रोपाइँ छाडेरै निर्वाचनमा
झापा : बीस वर्षपछि बुधबार हुन लागेको दोस्रो चरणको स्थानीय निर्वाचन पूर्वका गाउँमा यसरी लागेको छ, मानौं- कुनै भव्य उत्सव आयोजना भइरहेको छ । राजपालाई मनाउने प्रयासमा यसअघि कहिल्यै नभएको तिथि मध्यअसारमा तोकिएको चुनावले रोपाइँमा असर पुर्याएको छ तर किसानलाई यसको कुनै परवाह छैन ।
यसअघि तीन कार्यकाल स्थानीय निर्वाचन नभई जनप्रतिनिधिविहीन बस्नुपरेको तोडमा मतदाता यसपालि सचेत देखिएका छन्- उनीहरूले उपलब्धमध्ये सर्वोत्तम छनोटका लागि तयारी गरिरहेको छनक गाउँका चियापसल, चोक र चौतारामा बुझ्न सकिन्छ । चुनावका कारण व्यापार, व्यवसाय पनि प्रभावित भएका छन् ।
काठमाडौंलगायत बाहिरबाट मतदान गर्नै भनेर स्थानीय गाउँमा ओइरिरहेका छन् । मौनअवधि सुरु भइसकेपछि गाउँ उत्रिएका मतदाता उम्मेदवारको विशेषता थाहा पाउन खासखुस गरिरहेका छन् । प्रदेश नम्बर एकको सुदूर पूर्वी जिल्ला झापाका कतिपय ठाउँमा रोपाइँको काम सुरु हुनै सकेको छैन, रोपाइँ भएकै ठाउँमा पनि स्थानीय चुनावको चर्चाले खेतीपाती ओझेल पारेको छ ।
स्थानीय निर्वाचनको दिन बुधबार किसानले मतदान गर्न जानुपर्ने भएका कारण रोपाइँ राखेका छैनन् पनि । विर्तामोड नगरपालिका-१० स्थित विराटपोखरनजिक स्थानीय प्रमिला महतो, प्रतिमा राजवंशी, मालती महतोलगायत १५ जना किसान मंगलबार धान रोप्दै थिए तर चर्चा त्यहाँ पनि चुनावकै थियो । उनीहरूलाई मेलो कसरी सिध्याउने भन्ने हतारो पनि थियो । मतदानका लागि जान बुधबारको मेलो पनि मंगलबार नै सक्नुपर्ने चटारो उनीहरूलाई थियो ।
बल्लतल्ल आएको स्थानीय तह निर्वाचनका लागि भोट हाल्न उनीहरू आतुर देखिए । बुधबारका लागि उनीहरूले कुनै काम राखेका छैनन् । धान रोप्दै गरेकी मालती महतोले अन्नपूर्णसँग हाँस्दै भन्नुभयो, ‘सबै काम छाडेर भए पनि भोट हाल्न जाने हो । जसरी पनि आफ्ना प्रतिनिधि छान्नु छ ।' २० वर्षसम्म स्थानीय जनप्रतिनिधिको अभावमा टालटुले काम मात्र व्यहोरेका उनीहरूलाई अब छानिएर आउनेहरू विकास निर्माणलाई गति दिनुपर्छ भन्ने लागेको छ । खानेपानी, बिजुली, सडकलगायत नागरिकका माग अब सुनुवाइ हुन्छ भन्ने आशामा उनीहरू छन् । धान रोप्दै गरेकी प्रमिला महतोले भन्नुभयो, ‘हामीलाई आशा छ, अब जनताका काम हुन्छन् । तर, प्रतिनिधि छानिएकाहरूले जनतालाई विर्सनु भएन ।'
उत्तरी झापाको बुद्धशान्ति गाउँपालिका-३ का कृष्ण रिजाल दुई बिघा जग्गामा धानखेती गर्नुहुन्छ । उहाँको खेतमा धान रोप्न ब्याड राख्ने काम सकिसकेको छ । उहाँको खेतमा पानीको व्यवस्था राम्रो भएकाले अहिले नै रोपाइँ गर्नसक्ने अवस्था छ । रिजाल आफ्नो खेतमा धान रोप्न हिल्याउने काम पनि गर्दै हुनुहुन्छ । स्थानीय तहको निर्वाचनका लागि बुधबार भने उहाँले खेतका काम सबै स्थगन गरेर भोट हाल्न जाने योजना बनाउनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘बल्लबल्ल आफ्नै गाउँका लागि जनप्रतिनिधि चुन्ने दिन आएको छ । सबै काम छाडेर भोट हाल्न जानै पर्यो नि !' रिजालको उत्साह अन्नपूर्णसँग संवाद गरेका झापाका थुप्रै किसानले देखाएका छन् ।
२० वर्षसम्म जनप्रतिनिधि नहुँदा सर्वसाधारणले निकै समस्या भोग्नुपरेको रिजाल बताउनुहुन्छ । सर्वसाधारणका लागि नागरिकता सिफारिस पनि जनप्रतिनिधि नहुँदा अप्ठ्यारो बनेको उहाँको बुझाइ छ । उहाँका अनुसार एक जना गाविस सचिवका भरमा स्थानीय निकाय चलेको थियो । ‘गाविस सचिव बिरामी भएर वा अन्य कुनै कारणले कार्यालय आउन नसक्दा सर्वसाधारणले सेवा पाउन सक्दैन थिए,' उहाँले दुःख व्यक्त गर्नुभयो । जनताले आफ्ना प्रतिनिधि आफैं छान्न पाउने दिन आएकाले अब त्यस्ता काममा ढिलासुस्ती हटेर जाने र विकासका कामले समेत गति लिने रिजालको विश्वास छ।
२० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा सहभागी हुन काठमाडौं र अन्य ठाउँबाट फर्किएका सर्वसाधारण गाउँमा अलग्गै चिनिन्छन् । ट्राफिक प्रहरीका अनुसार राजधानीबाट मंगलबारसम्म करिब ६ लाख सर्वसाधारण मतदानका लागि गाउँ फर्किएका छन् जसको ठूलो हिस्सा पूर्वमा देखिन्छ । गौरीगञ्ज गाउँपालिका-६ का सूर्यनारायण रिजालले उत्साही हँुदै भन्नुभयो, ‘म भोजपुरमा पढाउँदै गरेको शिक्षक आफ्नो गाउँ बनाउनकै लागि राम्रो उम्मेदवारलाई मतदान गर्न आज (मंगलबार) आफ्नै गाउँ फर्किएको छु ।' २० वर्षसम्म जनप्रतिनिधि नहँुदाको रिक्तता बुधबार हुने निर्वाचनसँगै पुरिने विश्वास उहाँको छ ।
निर्वाचनपछि सर्वसाधारणले सानातिना काममा कर्मचारीको पछाडि दगुर्नुपर्ने समस्या समाधान हुनेमा रिजाल ढुक्क हुनुहुन्छ । ‘स्थानीय जनप्रतिनिधि नहुँदा कर्मचारीको एकतन्त्रीय शासन थियो, एउटा बिजुलीको पोल गाउँमा झार्न कैयौं दिन सचिवको पछि लाग्नुपर्थ्यो , अब त्यो समस्या हटेर जाने भयो,' उहाँले भन्नुभयो ।
स्थानीय तह निर्वाचनका लागि बुधबार खेतका काम सबै स्थगन गरेर भोट हाल्न जाने योजना किसानले बनाएका छन् ।
जसलाई गरे पनि मतदान गर्नैपर्छ भन्ने भावना अन्नपूर्णसँगको संवादमा गाउँलेले व्यक्त गरेका छन् । गौरीगञ्जकै ५५ वर्षीया भावनादेवी बोहोरालाई बुधबार हुने निर्वाचनमा कतिखेर मत खसालुँजस्तो भएको छ । जे भए पनि यसपालिको स्थानीय निर्वाचनमा निर्धक्कसाथ आफ्नो मत खसाल्ने उहाँले बताउनुभयो । भन्नुभयो, ‘मलाई त कति खेर मन परेको उम्मेदवारलाई भोट हालुँजस्तो भएको छ । अबचाहिँ केही होला कि भन्ने आशा जागेको छ ।'
पार्टीप्रति मतदाताको स्वाभाविक झुकाव देखिए पनि एउटै पार्टीलाई भन्दा आफूलाई मन परेका उम्मेदवारलाई मत हाल्ने उनीहरू बताउँछन् । ‘मतदाताले खोज्ने सेवा-सुविधा र विकास हो,' बोहोराले भन्नुभयो, ‘कृषि विकासका लागि मल, बिउबिजन र कुलो तथा सिँचाइ व्यवस्था पनि मिलाउनुपर्छ अब छानिने जनप्रतिनिधिले ।' गौरीगञ्जकै राधा अधिकारीले जनप्रतिनिधि अभावमा धेरै दुःख झेलेको र अब सबै अधिकार स्थानीय तहमा आउने सुनेपछि खुसी दोब्बर बढेको बताउनुभयो । सबैलाई समेट्ने खालको नेतृत्व आए गाउँ सुनको टुक्रा बन्ने उहाँको बुझाइ छ । कर्मचारीले मात्र स्थानीय प्रशासन चलाउँदा अनेकौँ समस्या झेल्नुपरेको उल्लेख गर्दै अब स्थानीयले नै विकासको बागडोर सम्हाल्न पाउने भन्दै खुसी व्यक्त गर्नुभयो बोहोरा र अधिकारी दुवैले ।
चुनावको तयारीमा व्यस्त रहेका झापाका गाउँघरमा कुनै-कुनै ठाउँमा नियतवश सर्वसाधारणलाई आतंकित बनाउन बम राखेका घटना भए पनि अन्य अप्रिय स्थिति देखा परेको छैन । मतदाताहरू र उम्मेदवारहरू पनि सहिष्णु देखिएका छन्, विपक्षी आवाजहरूप्रति । जो भए पनि जनताले चुनेका जनप्रतिनिधि स्थानीय नेतृत्वमा आए भने गाउँ सहरले समृद्धिको बाटो पक्डने विश्वास मतदाताहरूमा देखिन्छ ।