अन्दाजकै भरमा सवारी परीक्षण
काठमाडौं : यातायात व्यवस्था विभागअन्तर्गतको सवारी परीक्षण कार्यालयले लामो दूरीमा गुड्ने रात्रिबसलाई अन्दाजकै भरमा सवारी साधनको अवस्था परीक्षण गरी प्रमाणपत्र दिने गरेको छ । कार्यालयले छामेर, हेरेर सवारी परीक्षण गरी प्रमाणपत्र दिँदै आएको हो । सवारीसाधनको अवस्था जाँच गरी प्रमाणित गर्ने (भेइकल फिटनेस पास) मेसिन पाँच वर्षअघि ल्याइए पनि चलाउनै नपाई बिग्रिएपछि कार्यालयका कर्मचारीले यसरी छामेर अन्दाजको भरमा 'सवारी साधन परीक्षण' गरेका हुन् । कार्यालयले दुई महिनादेखि यसरी सवारी परीक्षण गर्न थालेको हो ।
सरकारले २०६९ मा ६ करोड लगानीमा टेकुमा सवारी प्रदूषण जाँच गर्ने कार्यालय स्थापना गरेको थियो । स्थापनासँगै मेसिन सञ्चालन गर्न दक्ष जनशक्ति अभाव भएपछि मेसिन सञ्चालनमा ल्याउन सकेको थिएन । हाल सवारी साधनको अवस्था जाँच गर्ने मेसिन कामै नलाग्ने गरी बिग्रिएको छ । भुइ मुनीसमेत भएको मेसिनमा दुई पटक पानीको भेल पसेर बिग्रियो भने प्रयोग नगरी राखिएपछि काम नदिने भएको सवारी परीक्षण कार्यालयका मेकानिकल इन्जिनियर मनिराज कायस्थले बताउनुभयो ।
कार्यालयले दुई सय ५० किलोमिटरभन्दा लामोदूरीमा गुड्ने रात्रिबस र बा.२ ज अन्तर्गत दोस्रो लटको ट्याक्सीको परीक्षण पास सुरु गरिएको कार्यालयले जनाएको छ । विभागले मेसिनलाई मर्मत र तयारी नगरी दिएको र कर्मचारी अभावले गर्दा सवारी परीक्षण व्यवस्थित रूपमा गर्न नसकेको इन्जिनियर कायस्थले बताउनुभयो ।
पेट्रोलबाट गुड्ने सवारीको परीक्षण केही मात्रामा भए पनि डिजेलबाट गुड्ने सवारीलाई हेरेकै भरमा परीक्षण हँुदै आएको छ । ब्रेकको अवस्था र इन्जिनको अवस्था गुडाएर, लाइट, हर्न, सिट, हेडलाइट र आवरण मेसिन अभावले हेरेर परीक्षण गर्ने गरेको छ । मेसिन अभावले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ अन्तर्गत सवारी जाँच गर्न सकेको छैन ।
यता यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले भने कार्यालयमा कर्मचारी पठाएको, मेसिन मर्मतको अन्तिम चरणमा भएकाले चाँडै मेसिनबाट परीक्षण सुरु हुने बताउनुभयो ।
मेसिनको प्रणालीमा गडबडी देखिएको र यसलाई प्राविधिकको व्यवस्था गर्ने तयारीमा भएको पाण्डेले बताउनुभयो।
स्थापनाको पाँच वर्ष बितेपछि आंशिक रूपमा मात्र सवारी परीक्षण हुने गरेको छ । मेसिन सञ्चालनमा ल्याउन विभागले व्यवस्थापन चाँडै गरी यान्त्रिक गडबडीले हुने दुर्घटना र वायु प्रदूषणमा कमी आउने कार्यालयका मेकानिकल इन्जिनियर सञ्जय थिङले बताउनुभयो ।उपत्यकाको वायूप्रदुसणमा सबैभन्दा बढी (३८ प्रतिशत) गाडीले फाल्ने धुवाँबाट हुने गरेको वातावरण विभागले जनाएको छ । कृषि क्षेत्रबाट हुने प्रदूषण १८ प्रतिशत, उद्योग-कलकारखानाबाट ११ प्रतिशत र ३३ प्रतिशत अन्यत्रबाट हुने गरेको छ । यता, सवारी दुर्घटना पनि बढी यान्त्रिक गडबडीकै कारण हुने गरेको तथ्यांक छ ।
यसरी वायु प्रदूषण न्यूनीकरण गर्न र दुर्घटना कम गर्न तत्काल सवारी परीक्षण मेसिन सञ्चालनमा ल्याउनुपर्ने सरोकारवालाको सुझाव छ । यता, यातायात व्यवस्था विभागले भने मेसिन सञ्चालनमा कम चासो देखाएको आरोप छ ।मेसिन सञ्चालनका लागि सिस्टम, सफ्टवेयर आवश्यक भएको र मेसिन चलाउन जान्ने दक्ष जनशक्ति अभाव भएको कार्यालयको भनाइ छ । कार्यालयमा चार जना मेकानिकल सुपरभाइजरको दरबन्दी रहे पनि एक जना मात्र कार्यरत रहेकाले जनशक्ति अभाव भएको हो । सरकारले प्रदूषण मापन अनिवार्य नगरे पनि सवारी परीक्षण मापन अनिवार्य बनाएको छ ।
मेसिन अभाव हुनु र भएका मेसिन पनि सञ्चालनमा नहुँदा सवारी जाँचपास फितलो भएको छ । प्रभावकारी परीक्षण नहुँदा नयाँ र पुराना दुवै गाडीले धुवाँ फाल्ने गरेका छन् ।मेसिन पूर्णरूपमा सञ्चालनमा आए कार्यालयले लामो दूरीमा चल्ने गाडी, उपत्यका र बाहिर चल्ने माइक्रोबस वर्षमा दुईपटक जाँच लक्ष्य लिएको छ । पेट्रोलबाट चल्ने गाडीको हाइड्रो कार्वन एक हजार पिपिएम, कार्वन मनोअक्साइड तीन प्रतिशत हुनुपर्ने मात्रा जाँच गरिनेछ ।
डिजेलबाट चल्ने गाडीको ओपासिटी जाँच गरिनेछ । ओपासिटी अधिकतम ७५ प्रतिशत एचएसयु हुनुपर्नेछ । बाइकको कार्बन मोनोअक्साइड ४ दशमलव ५ प्रतिशत हुनुपर्ने व्यवस्था भएकाले यसको मात्रा परीक्षण गरी जाँचपास प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था छ । पेट्रोलबाट गुड्ने सवारी साधनको परीक्षण केही मात्रामा भए पनि डिजेलबाट गुड्ने सवारीलाई हेरेकै भरमा परीक्षण गरिँदै आएको छ ।