मतदानमा उत्साहपूर्ण सहभागिता, संकटमा राजपा नेतृत्व

मतदानमा उत्साहपूर्ण सहभागिता, संकटमा राजपा नेतृत्व

काठमाडौं : तीन प्रदेशका ३३४ तहका १५ हजार ३८ प्रतिनिधि छान्न बुधबार भएको निर्वाचनमा करिब ७३ प्रतिशत मतदान भएको छ । स्थानीय तहको दोस्रो चरणअन्तर्गत प्रदेश नं. १, ५ र ७ मा बुधबार भएको निर्वाचनमा आधा दर्जन छिटपुट घटनाबाहेक सामान्य रूपमा सम्पन्न भएको छ । केही क्षेत्रमा राति ८ बजेसम्म मतदान जारी रहेकाले निर्वाचनमा सहभागिताको कुलसंख्या र प्रतिशत अझ बढ्ने अनुमान निर्वाचन आयोगले गरेको छ । निर्वाचन आयोगका निमित्त सचिव महेश्वर न्यौपानेले केही जिल्लाका मतदान केन्द्रमा साँझ आठ बजेसम्म मतदान कार्य भएकाले खसेको मत प्रतिशत ७४ पुग्ने आकलन गर्नुभयो ।

तीन प्रदेशका ६४ लाख ३२ हजार ७६५ मतदाता १५ हजार ३८ प्रतिनिधि छान्नयोग्य मातदाता थिए । ३५ जिल्लाका १ महानगरपालिका ७ वटा उपमहानगरपालिका १११ नगरपालिका २१५ गाउँपालिका गरी ३३४ स्थानका प्रतिनिधि छनोट गर्न निर्वाचन भएको हो ।

निर्वाचन बहिष्कारका लागि आह्वान गरेको राजपा नेतृत्वले भने नैतिक र राजनीतिक पराजय भोगेको छ । विभिन्न ठाउँमा पार्टीकै महत्वपूर्ण व्यक्तिहरूले 'स्वतन्त्र' हैसियतमा चुनाव लडे भने राजपाप्रति सहानुभूति राख्ने मतदाताले उत्साहपूर्वक मतदानमा भाग लिए ।

आयोगले मतदान कार्य उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । यो मत वैशाख ३१ मा सम्पन्न पहिलो चरणको निर्वाचनभन्दा केही बढी हो ।

वर्षाका कारण केही केन्द्रमा ढिलो गरी मतदान, केही स्थानमा बम राखेर निर्वाचन बिथोल्न प्रयास गरिए पनि सुरक्षा प्रबन्ध राम्रो गरिएकाले शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा मतदान कार्य सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताउनुभयो ।

वर्षात्को समय भए पनि व्यवस्थापन राम्रो भएकाले मतदान कार्य सहज भएको आयोगले बताएको छ । बुधबारको मतदानमा सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत मत खसेको छ भने सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको छ ।

सरागल-६ मा दुई मत

आयोगका अनुसार नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ मा जम्मा दुई मत खसेको छ ।
बुधबारको मतदानमा केही रमाइला र अनौठा घटना पनि भए । दाङ जिल्लाको एक मतदान केन्द्रमा बिहान साढे नौ बजेतिर मोटरसाइकलमा आएका व्यक्तिले सोही मतदान केन्द्रलाई लक्ष्य गरी सुतली बम प्रहार गरेका थिए । उक्त बमलाई प्रहरी हवल्दार दुर्गाबहादुर रानाले जोखिम मोल्दै हातले सुरक्षित ठाउँमा मिल्काइदिए । उनको यो जोखिम र बहादुरी कार्यले त्यहाँ कुनै दुर्घटना हुन पाएन ।

त्यस्तै, ११३ वर्षीय ज्येष्ठ नागरिक पशुपति साउदले मतदान गर्नुभएको छ । बैतडी जिल्लाको सुरनया गाउँपालिको भूमिराज निमावि मतदान केन्द्रमा बिहान ७ बजे ११३ वर्षीय साउदले मतदान गर्नुभएको हो ।
त्यस्तै, अछाममा दुई महिलाले मतदानका लागि लाइनमै बस्दा बच्चा जन्माएका छन् । अछाम रामारोशन गाउँपालिका वडा ४ को बाटुला सैनस्थित नन्दकाली आधारभूत विद्यालयको क मतदान केन्द्रमा भोट हाल्न लाइनमा लागेको दुई महिलाले बच्चा जन्माएका हुन् । रामारोशनकी २५ बर्षीय मीना बोहोरा र शुभा हामले बच्चा जन्माउनुभएको हो ।

बझाङमा स्थगित

यता, बझाङको जयपृथ्वी नगरपालिकाको पाण्डु मावि मतदान केन्द्र क, ख मा मतदान स्थगन भएको छ । निर्वाचन आयोगका अनुसार वृद्ध मानिसले सहयोगी लगेको सम्बन्धमा विवाद भएपछि मतदान स्थगन भएको हो।

त्यस्तै, रुपन्देहीको कोटीभीमाई गाउँपालिका-१ मा असार १६ गते मतदान हुने भएको छ । माओवादी केन्द्रबाट वडा सदस्यको मनोनयन दर्ता गराएका मुरले मल्लाहको शनिबार निधन भएपछि मतदान पर सारिएको आयोगले जनाएको छ ।

७ दिनभित्र परिणाम आउने

मतदान सम्पन्न भएलगत्तै मतपेटिका संकलन कार्य भएको आयोगले जनाएको छ । मतपेटिका जम्मा गरेपछि मुख्य निर्वाचन अधिकृतले जिल्लास्थित सुरक्षा निकायसँग समन्वय गरी मतगणनाको समय र स्थान तोक्नेछन् । भरतपुरमा मतपत्र च्यातिएको घटनाजस्तै यो पटक नदोहोरियोस् भनेर आयोगले मतगणनामा पर्याप्त सुरक्षा प्रबन्ध गरी मतगणना गराउने व्यवस्था गरेको अयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो । 'धेरै टोली बनाएर उचित ठाउँको व्यवस्थापन गरी सुरक्षा प्रबन्ध गरेर मात्रै मतगणना गर्न निर्देशन दिइसकेका छौं', उहाँले भन्नुभयो । वर्षाको समय भएकाले मतपेटिका जोगाउन त्यही खालको व्यवस्थापनको कार्य भइरहेको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शर्माका अनुसार नगरपालिकाको सात दिनभित्र र गाउँपालिकाको तीन दिनभित्र मतगणना सम्पन्न गराउने व्यवस्था मिलाइएको छ ।

तिङलामा शून्य मतदान

सोलुखुम्बु : जिल्लाको नेचासल्यान गाउँपालिका-६ तिङ्लामा शून्य मतदान भएको छ । स्थानीय तह पुनःसंरचना आफ्नो अनुकूल नभएको भन्दै उनीहरूले विरोधस्वरूप मतदान नगरेका हुन् ।

नेचासल्यान-६ तिङ्लाका पाँचवटै मतदान केन्द्रमा खटिएका कर्मचारीले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतपेटिका राखेर मतदान प्रक्रिया अगाडि बढाए पनि उक्त समयभित्र मतदानका लागि केन्द्रमा कोही पनि नआएको निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिनुभयो ।

नेचासल्यान गाउँपालिका-६ तिङ्लामा दुई हजार ४७६ मतदाता छन् । यो वडामा कसैले पनि उम्मेदवारी दिनुभएको छैन । सोलु दूधकुण्ड नगरपालिकाको सट्टा नेचासल्यान गाउँपालिकामा तिङ्लालाई समावेश गरेपछि स्थानीयले यसको विरोध गर्दै आएको संघर्ष समितिका अध्यक्ष बालकुमार कार्कीले जानकारी दिनुभयो । स्थानीय सरोज बस्नेतले भोट दिन नपाउँदा नरमाइलो लागे पनि त्यो आफूहरूको बाध्यता भएको बताउनुभयो । रासस

सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत

भोजपुरमा ६१ प्रतिशत

केही जिल्लामा ८ बजेसम्म जारी

मतदान स्थलमा सुतली बम प्रहार

वडामा खस्यो २ मत

अछाममा मतदानकै क्रममा बच्चा जन्मिए

बैतडीमा ११३ वर्षीय वृद्धद्वारा मतदान

मतपेटिकामा एसिड खन्याउँदा आगजनी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.