प्रारम्भिक मतगणना : कांग्रेस-एमालेबीच तीव्र प्रतिस्पर्धा

प्रारम्भिक मतगणना : कांग्रेस-एमालेबीच तीव्र प्रतिस्पर्धा

काठमाडौं : तीन प्रदेशमा बुधबार भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको प्रारम्भिक मतगणनाले प्रमुख दुई दल कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखाएको छ । बिहीबार साँझसम्मको मत परिणाममा कांग्रेस-एमालेबीच झिनो मतान्तर छ भने माओवादी निकै पछाडि देखिएको छ । साँझसम्मको परिणामअनुसार एमालेले ९७, कांग्रेस ८६ र माओवादी केन्द्रले २८ स्थानीय तहमा अग्रता लिएको छ । एमाले कांग्रेसभन्दा ११ तहमा अघि छ । यद्यपि, ५ प्रतिशतभन्दा कम मात्रै मतगणना भएकाले यो परिणाममा तलमाथि हुने सम्भावना रहन्छ ।

प्रदेश नम्बर १ मा कांग्रेसले ४१ र एमालेले ४९ तहमा अग्रता लिएको छ । त्यस्तै, माओवादी केन्द्रले ७ तहमा अग्रता लिएको छ । अन्य दलले प्रदेश नम्बर १ मा भने २ तहमा मात्रै अग्रता लिएका छन् । प्रदेश नम्बर ५ मा पनि कांग्रेस-एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । कांग्रेसले २२ र एमालेले २९ तहमा अग्रता लिएको छ । माओवादी केन्द्रले भने प्रदेश ५ मा १२ तहमा अग्रता लिएको छ । अन्य दलको अग्रता २ तहमा छ ।

प्रदेश नम्बर ७ मा एक तहमा जित हासिल गरी कांग्रेसले अग्रता लिएको छ । बझाङको काडा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । कांग्रेसले ७ नम्बर प्रदेशमा २३ तहमा अग्रता लिइरहेको छ भने एमालेले १९ तहमा अग्रता लिएको छ । एमालेले पनि उक्त प्रदेशमा बझाङको मष्ठा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी हासिल गरेको छ । माओवादी केन्द्रले ९ तहमा अग्रता लिएको छ । यो प्रदेशमा राप्रपाले १ तहमा अग्रता लिएको छ भने अन्य दलको अग्रता ३ तहमा छ ।

आयोगका अनुसार चुनाव सम्पन्न भएका ३ सय ७ तहमा मतगणना सुरु भएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले ताप्लेजुङको एउटा केन्द्रबाहेक सबै जिल्लाको मतपेटिका संकलन भइरहेको र बाँकी २७ स्थानको पनि शुक्रबारबाट गणना गरिने जानकारी दिनुभयो । उम्मेदवारको निधनका कारण स्थगित रुपन्देही कोटीभाई गाउँपालिकामा शुक्रबार मतदान हुनेछ । आयोगले बढीमा सात दिनभित्र सबै तहको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने बताएको छ । आयोगले भतरपुर महानगरपालिकाको जस्तो मतपत्र च्यात्ने काम हुन नदिन गणनास्थलमा सुरक्षा व्यवस्थामा थप कडाइ गरेको छ ।

तीन प्रदेशका तीन मुख्य नगरमा कांग्रेसको अग्रता

निर्वाचन भएका प्रदेश नम्बर १, ५ र ७ को केन्द्रबिन्दु मानिने तीन सहरको मेयरमा कांग्रेस उम्मेदवारले अग्रता लिएका छन् । प्रदेश नम्बर १ को राजधानी मानिने विराटनगर महानगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार भीम पराजुलीले प्रारम्भिक अग्रता लिएका छन् । प्रदेश नम्बर १ कै धरान र इटहरी उपमहानगरमा पनि कांगे्रसले सुरुवाती अग्रता लिएको छ । झापाका अधिकांश नगरमा भने एमालेले अग्रता लिएको छ ।

त्यस्तै, प्रदेश नम्बर ५ को राजधानी मानिने बुटवलमा पनि कांग्रेसका मेयर उम्मेदवारले अग्रता लिएका छन् । बिहीबार साँझसम्म बुटवल उपमहानगरमा कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले ६ सय ३ र एमालेका शिवराज सुवेदीले ४ सय ३० मत ल्याएका छन् । तर, प्रदेश नम्बर ५ कै अर्को ठूलो सहर दाङमा भने दुई उपमहानगरमा एमालेले अग्रता लिएको छ । ५ नम्बर प्रदेशकै नेपालगन्ज उपमहानगरपालिकामा भने साँझसम्म कांग्रेस र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । कांग्रेसका मेयर उम्मेदवारले १ सय २२ मत पाएका छन् भने एमालेका मेयर उम्मेदवारले १ सय ३६ मत पाएका छन् ।

सुदूरपश्चिमको प्रवेशद्वारसमेत रहेको ७ नम्बर प्रदेशको केन्द्रबिन्दु धनगढी उपमहानगरपालिकामा पनि कांग्रेसका उम्मेदवार नृप ओडले अग्रता लिनुभएको छ । त्यहाँ एमाले तेस्रो स्थानमा छ भने स्वतन्त्र उम्मेदवार गोपाल हमाल दोस्रो स्थान हुनुहुन्छ । कांग्रेसका ओडले १ सय ८४ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ भने स्वतन्त्र उम्मेदवार हमालले १ सय ६६ मत पाउनुभएको छ । एमालेका दुर्गा जोशीले ४० मत पाउनुभएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.