क्लिन फिड नीति लागु गर्न समय अभाव
काठमाडौं : नेपाली टेलिभिजनमा विदेशी च्यानल आउँदा विज्ञापनरहित (क्लिन फिड) बनाउने नीति लागू गर्दा सबै विदेशी च्यानल बन्द हुने जोखिम बढेको छ । सरकारले अगामी साउन १ गतेदेखि यो नीति लागू गर्ने तयारी गरेको छ । विदेशी च्यानलले नेपाल फिड नबनाएको अवस्थामा तयारी बिनै क्लिन फिड लागू गर्दा नेपालका केबल अपरेटर्स र डीटीएचबाट आउने सबै विदेशी च्यानल बन्द हुने भएका छन् ।
सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकालको संयोजकत्वमा बनेको १३ सदस्यीय क्लिन फिड नीति २०७३ कार्यान्वयन सुझाव समितिले पनि यस्तै प्रतिवदेन दिएको छ । समितिले विदेशी च्यानलले अहिलेसम्म नेपाल फिड नबनाएका कारण नयाँ नीतिले सबै च्यानल बन्द हुन सक्ने गरी प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनअनुसार नेपालका लागि छुट्टै फिड नभएको र दुई सातापछि नीति लागू हुने समय आइसक्दा पनि यस्तो फिड तयार भइनसकेकाले विदेशी च्यानल विज्ञापनरहित रूपमा देखाउन सकिँदैन । ‘यसका कारण कि त यो नीति कार्यान्वयनको समय बढाउनुपर्छ अन्यथा सबै विदेशी च्यानल बन्द हुन सक्छन्', प्रतिवेदनमा उल्लेख छ ।
क्लिन फिड लागू गर्दा आर्थिक वर्ष २०७४/७५ देखि विदेशी प्रसारण संस्थाले विज्ञापनरहित प्रसारणका लागि डाउनलिंक अनुमति माग गर्ने सम्भावना कम रहन्छ । यसको प्रभावले धेरैजसो च्यानल डाउन लिंक अनुमतिको अभावमा प्रसारण बन्द हुने जानकारी प्रतिवेदनले दिएको छ ।
नेपालले यसअघि नै निर्णय गरिसकेकाले सूचना तथा सञ्चार मन्त्रालयले यो नीति लागू गर्ने तयारी गरेको छ । मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालका अनुसार सरकारले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने बाध्यता छ । ‘विदेशी च्यानल विज्ञापनरहित हुन सक्दैनन् भने तत्काललाई बन्द हुन्छन्, त्यसपछि समस्याको समाधान खोज्दै जानुपर्छ', ढकालले भन्नुभयो ।
उहाँका अनुसार प्राविधिक कारण नीति कार्यान्वयन गर्न कठिन छ । भारतबाट आउने च्यानल बन्द भए पनि हाल क्लिन फिड भएका र सिंगापुरबाट आउने ६ वटा च्यानल आउनेछन् । ‘नेपालीले विदेशी च्यानल हेर्ने पाउँदैनन् भनेर नीति कार्यान्वयन नगरी बस्न भएन', उहाँले अन्नपूर्णसँग भन्नुभयो । केबल नेटवर्कले पहिले डिजिटलाइजेसन त्यसपछि मात्रै क्लिनफिड हुनुपर्ने तर्क पेस गरेका छन् । नेपाल केबुल व्यवसायी महासंघका अध्यक्ष सुधीर पराजुलीले सरकारले उपभोक्ताको हितमा हुने गरी नीति कार्यान्वयमा ल्याउन नचाहेको बताउनुभयो ।
प्रतिवदेनमा हाल प्रसारण भइरहेका विदेशी च्यानलको शुल्क क्लिन फिड नीतिले अत्यधिक वृद्धि हुने र क्लिन फिड दिन नसक्ने च्यानल घट्दै जाने उल्लेख छ । भारतीय ब्रोडकास्टिङ फाउन्डेसन (आईबीएफ)ले पनि भारतबाट प्रसारण हुने च्यानल हालसम्म विज्ञापनरहित नभएकाले क्लिन फिड बनाउन प्राविधिक र आर्थिक दायित्व थपिने तर्क दिएको छ । नेपालका टीभी च्यानल पूर्णरूपमा डिजिटल भएपछि मात्रै यसलाई कार्यान्वयन गर्न सम्भव हुने आईबीएफले दिएको प्रतिवेदनमा उल्लेख छ ।
विदेशी च्यानलले नेपाल फिड नबनाएको अवस्थामा तयारी बिनै क्लिन फिड लागू गर्दा नेपालका केबल अपरेटर्स र डीटीएचबाट आउने सबै विदेशी च्यानल बन्द हुने भएका छन् ।
डिजिटलाइजेसनपछि मात्रै क्लिन फिड नेपालका केबल व्यवासायी र डीटीएचले भने अहिलेकै अवस्थाका क्लिन फिड लागू गर्न नसकिने बताएका छन् । नेपालका लागि दीर्घकालीन लाभ हुने भए पनि तत्कालीन प्राविधिक समस्या समाधान नै पहिलो प्राथमिकता छ । केबुल व्यवसायी महासंघले नेपालभर पहिले डिजिटलाइजेसन त्यसपछि क्लिनफिड माग राखेको ढकालले जानकारी दिनुभयो । डिस मिडिया नेटवर्कले पनि नेपाल पूर्ण डिजिटलाइजेसन नभएसम्म क्लिफिडको पूर्णकार्यान्वन सम्भव नदेखिएको प्रतिक्रिया दिएको छ । डिस होमका महाप्रवन्धक कल्याण अधिकारीले विदेशी च्यानलले क्लिन फिड नदिएसम्म सञ्चार मन्त्रालय, डीटीएच र केबल संस्थाले मात्रै चाहेर सम्भव नरहेको बताउनुभयो । नेपालमा प्रसारण हुने च्यानलमा करिब ८० प्रतिशत विदेशी छन् ।
उपभोक्ता मारमा
हाल नेपालमा आउने विभिन्न ६ वटा अंग्रेजी च्यानलबाहेक अरु फिड छैनन् । भारतीय र अन्य विदेशी च्यानलले क्लिन फिड दिन चाहेमा पनि ती च्यानलले शुल्क बढी लिने गर्छन् । विज्ञापनबाट आउने शुल्क अशुल गर्नुपर्ने र त्यो शुल्क केबल अपरेटर्सले उपभोक्ताबाटै उठाएर दिने गर्छन् । यसका कारण हाल उपभोक्ताले तिर्ने मासिक पाँच सय रुपैयाँ शुल्क वृद्धि भएर हजार १५ सय पुग्न सक्ने केबल टीभी व्यवसायीको भनाइ छ ।
लाभ हुने विज्ञापन संघको दाबी
क्लिन फिड कार्यान्वयनले नेपालको विज्ञापन बजार बढ्ने दाबी विज्ञापन संघको छ ।संघका अध्यक्ष सन्तोष श्रेष्ठले दीर्घकालीन रूपमा क्लिन फिड कार्यान्वयनले नेपाललाई राम्रो लाभ दिन्छ । अहिले भारतीय च्यानललाई लक्षित गरेर बनाएका विज्ञापन नै नेपाली बजारमा पुगेको छ । अहिले बहुराष्ट्रिय कम्पनीले नेपाल लक्षित विज्ञापन गरेका छैनन् । यो नीति कार्यान्यवनपछि नेपाली मौलिकतामै विज्ञापन बन्ने भएको छ । विदेशीले नेपाललाई लक्षित गर्ने विज्ञापन नेपालीमै हुनेछ । राष्ट्रिताको भावना बढ्छ । बहुराष्ट्रिय कम्पनीको विज्ञापन नेपालीमै हुन्छ । यसले गर्दा हालको करिब ६ अर्ब रुपैयाँको विज्ञापन बजार केही वर्षमै दोब्बर हुने श्रेष्ठको दाबी छ ।