भ्याटको विरोधमा सेयर कारोबार बन्द

भ्याटको विरोधमा सेयर कारोबार बन्द

काठमाडौं : ब्रोकर कम्पनीहरूले अडर नलिएपछि बिहीबार धितोपत्र बजारको कारोबार रोकिएको छ । नेपाल स्टक एक्सचेन्जले सेयर कारोबार गर्ने सर्वर खुला गरे पनि अडर नलिएपछि सेयर कारोबार हुन नसकेको नेपाल स्टक एक्सचेन्जका उपप्रबन्धक निरञ्जन फुयाँलले जानकारी दिनुभयो ।
आन्तरिक राजस्व विभागले विगत चार वर्षदेखिको सेयर कारोबारको मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न पत्र काटेपछि यसको विरोधमा ब्रोकरले कारोबार रोकेका हुन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार सेयर कारोबार बन्द गरिएका कारण लगानीकर्तामाथि अन्याय भएको बताएको छ । विभागले पत्र पठाएपछि ब्रोकर कम्पनीले आफूले लगानीकर्तासँग भ्याट असुली नगरेकाले सरकारलाई पनि उक्त रकम बुझाउन नसक्ने बताएका छन् । विभागले ब्रोकर कम्पनीलाई पत्र काटेर विगत चार वर्षदेखिको सेयर कारोबारको भ्याट, त्यसमा लाग्ने ब्याज, हर्जना तथा जरिवानासहितको रकम बुझाउन भनेको छ ।

भ्याटको नियम विपरित उत्रिएको ब्रोकर एसोसियसनले आफूहरूले लगानी कर्तासँग भ्याट असुली नगरेकाले सरकारलाई उक्त रकम नबुझाउने बताएको छ । ‘हामीले लगानीकर्तासँग भ्याट उठाएका छैनौं कसरी सरकारलाई चार वर्षदेखिको भ्याट बुझाउने', ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले भन्नुभयो । एसोसिएसनका अनुसार विभागले इन्भेस्टमेन्ट म्यानेजमेन्ट र सुन्धारा सेक्युरिटिजलाई २०६९÷७० देखिको भ्याट तिर्न बुधबार पत्राचार गरेको छ ।

नेप्सेले नियमित हुनुपर्ने कारोबार बन्द हुँदा लगानी कर्तामाथि अन्याय भएको बताउँदै तत्काल कारोबार खोल्ने वातावरण बनाउन नियामक निकायलाई आग्रह पनि गरेको छ । सेयरको कारोबार बन्द गरिनु सेयर बजारको अन्तर्राष्ट्रिय मान्यता विपरीत भएको नेप्सेको भनाइ छ । आन्तरिक राजस्व विभागले विगत चार वर्षदेखिको सेयर कारोबारको मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न पत्र काटेपछि यसको विरोधमा ब्रोकरले कारोबार रोकेका हुन् ।

ब्रोकरले चार वर्षदेखिको कमिसनमा भ्याट तिर्न नसक्ने भन्दै अनिश्चित कालका लागि सेयर कारोबार रोक्ने घोषणा गरिसकेका छन् । ब्रोकरहरूले सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोडलाई ज्ञापनपत्र समेत बुझाइ सकेका छन् । उनीहरूले ब्रोकर कमिसनमा भ्याट लगाउन बजेट भाषणमै व्यवस्था हुनुपर्ने र पुरानो अवधिको भ्याट तिर्न नसक्ने भन्दै कारोबार रोक्का गरेका हुन् । ‘भ्याट उपभोक्ताबाट असुलिने कुरा हो र सेयर बजारका उपभोक्ता भनेको लगानीकर्ता हुन, हामीले लगानी कर्तासँग भ्याट असुलेका छैनौं त्यसैले भ्याट तिर्दैनौं', रेग्मीले भने । ‘ब्रोकर कमिसनमा भ्याट लगाउने व्यवस्था संसारमै छैन ।'

सेयरको कारोबार बन्द गरिनु सेयर बजारको अन्तर्राष्ट्रिय मान्यता विपरीत भएको नेप्सेको भनाइ ।

कर अधिकृतले निर्धारण गरेको कर तिर्नुपर्ने नभए मुद्दामा जान सक्ने आन्तरिक राजस्व विभागका उपमहानिर्देशक चन्द्रकला पौडेलले जानकारी दिनुभयो । ‘कानुन मान्दिन भन्नु कति न्यायसंगत हुन्छ', उहाँले भन्नुभयो । धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ ले गरेको व्यवस्थाअनुसार ब्रोरक कम्पनीले लिने धितोपत्र दलाली सेवा शुल्क ‘कमिसन' को २० प्रतिशत नेपाल स्टक एक्सचेन्ज पाउने व्यवस्था छ । त्यस पछि बाँकी हुन आउने ‘कमिसन' रकमलाई शतप्रतिशत मानेर त्यसको १५ प्रतिशत आयकर कट्टी गर्ने चलन छ ।

यो रकममध्ये शून्य दशमलव ६ प्रतिशत नेपाल धितोपत्र बोर्डले पाउने व्यवस्था गरिएको छ । ब्रोकरले कारोबार आकारअुनसार शून्य दशमलव चार प्रतिशतदेखि शून्य दशमलव ६ प्रतशितसम्म कमिसन लिन पाउने व्यवस्था नियमावलीले गरेको छ । कारोबार बन्द भएको विषयलाई लिएर ब्रोकर तथा स्टक एक्सचेन्जले धितोपत्र बार्डलाई ज्ञापनपत्र बुझाएपछि बोर्डले यस विषयमा अर्थ मन्त्रालयलाई जानकरी गराएको छ । ब्रोकरलाई अविलम्ब कारोबार गर्न निर्देशन दिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिनुभयो । कारोबार रोकेर होइन छलफल गरेर अघि बढ्न सकिने उहाँको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.