मल्टी इन्ट्री भिसा अन्योलमा
विदुर : रसुवागढी नाकाबाट चीन प्रवेशका लागि प्रक्रिया सुरु गरिएको मल्टी इन्ट्री भिसा अन्योलमा परेको छ । नेपाल र चीनबीच भिसा प्रक्रिया विवादका कारण ११ महिनादेखि काम रोकिएको छ ।
आवेदन दिएको एक वर्ष पुग्न लाग्दासमेत कसैले पनि भिसा प्राप्त गर्न नसकेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । त्यसको फाइल हाल परराष्ट्र मन्त्रालयमा थन्किएको छ । भिसाका लागि रसुवा प्रशासनले दुई सय ४१ थान आवेदन दर्ता गरी गत वर्षको भदौमा सिफारिससहित गृह मन्त्रालय पठाएको थियो ।
तर, प्रक्रिया हालसम्म नटुंगिएको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताउनुभयो । ट्रक, कन्टेनर, उद्योगी व्यवसायीका गरी दुई सय ४१ थान आवेदन दर्ता गरी भिसाका लागि गृहमन्त्रालय पठाइएको थियो । गृह र परराष्ट्र मन्त्रालयको प्रक्रिया पूरा गरेर हाल फाइल परराष्ट्र मन्त्रालयमा थन्किएको प्रजिअ न्यौपानेले बताउनुभयो । परराष्ट्र मन्त्रालयमार्फत चीनको अध्यागमन पुगेपछि मात्र भिसा प्रक्रिया सुरु हुनेमा हाल नेपाल र चिनियाँ अधिकारीबीचको विवादका कारण प्रक्रिया रोकिएको छ ।
परराष्ट्र मन्त्रालयले कूटनीतिक रूपमा चीनसँग छलफल गरिरहेको जनाएको छ । भिसा आएपछि रसुवागढी नाकाबाट आवतजावतमा सहजता हुने स्थानीयले बताएका छन् । रसुवा प्रशासनले तीन सय जनाका लागि भिसा आवश्यक रहेको दाबी गरिरहेको छ ।
भिसा प्राप्त गरिसकेपछि रसुवागढी नाकाबाट व्यापारिक प्रयोजनाका लागि उद्योगी, व्यवसायी, कन्टेनर चालक केरुङसम्म आवतजावत गर्न पाउनेछन् । यसअघि नै भिसाका लागि गत असोज महिनासम्मको समय लाग्ने जानकारी आए पनि हाल ११ महिना बित्दासमेत कुनै टुंगो नलागेको रसुवा उद्योग वाणिज्य संघले जनाएको छ ।
नेपाल सरकारले तत्काल भिसाको प्रक्रिया सुचारु गर्नुपर्ने रसुवाको गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्वु तामाङले बताउनुभयो । भिसा प्राप्त गरेको भए सामान आयात गर्न सजिलो हुने उहाँको भनाइ छ । रसुवा प्रशासनबाट भिसाका लागि सिफारिस भएकामा एक सय २२ थान आवेदन चालक र एक सय १९ थान यातायात तथा उद्योगी व्यवसायीको छ । आवोदन फार्म रायसुझावसहित गृहमन्त्रालय पठाइएको हो । तर, भिसा कहिले पाइने हो ठेगान छैन ।
ती आवेदन गृहमन्त्रालय हुँदै सिमा प्रशासन र परराष्ट्र मन्त्रालय हुँदै चीन पक्षसँग पुग्ने जनाइएको छ । सहज रूपमा मल्टी इन्ट्री भिसाका लागि गृहमन्त्रालय, परराष्ट्र र वाणिज्य मन्त्रालयले सहजीकरण गरिरहेको रसुवा प्रशासनले जनाएको छ ।
सरकारीस्तरमै छलफल भइरहेका कारण केही महिनाभित्र मल्टी इन्ट्री भिसा प्राप्त हुने अपेक्षा व्यवसायीको छ । रसुवागढी नाकाबाट नेपालीलाई चीन प्रवेश गर्न हालसम्म चिनियाँ पक्षले व्यवहारिकता हेरेर मात्र केरुङसम्म प्रवेश दिँदै आएको थियो ।
चीनले मल्टी इन्ट्री भिसा प्रदान गरेपछि व्यापारिक कारोबार गर्न सुविधा पुग्ने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । रसुवा प्रशासनमा मल्टी इन्ट्री भिसाको सिफारिसका लागि निवेदन परेका व्यापारी, कन्टेनर, उद्योगी तथा चालकको आवेदन गृहमन्त्रालयमा पठाइएको हो ।
गृहमन्त्रालयले मल्टी इन्ट्री भिसा प्रक्रियाका लागि परराष्ट्र मन्त्रालयलाई प्रदान गर्ने नीति छ । परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षलाई मल्टी इन्ट्री भिसाका लागि अन्तिम सिफारिससहित पठाउनेछ । इन्फो भिसाका लागि रसुवा प्रशासनले दुई सय ४१ थान आवेदन दर्ता गरी गत वर्षको भदौमा सिफारिससहित गृह मन्त्रालय पठाएको थियो ।