राजपाविरुद्ध मधेसी जनताको आक्रोश
जनकपुरधाम : संविधान संशोधन नभएसम्म मधेसमा निर्वाचन हुन नदिने चेतावनी दिएका राष्ट्रिय जनता पार्टीको विरोध मधेसका आठ जिल्लामा मात्र सिमित भई अन्य तीनवटा प्रदेशमा निर्वाधरुपमा मतदान भइरहेको छ ।
प्रदेश नं.१, ५ र ७ का ३५ जिल्लामा केही हिंसात्मक गतिविधिबाहेक मतदान उत्साहपूर्वक रुपमा भइरहँदा राजपाले निर्वाचनको विरोधमा बुधबार मधेस बन्दको आह्वान गरेको हो । निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा दोस्रो चरणको निर्वाचनलाई मधेसका आठ जिल्लामा मात्र तेस्रो चरणमा सारिएको अवस्थामा राजपाले चुनावनै नभइरहेको ठाउँमा औचित्यहीनरुपमा बन्दी गर्दा स्थानीयवासीमा आक्रोश उत्पन्न भएको छ ।
राजपालाई चुनावमा सहभागी गराउने उद्देश्यले तेस्रो चरणमा निर्वाचन सारिएपनि समर्थनमै रहेका जनतालाई पटकपटक दुःख दिन बन्द आह्वान गरिने गरिएको आरोप सर्वसाधारणले सामाजिक सञ्जालमा टिक्काटिप्पणी गरी पोखेका छन् । सामाजिक सञ्जालमा अत्याधिक मात्रामा बन्दको औचित्य र आवश्यकता विषयमा राजपा नेताहरुसँग प्रश्न गरिएको छ भने कतिपयले त आक्रोशित हुँदै राजपाका बन्दकर्तालाई गाली समेत गरेका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले एकातर्फ राजपा कार्यकर्ता स्वतन्त्र रुपमा निर्वाचनमा उम्मेदवारी दिने र अर्कोतर्फ जनतालाई मुर्ख बनाउन बन्द आह्वान गरेको भन्दै आक्रोश पोखेका छन् । जनतालाई दुःख दिन अनाहक रुपमा बन्द आह्वान गरिएको आरोप समेत उनीहरुको छ ।
राजपाले आह्वान गरेको बन्दले धनुषा, महोत्तरी, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट र सप्तरीमा जनजीवन मात्र प्रभावित भएको छ । बन्द आह्वानकर्ताले बुधबार बिहानैदेखि जनकपुरको प्रमुख प्रवेशद्धार रामानन्द चोकलगायत विभिन्न स्थानमा टायर बालेर विरोध प्रर्दशन गरेका छन् ।
हड्तालका कारण यस क्षेत्रको यातायात, करकारखाना, उद्योग, विद्यालय बन्द भएको हो । सरकारी कार्यालयहरुमा पनि बन्दका कारण सेवाग्राहीहरुको चाप कमै देखिएको छ ।