बम फाल्ने साहसले प्रहरीको छाती गर्वले चौडा भएको छः आइजीपी अर्याल
काठमाडौं : नेपाल प्रहरीका महानिरिक्षक (आइजीपी) प्रकाश अर्यालले दोस्रो चरणको स्थानीय निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न योगदान गर्ने सम्पूर्ण प्रहरी कर्मचारीलाई धन्यवाद दिनुभएको छ।
उहाँले निर्वाचन सुरक्षाका क्रममा पड्कदै गरेको बम समातेर फ्याँक्ने प्रहरीको कामको उच्च प्रशंसा गर्नु भएको छ। दाङको एक स्थानीय निर्वाचनमा मतदान भइरहेका बेला प्रहरी हवल्दार दुर्गाबहादुर रानाले सम्भावित मानवीय क्षति राक्नु भएको थियो।
‘आम जनताको जनधनको सुरक्षाका खातिर आफ्नो किन्चित परवाह नगरी बिना हिचकिचाहट पड्कदै गरेको बम समेत टिपेर फ्याँक्नेसम्मको अदम्य साहसिक कार्य गर्ने लगायत सम्पूर्ण प्रहरी कर्मचारीको व्यवसायिक इमान्दारिता र कर्तव्यपरायणताले सिंगो नेपाल प्रहरी र सम्पूर्ण प्रहरी कर्मचारीको छाती पुनः एकपटक गर्वले चौडा भएको छ ’, दोस्रो चरणको निर्वाचनको मतदान भएको दुई दिनपछि विज्ञप्ती जारी गर्दै आईजी अर्यालले भन्नु भएको छ।
उहाँले निर्वाचन सम्पन्न गर्न म्यादी प्रहरीको भूमिकाको पनि प्रसंसा गर्नु भएको छ।