'फुलप्रुफ' सुरक्षाबीच आज निर्वाचन
काठमाडौं : निर्वाचन आयोगको फूलप्रुफ सुरक्षा र तयारीबीच एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिका गरी ३३४ स्थानीय तहमा प्रतिनिधि छनोट गर्न बुधबार निर्वाचन हुँदै छ । प्रदेश नं १, ५ र ७ का ३५ जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन लागेको हो । बुधबारको निर्वाचनबाट १५ हजार ३८ स्थानीय प्रतिनिधि छनोट हुनेछन् । मतदान बुधबार बिहान ७ बजे सुरु भई साँझ ५ बजेसम्म जारी रहनेछ । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले बुधबार हुने निर्वाचनको सबै तयारी पूरा भएको र सुरक्षाको राम्रो प्रबन्ध गरिएकाले मतदातालाई निर्धक्क भएर मतदान गर्न अपिल गर्नुभएको छ । निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले भाग लिँदै छन् ।
गाउँपालिका अध्यक्ष-उपाध्यक्ष, नगरपालिका प्रमुख-उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका लागि ६२ हजार ४०८ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । मतदान हुने ८ हजार ३६४ मतदान केन्द्रमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जनाउँदै उहाँले कसैबाट जनताको मताधिकारलाई कुण्ठित गराउने प्रयास भए त्यसलाई निस्तेज पारिने विश्वास दिलाउनुभयो । निर्वाचन तयारीबारे जानकारी दिन आयोगमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले भन्नुभयो, ‘सुरक्षाको राम्रो प्रबन्ध गरिएकाले पहिलोमा भन्दा दोस्रो चरणको निर्वाचनमा जनसहभागिता उत्साहजनक हुनेछ ।' पहिलो चरण निर्वाचनमा ७१ प्रतिशत मत खसेको थियो ।
प्रमुख निर्वाचन आयुक्त यादवले वर्षायाम सुरु भएसँगै अधिकांश कृषक बाली लगाउन व्यस्त हुने भए पनि मतदानलाई एउटा पर्व मानेर सहभागी हुन मतदातालाई आग्रह गर्नुभएको छ । आयोगले मताधिकार सुनिश्चित गर्न वैकल्पिक व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । आयोगबाट जारी मतदाता परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र, सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था आयोगले गरेको छ ।
मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइए नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउनसमेत आयोगले निर्देशन दिएको छ । आयोगले आचारसंहिता र मतदान प्रक्रियाको अनुगमन गर्न ३५ वटै जिल्लामा अनुगमनकर्ता र सूक्ष्म अनुगमनकर्ता खटाएको छ । पहिलो चरणमा भन्दा दोस्रो चरण निर्वाचनमा राजनीतिक दल आचारसंहिता पालनामा जिम्मेवार बनेको आयोगको भनाइ छ । आयोगले लोकतन्त्रको जगलाई गाउँ, सहर र बस्तीबाटै सुदृढ बनाउने स्थानीय तहको निर्वाचनमा आफ्नो बुद्धि, विवेक र संयमताको उपयोग गर्न मतदातालाई अपिल पनि गरेको छ ।
कूटनीतिक नियोगले अवलोकन गर्न पाउने
दोस्रो चरणको निर्वाचनमा आयोगले नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलाई तीनवटा प्रदेशका ६ वटा सहरमा मतदान अवलोकनको व्यवस्था गरेको छ । आयोगका अनुसार तीनवटा प्रदेशका धनकुटा, विराटनगर, भैरहवा, पाल्पा धनगढी र डडेल्धुरामा कूटनीतिक नियोगका प्रतिनिधिले अवलोकन गर्न पाउनेछन् । पहिलो चरणमा पनि केही कूटनीतिक नियोगलाई अवलोकनका लागि आयोगले स्वीकृति दिएको थियो ।
४१ स्थान निर्विरोध
बुधबार हुने मतदानअघि नै ४१ स्थानमा निर्विरोध निर्वाचित भइसकेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार ४१ स्थानमा निर्विरोध पदाधिकारी निर्वाचित भए पनि जिल्ला र राजनीतिक दलसमेत खुलेको पूरै विवरण आउन केही समय लाग्नेछ । पहिलो चरणको निर्वाचनभन्दा दोस्रो चरणको निर्वाचनमा बदर मत कम हुने आयोगको विश्वास छ । मतदाता शिक्षा प्रभावकारी भएकाले बदर मत कम हुने आयोगका प्रवक्ता शर्माले विश्वास व्यक्त गर्नुभयो । पहिलो चरणमा १० प्रतिशत मत बदर भएको थियो ।