतिस अर्यालले विद्यार्थीले आफूले चाहेको जस्तो रोबोट निर्माणमा लगनशील भएर काम गरेको बताउनुभयो। उहाँले विद्यार्थीलाई किताबी व्यवहारिक ज्ञान दिए विज्ञान प्रविधिको क्षेत्रमा नेपालबाटै नयाँ आविष्कार हुन सक्ने सम्भावना रहेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, 'नेपाल अल्पविकसित भए पनि विज्ञान प्रविधिमा विकासका नयाँ आयाम थप्न आट राख्छ। तर अवसर सरकारले राम्रो जुटाइदिनुपर्छ।'
यस्तै शीखरापुर सामुदायिक विद्यालयका संस्थापक शशी शर्मा अर्यालले विज्ञान प्रविधिमा विकसित नयाँ नयाँ ज्ञान सीपलाई विद्यार्थीको व्यवहारमा उर्तान सके नेपाल विश्वमै नाम चिनाउन सक्ने ठोकुवा गर्नुभयो।
करीब ६ जना विद्यार्थीहरुको सहयोगमा बनाइएको यो रोबोकुटको लागत २२ लाखसम्म पुग्ने शिखरापुरका प्रधानाध्यापक बिनोद महतले जानकारी दिनुभयो। उहाँका अनुसार असार ३० गते (जुलाई १४ तारिक)मा ग्लोबल कम्पिटीशन गर्न अमेरिका जाँदैछन्।