प्रदेशसभाको निर्वाचन असोज र प्रतिनिधिसभाको मङ्सिरमा गर्ने तयारी

प्रदेशसभाको निर्वाचन असोज र प्रतिनिधिसभाको मङ्सिरमा गर्ने तयारी

काठमाडौँ, : निर्वाचन आयोगले प्रदेशसभाको निर्वाचन आगामी असोज अन्तिम साता र प्रतिनिधिसभाको निर्वाचन मङ्सिरको पहिलो सातामा गर्ने तयारी थालेको छ ।
आयोगले आगामी कात्तिक दोस्रो हप्तामा राष्ट्रियसभाको निर्वाचन गर्ने तयारी सुरु गरेको छ । निर्वाचन आयोगका पदाधिकारीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहदरबारमा भेटी निर्वाचनको उक्त कार्ययोजना प्रस्तुत गरेको भेटपछि प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले जानकारी गराउनुभयो ।

डा यादवको नेतृत्वमा आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह, आयोगका निमित्त सचिव महेश्वर न्यौपानेसहितको टोलीले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आवश्यक कानुन यही असार मसान्तसम्ममा पारित गर्नुपर्ने आग्रह गरेको थियो । नेपालको संविधानअनुसार आगामी माघ ७ गतेभित्र स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता छ । भेटमा आयोगका तर्फबाट समयावधि कम भएको हुँदा मतदाता नामावलीसम्बन्धी ऐनमा समेत केही परिमार्जनको आवश्यकता रहेको प्रधानमन्त्रीलाई अवगत गराइएको थियो ।

आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको क्षेत्र निर्धारणका लागि साउन १५ गतेसम्म आवश्यक कार्य गरिसक्नुपर्ने सुझाव दिएको छ।आवश्यक कानुन प्राप्त भएपछि आयोग असोज अन्तिम साता प्रदेशसभाको र मङ्सिर पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गराउन प्रतिबद्ध रहेको प्रमुख आयुक्त डा यादवले बताउनुभयो ।

भेटका क्रममा डा यादवले दोस्रो चरणको निर्वाचनको सञ्चालन तथा मतगणना भइरहेका सम्बन्धमा र आगामी असोज २ गते गर्ने तय भएको प्रदेश नं २ को स्थानीय तह निर्वाचनको तयारीका बारेमा पनि प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभएको थियो । साथै निर्वाचन व्यवस्थापनमा सरकारका तर्फबाट भएको साधन स्रोत, जनशक्ति र सुरक्षाको सहयोगका सम्बन्धमा आयोगले प्रधानमन्त्री देउवालाई धन्यवाद दिनाका साथै आभारसमेत प्रकट गरेको थियो ।

भेटमा प्रधानमन्त्री देउवाले हालै स्थानीय तहको दोस्रो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गर्दै कार्य सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिनुभएको थियो । प्रधानमन्त्री देउवाले चाँडै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने, आवश्यक कानुन निर्माण गर्ने तथा ऐन संशोधनको प्रक्रिया पूरा गरिने आश्वासन आयोगलाई दिनुभएको थियो ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ मा गत वैशाख ३१ गते तथा दोस्रो चरणको निर्वाचन प्रदेश नं १, ५ र ७ मा यही असार १४ गते सम्पन्न भएको छ । प्रदेश नं २ मा भने असोज २ गतेका लागि स्थानीय तहको निर्वाचन तय भएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.