आधा दर्जन च्यानल ल्याउँदै डिसहोम
काठमाडौं : डिस मिडिया नेटवर्क (डिस होम)ले आफ्नै आधा दर्जन (हाइ डेफिनेसन) एचडी च्यानल ल्याउने भएको छ । दसैंसम्ममा मनोरञ्जनात्मक ६ वटा च्यानल ल्याउने गरी आवश्यक तयारी गरिरहेको डिसहोमका महाप्रबन्धक कल्याण अधिकारीले जानकारी दिनुभयो । मल्टिपल टीभी नेटवर्कमार्फत थप टीभीका च्यानल ल्याउने भएको छ । मन्त्रालयमा उक्त टीभी नेटवर्क दर्ता गरेर आवश्यक राजस्वसमेत बुझाइसकिएको डिसहोमले जानकारी दिएको छ।
यो कम्पनीका अनुसार मुभी, स्पोर्ट, इन्टरटेनमेन्ट, म्युजिक च्यानल थपको आवश्यक प्रक्रिया र तयारी नै अगाडि बढिरहेको छ । बाँकी च्यानल यसलाई सञ्चालन गर्दै तयारी गरिने पनि डिसहोमले जानकारी दिएको छ । यो कम्पनीले हाल मुभी अन डिमान्डको रूपमा मुभी प्लस च्यानलबाट मनोरन्जन दिइरहको छ।‘यसका हाल स्पोट्स, म्युजिक र भूमि च्यानल भने परीक्षणमै छ । अब भने हामी पूर्ण च्यानलकै रूपमा अगाडि बढिरहेका छौं', अधिकारीले भन्नुभयो ।
नेपालमा हाल विदेशी मनोरञ्जन च्यानलको बाहुल्यता छ । नेपालीले भारतीय च्यानलमा आउने मनोरञ्जनात्मक सामग्रीलाई हेर्ने गरेका छन् । यसका विकल्पमा नेपाली भाषाको आफ्नै च्यानल दिन लागिएको पनि डिसहोमले जानकारी दिएको छ । यो कम्पनीका अनुसार विदेशी च्यानलमा आउने सिरियल, धार्मिक कार्यक्रमलाई नेपालीमै दिने प्रयासस्वरूप नयाँ च्यानल नै स्थापना गरेर अगाडि बढिएको हो ।
हाल परीक्षणमा रहेको तीन वटा च्यानल पूर्णरूपमा सञ्चालनमा आएपछि बालबालिका केन्द्रीय नेपाली भाषाको कार्टुन च्यानल, महाभारत, रामायणसहितको कार्यक्रमलाई नेपाली भाषामै दिने गरी नयाँ च्यानल अगाडि बढाएको उल्लेख छ । डिस होमले आफ्नो सेवा नेपालभर पुर्याएको छ । यसले डिचिएच प्रविधिबाट सेवा दिने गर्छ । नेपालको कुल ७० लाखको टीभीको बजारमध्ये डिसहोमले आफ्नो बजार हिस्सा ३० देखि ३५ प्रतिशत रहेको दाबी गरेको छ । यो कम्पनीले सरकारलाई तिर्ने राजस्व नै वार्षिक २५ करोड भएको दाबी गरेको छ ।
सरकारले क्लिन फिड लागू गरेपछि विदेशी च्यानल प्रभावित हुन सक्ने भएकाले पनि यो समस्यामा थोरै भए पनि च्यानल वृद्धि गरेर ग्राहकलाई मनोरञ्जनात्मक सामग्री हेर्ने च्यानको विकल्प दिन खोजिएको पनि उल्लेख छ । नेपालकै पहिलो डिजिटल टीभीकौ रूपमा ६ वर्षदेखि सेवा दिइरहेको डिस होमले ग्राहकको डिमान्ड अनुसारको टीभी प्याकेज पनि दिएको छ । यसले ग्राहकलाई एउटादेखि मल्टि टीभीसम्मको सुविधा प्रयोग गर्न सक्छन् । एचडी च्यानल हेर्ने सुविधा, ग्राहककको इच्छाअनुसार न्यूनतम दुई सय ९२ रुपैयाँदेखिको अधिकतम पाँच सय ८५ रुपैयाँसम्मको टीभी च्यानलको प्याकेजको सुविधा दिएको छ । पछिल्लो सयम सरकारले डिजिटल सिग्नल अनिवार्य गरेपछि यसले आफ्नो ग्राहक योजना र सेवा विस्तामा आक्रामक योजना बनाएको पनि छ ।
डिसहोमको सेवापछि नै नेपालमा डिजिटल टीभीको प्रवेश भएको उल्लेख छ । पछिल्लो सयम सरकारले टीभी हेर्न एनालग प्रविधिका लागि सेट अफ बक्स राखेर डिजिटलमा रूपान्तरण गर्नुपर्ने व्यवस्था गरेको छ । स्याटलाइटबाट सञ्चालन हुने डीटीएच भएकाले अन्य टीभी च्यानलको तुलनामा ग्राहक आकर्षण गर्न र देशभर सेवा दिन सहज भएको पनि डिसहोमले जानकारी दिएको छ ।
सरकारले साउन १ गतेबाट क्लिनफिड लागू गर्ने तयारी गरिरहेको छ । यो नीतिले विदेशी च्यानल विज्ञापनरहित हुनुपर्छ । यदि विज्ञापनरहित हुन नसक्ने र नेपाल फिड नभएका च्यानल बन्द हुनसक्ने भएकाले पनि आफ्नै च्यानलबाट ग्राहकलाई आकर्षण गरिरहन सकिने बुझाइ डिसहोमको छ । यो टीभीले नेपालमा समाचार र अन्य च्यानल प्रतिस्पर्धा नभएर स्वस्फूर्त ढंगले ग्राहकलाई मनोरञ्जन दिन च्यानल थप गर्न लागेको दाबी गरेको छ । यो टीभीले आफैं उत्पादन गरेर वा विदेशी भाषाको कार्यक्रमलाई नेपालीमा रूपान्तरण गरेर भए पनि सेवा दिने बताएको छ ।