नेपालीहरू हिन्दु होइनन्

नेपालीहरू हिन्दु होइनन्

समकालीन राजनीतिक-सामाजिक डिस्कोर्समा असहमति लेखिरहेका लेखक हुन्— सौरभ । उनी एकेडेमिक इतिहासले फेला नपारेका गुढ तथ्य उधिन्छन् । इतिहासलाई वर्तमानसँग जोडेर लेख्नु उनको विशेषता हो । नेपाली इतिहास, संस्कृति, पहिचान र राजनीतिबारे मूलधारको बुझाइमाथि प्रश्न गर्ने उनका ‘सौरभका पच्चीस वर्ष' र ‘असहमति' प्रकाशित छन् । ‘असहमति'लाई उनको वैचारिक स्पष्टताको विशिष्ट मोड मानिन्छ । त्यस्तै सुजित मैनालीसँग उनको सहकार्यमा पश्चिमा लेखकले नेपाली इतिहासबारे गरेका गलत टिप्पणीको संग्रह ‘ब्रेकिङ नेपाल' हालै प्रकाशित छ । समकालीन मुद्दामा फरक कोण प्रस्तुत गर्ने सिलसिलामै उनले ‘असंगति' लिएर आएका छन् । ‘असंगति'को सेरोफेरोमा सौरभसँग उनको लेखन, विषयवस्तु र समकालीन सन्दर्भमाथि दीपक सापकोटाले गरेको कुराकानीः


तपाईंको लेखनको अभीष्ट के हो ?
- भित्री नेपाल, वास्तविक नेपालको खोजी ।


 तपाईंको लेखनमा अनेकन विषय आउँछन्, सन्दर्भ पनि त्यत्तिकै हुन्छन् । विषयको छनोट कसरी गर्नुहुन्छ ? स्रोत र सन्दर्भसम्म कसरी पुग्नुहुन्छ ?
- छनोट गरेर लेख्दिनँ । कुनै विषयको अन्तिम रहस्यले स्ट्राइक गर्‍यो भने आफूले पढ्दै, देख्दै, सुन्दै आएका कुराहरूको तारतम्य खोज्छु । शोध पनि सम्झने प्रयास गर्छु, किताबका पानाहरू सम्झने प्रयास गर्छु, फेला पारेँ भने उल्लेख पनि गर्छु । सम्झिन नसकेको बेला सकिनँ भनेर लेखेको पनि छु ।

 राजनीति, समाज, इतिहास र संस्कृतिबारे लामो समयदेखि कलम चलाउँदै आउनुभएको छ । विश्वविद्यालयका विभागहरूबाट कस्तो खालको प्रतिक्रिया पाउने गर्नुभएको छ ?
- औपचारिक प्रतिक्रिया त पाएको छैन । तर, प्राध्यापन गर्ने धेरै मित्रले बेलाबेला सम्पर्क भने राख्नुहुन्छ । सकारात्मक हुनुहुन्छ उहाँहरू ।


समाज विज्ञान र वनस्पतिशास्त्रलाई नेपाली सन्दर्भमा जोडिरहनुभएको छ । नेपाली समाज बुझ्न वनस्पतिशास्त्रको अध्ययन पनि उपयोगी हुनसक्छ भन्ने महसुस कसरी भयो ?
- ‘नेपाली समाज'मात्र होइन विश्वकै समाज ‘उपयोगी हुनसक्छ' होइन अनिवार्य । किनभने पृथ्वीमा पहिले वनस्पति उत्पत्ति भएको हो र पछि जीव । अध्ययन गर्‍यो भने सबैभन्दा बढी वनस्पति, त्यसपछि सैन्य गतिविधि र विगत सय-डेढ सय वर्षयता विज्ञान र प्रविधिबाट भाषाका क्रियापदहरू आएका छन् ।

 किताबको नाम ‘असंगति' राख्नुको तात्पर्य के हो ?
- भएकै कुरा भनौं ? ‘असहमति'को प्रकाशकलाई त्यो शीर्षक अर्कोले नलिइदिए हुन्थ्योजस्तो लागेको मैले बुझेँ, नयाँ प्रकाशकलाई अर्कोले निकालेको शीर्षक लिन मन लागेन । यसैले ‘असहमति-२' राखौं भन्ने मेरो प्रयास सफल भएन । भित्रपट्टि ‘असहमति-२' राखिन पुग्यो । अब तेस्रो खण्ड निकाल्दा बरु तीनवटैको शीर्षक ‘असहमति' नै राखौंला ।


तपाईंका लेख-रचनामा सन्दर्भसामग्री राम्रोसँग खुलेका हुँदैनन् । ‘असंगति' भित्रको एउटा लेखमा तपाईंले समाज विज्ञानको ‘इम्पेरिकल' र ‘होलिस्टिक एप्रोच'माथि नै व्यंग्य गर्नुभएको छ । लेखनलाई विश्वसनीय बनाउन सन्दर्भसामग्री खुलाउनुपर्छ, लेखनको वैज्ञानिक पद्धति अपनाउनुपर्छ, होइन र ? विषयसूचीदेखि अनुक्रमणिकासम्म भएको पुस्तकमा सन्दर्भ सामग्री भने छैन । अलि अपूरो भएन ?
- यो कुनै डिग्रीका लागि लेखेको थेसिस होइन, कट एन्ड पेस्टको पोका बनाउनलाई । तैपनि ब्राकेटभित्र सयौं ठाउँमा स्रोत खोलेको छु । पूरै किताब नपढी अरूको उद्धरणलाई झिकेर आफूले जुटाएको उद्धरणजस्तो बनाइदिने एकथरी लेखकलाई असजिलो पार्नकै निम्ति राम्रोसँग नखुलाएको मात्रै हो । कसैले व्यक्तिगत सम्पर्क राखेमा स्रोत बताउन सधैं तयार छु तर मानिस हेरेर मात्र ।
जहाँसम्म ‘इम्पेरिकल' र ‘होलिस्टिक' एप्रोच भन्नुभयो, सामग्री नपढेर अन्दाजका भरमा यो फलानो एप्रोचअन्तर्गत पर्छ भनेर बिल्ला लगाइदिने प्राडाहरूमाथिको व्यंग्य हो त्यो । सामग्रीका आधार चाहिन्छ भन्नेमा शंका छैन ।

मैले आफूलाई कहिल्यै हिन्दु भनेको छैन । हामी नेपाली हिन्दु होइनौं, शैव हौं, मस्टोपुजक हौं, सनातन हौं । हिन्दु भनेका भारतीय हुन् । विगतमा दर्जनपटक मञ्चमा उभिएर बोल्नुपर्दा पनि मैले संविधान हिन्दु होइन सनानत धर्मसापेक्ष हुनुपर्छ भनेकै छु ।


विदेशी लेखकका नेपालसम्बन्धी लेखाइमा ‘एथ्नोसेन्ट्रिजम' हावी भएकाले नेपालको वास्तविकता बुझाउन पश्चिमी किताब उपयोगी हुँदैनन् भन्ने गर्नुहुन्छ । तर, तपाईं स्वयंचाहिँ ‘एथ्नोसेन्ट्रिजम'बाट ग्रस्त हुनुहुन्छ भनेर आलोचकहरू भन्ने गर्छन् । हुन पनि तपाईंले जर्मनीमा आराध्यदेव शिवको उपासना गरिन्थ्यो भन्नुभयो, लेख्नुभयो । देशप्रेमको आग्रहले गर्दा यदाकदा आफ्नो लेखनको तथ्यपरकतामा सम्झौता गर्नुपर्दो रहेछ भन्ने तपाईंलाई लाग्दैन ?
- प्रश्नका तीनै कुरा गलत । जातीय एथ्नोसेन्ट्रिस्टहरूले केही भन्ने ठाउँ नपाएपछि ‘मेरी बिल्ली मुझसे म्याउँ' भन्ने उखान चरितार्थ गरेको मात्र हो त्यो । जर्मनीमात्रै किन; युरेसियाले नै थोहर, दोनर, जियस, पजिडन, बाल आदि अनेकौं नाममा शिवलाई पूजा गर्ने गरेकै हो दुई हजार वर्ष अघिसम्म । अब देशप्रेमका नाममा सम्झौता कहाँनेर भयो ? तपाईं नै जवाफ दिनुस् ।


 तपाईंका लेखन पढ्दा कस्तो लाग्छ भने संसारका सारा सभ्यता, संस्कृति, नाचगान, धर्मदेखि खानपिन र खेलकुदसम्म सबैको उद्गम नेपाली भूमि हो । के तपाईंको ठम्याइ यही हो ? यो बुझाइ ‘अतिवाद'कै पर्याय होइन ?
- यो पनि ठ्याम्मै गलत हो । संसारका सारा भनेको छैन मैले । तर, सगरमाथा, गोर्खाली र बुद्धको जन्मस्थलजस्ता पहिचान मात्र हो नेपालको भनेर मान्न म तयार छैन । अरू तीस चालीसवटा नेपालबाट अन्यत्र गएका छन् भन्नेमा म पुगेको छु । अहिले त पन्ध्र बीसवटाको बारेमा मात्र लेखेँ । यतिमै तपाईंजस्ता पाठकहरू आत्तिसक्नुभा'छ । अरू बीसवटाका बारेमा लेखेँ भने अतिवादीमात्र किन अरू पनि के-के भन्नुहोला । पुरानो नेपाललाई चिन्ने कौतूहलता पनि हुनुपर्‍यो होइन र ? तर, तपाईंको प्रश्नले हामीहरू आफ्नो परिचय पाउँदा पनि आफैंलाई चिन्न नसक्ने कस्तो हीनताबोधले ग्रस्त छौं भन्नेको प्रतिनिधित्व गर्छ ।

तर, नेपालको मानव बस्ती त आप्रवासीहरूबाट सुरु भएको भनिन्छ नि । संसारका विभिन्न भूभागमा नगर सभ्यताको विकास गरेका मानिसहरू बसाइँ सरेर आएको ठानिन्छ, तपाईंको मान्यता के हो ?
- संसारका सबै देश त्यस्तै त हुन् नि । केन्याको ग्रेटरिफ भ्यालीलाई छोडेर अरू सबै देश आव्रजकहरूकै त हुन् । काठमाडौं उपत्यकामा ६ हजार वर्षअगाडि बसोबास रहेको संकेत पाइन्छ । त्यसैले नेपाल आप्रवासीहरूको बस्ती मात्र होइन ।


एउटा लेखमा तपाईंले हिन्दु धर्मभित्रको शैव मत नेपाली हो र वैष्णव मत विदेशी हो भन्नुभएको छ । यसरी ‘माइक्रो लेभल'मै गएर ‘ह्वी एन्ड अदर्स'को सीमा कोर्दा यसले समाजलाई विभाजन र विग्रहमा लैजान्छ, होइन र ?
- अवश्य । सनातन परम्पराभित्र रहेर पनि जसले एक अर्को मतलाई छिछि र दूरदूर गर्छ त्यो नेपाली धार होइन । सनानत परम्पराको मर्म नै धर्म सापेक्षता तर पन्थ निरपेक्षता हो । झोल, काट्नु जस्ता शब्द उच्चारणसमेत गर्न नहुने, टीकाका दर्जनौं आकारप्रकारअनुसार गुट बाँध्ने यस्तो प्रथाले बरु समाजलाई विभाजन र विग्रहमा लैजान्छ । तपाईंले मलाई होइन तिनलाई विग्रहकारी भन्न सक्नुपर्‍यो ।


 मगर समुदायमाझ प्रचलित पाङ्दुरे नाच शिवको ताण्डव नृत्यको जरो हो भनेर ‘असंगति'मा दाबी गर्नुभएको छ । यस्तो लेख्दा तपाईंमाथि गैरहिन्दु जनजातिहरूलाई हिन्दुत्वको घानमा हाल्न खोजेको आरोप लाग्दैन ?
- फेरि पनि बुझाइ गलत लाग्छ । शिवलाई नेपालका सबैले पुज्छन् । त्यस यथार्थलाई भारतीयहरूले पनि ग्रहण गरेका हुन् । तर, अब शिवभन्दा हिन्दु जस्तो बुझिन थालेको छ । आफ्नो परिचय गुमाएपछि यस्तै अनर्थकारी व्याख्या हुन्छ । तैपनि एउटा कुरा भनिहालौं, मैले आफूलाई कहिल्यै हिन्दु भनेको छैन । हामी नेपाली हिन्दु होइनौं; शैव हौं । मस्टोपुजक हौं, सनातन हौं । हिन्दु भनेका भारतीय हुन् । विगतमा दर्जनपटक मञ्चमा उभिएर बोल्नुपर्दा पनि मैले संविधान हिन्दु होइन सनानत धर्मसापेक्ष हुनुपर्छ भनेकै छु । खोजिदिनुहोला भिडियो रेकर्ड । राई, मगर, लिम्बू, गुरुङ, थारू सबैलाई समेट्नुपर्छ भनेर आदि धर्मसापेक्ष संविधान भन्ने लेख नै लेखेको छु । यसैले गैरहिन्दुलाई कसरी हिन्दु, कहिले हिन्दु, कहाँबाट हिन्दु घानमा हाल्न खोजेँ मैले ?


 त्यसो भए नेपालमा हिन्दुचाहिँ को हुन् ?
- हिन्दु भनेको सन् १०५० मा मुसलमानले धपाएर अहिलेको यूपी र बिहारबाट धमाधम तराईमा छिरेकाहरू हुन् । पहाडमा बस्ने तर मस्टो पूजा नगर्ने र बोन्पो नमान्नेहरू पनि भारतबाटै कुनै समयमा आएका हिन्दु हुन् । हामी सबै समेटिने शब्द भनेको हिन्दु होइन, ओमकार परिवार हो ।


त्यसो भए बुद्ध र बोनहरू पनि ओमकारभित्र पर्छन् ?
- ओमकारभित्र पर्छन् ।


 नेपाल राम्रोसँग बुझेको नेपाली र विदेशी लेखकका नाम पाऊँ न ?
- योगी नरहरिनाथ, जनकलाल शर्मा, हर्क गुरुङ, धर्मराज थापा, महेन्द्र आदि आदि हुन् । विदेशीका कुरा गरौं भने लेभीको ‘नेपाल'को सुरुमै नेपालबारे पढ्नुपर्ने अंग्रेजी किताब भनेर एउटा लामो सूची दिइएको छ । मामाको त भांग्राको धोती अरूको के गति ? सम्झना हुन्छ त्यो सूची हेर्दा । कुन नाम खोज्नु र खै ?

केन्याको ग्रेटरिफ भ्यालीलाई छोडेर अरू सबै देश आव्रजकहरूकै त हुन् । काठमाडौं उपत्यकामा ६ हजार वर्षअगाडि बसोबास रहेको संकेत पाइन्छ । त्यसैले नेपाल आप्रवासीहरूको बस्ती मात्र होइन ।


यति छलफल गरेपछि मलाई सोध्नैपर्ने लागेको प्रश्न हो— तपाईंको निम्ति नेपाली को हो ? नेपालीपन के हो ? के भएपछि नेपाली भइन्छ ? के नहुँदा अनेपाली भइन्छ ?
- ठाडै कुरा भनौं ? जन्म र वंशले जसलाई कानुनले नेपाली मानेको छ ती नेपाली हुन् । अंगीकृत कुनै हालतमा नेपाली होइनन् । राजेन्द्र महतो जस्तालाई नेपाली मान्न म कदापि तयार छैन । तरल कुरा भनौं भने टाई लगाउने, सुटलाई राष्ट्रिय पोसाक बनाउन खोज्ने पुष्पकमल लगायतलाई नेपाली भन्न मन लाग्दैन मलाई । यसो भन्दा ‘ए यसले त लुगामा नेपालीपन देखेछ' भन्ने बुज्रुकहरू पनि छन् हामीकहाँ । मोटामोटी रूपमा भन्दा कुनै न कुनै रूपमा विदेशी सम्प्रभुता स्वीकार्ने कोही पनि नेपाली होइनन् ।


 थोरै प्रसंग मोडौं र लेखनमै जाऊँ । तपाईंको भाषामा विनम्रता त्यति पाइँदैन । वाक्य निर्माण पनि विनिर्माणवादीहरूको जस्तो हुन्छ । ‘असंगति'मा तपाईंले गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाललाई ‘सडकछाप' भन्नुभएको छ । शब्द चयनको सवालमा तपाईं निर्मम र रूखो किन हुनुहुन्छ ?
- सडकछापको चरित्र हुन्छ— अहिले एक छाक खोसेर भए पनि खाइहालूँ, लुटेर भए पनि खाइहालूँ, पिटाइ खान परे पनि खाइयोस्, जेल जान परे पनि गइयोस् । शासन गर्न पूरै अक्षम हुँदाहुँदै जसरी भए पनि पदमा पुग्नैपर्ने, अझ राष्ट्रपति हुनैपर्ने गिरिजामती देख्नुभएकै हो । अनि राष्ट्रपति हुन नपाएको कारणले नर्भस ब्रेक-डाउन भएर बितेको पनि देख्नुभएकै हो । पुष्पकमल भित्ते राष्ट्रपति भएको पनि हेर्नुभएकै हो । धमिजा काण्डले जेल पुगिएला भन्ने त्रासले गिरिजा झन्डै बेहोश भएको पनि हेर्नुभएकै हो । अन्तर्राष्ट्रिय फौजदारी अदालत पुग्नुपर्ला भनेर पुष्पकमल त्राहिमाम भएको हेरिरहनुभएकै छ । पुत्रीका निम्ति गिरिजाले कांग्रेसको मर्यादाक्रम ध्वस्त पारेको पनि देख्नुभएकै हो । पुत्रीलाई चुनाव जिताउन पुष्पकमल मतपत्र च्यात्न लगाउने तर त्यसलाई विधिविज्ञान प्रयोगशालाको इलेक्ट्रोनिक माइक्रोस्कोपमा पठाउन नचाहने दृश्य पनि हेरिरहनुभएकै छ । ‘सडकछाप' शब्द भन्नुस्, कसरी निर्मम र रूखो भयो ?


 तपाईं साहित्यलाई ‘रछ्यान' भन्नुहुन्छ । तर, ‘असंगति'को पहिलो खण्डअन्तर्गतका लेखहरू साहित्यको निबन्धविधाका सशक्त नमुनाजस्ता देखिन्छन् । कुनै बेला साहित्यमा कलम चलाएबापत अन्तर्राष्ट्रिय पुरस्कार हासिल गर्नुभएको थियो । फेरि साहित्यप्रति अनुराग पलाउन थालेको हो, तपार्इंमा ?
- ओहो ! साहित्यसँग प्रसंग जोडिएपछि मलाई लाज लागेर आउँछ । त्यसतर्फको कुरै नगरौं ।


‘नजल्नुपथ्र्यो सुम्निमा' लेखमा तपाईं लेख्नुहुन्छ, ‘राई लिम्बूहरू राम्ररी पढ्दैनन् । जो सुम्निमा जलाउन तम्सिने अगुवा थिए, तिनले राम्ररी पढेनन् । तिनलाई पढ्नै परेन, लहैलहैमा लागेर आगो झोसे, पुगिहाल्यो ।' यो त एउटा समुदायप्रति नै तपाईंको बायसनेस भयो, होइन र ?
- खास कुरालाई जेनरलाइज नगरिदिनुस् । आफैं बायस नहुनुहोस् । ‘नभएको किरात काल' र ‘नजल्नुपथ्र्यो सुम्निमा' यी दुइटा लेखको सन्दर्भमा मात्रै भनिएको हो त्यो कुरा । बाह्रै महिना, बाह्रै कालको अर्थमा होइन ।


परिचय खोसेको कसले' लेखमा तपाईंले ‘मधेस भन्ने छैन' भन्नुभएको छ । लेख्नुहुन्छ, ‘न औपचारिक रूपमा नेपालको सिमानाभित्र मधेस थियो, न नेपालको सीमा अहिले जति मिचिएको नै थियो भन्ने स्पष्ट छ ।' तर, हालैको एक अन्तर्वार्तामा एक विश्लेषकले तराई भन्ने शब्दावलीले शासकको हेय दृष्टि बताउने भएकाले मधेस शब्द नै प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् । तपाईंको यस्तो लेखन पुरानै शासकहरूको सोचको निरन्तरता कसरी होइन ?
- हो, मैले भनेँ । तर, म जन्मनुभन्दा अघि नै यो कुरा त बाबुराम आचार्यले भनिसकेका रहेछन् । जुन ‘असंगति'मा छापिएकै छ । अब कुनै विश्लेषकलाई उसको मतिमा के लागेको छ भन्ने कुरामा के तुक ? कसैलाई त्यो शब्दले राजनीतिक अभीष्ट पूरा गर्नु छ भन्ने बुझ्दाबुझ्दै पुराना शासकको सोचको निरन्तरता भन्लान् भन्ने डरले नक्कली क्रान्तिकारी मलाई हुनु छैन । र, थप कुरा; पुराना शासक सही छन् भने तिनलाई नमान्ने किन ? पुराना शासकसँग जोडिएला भनेर अरूरुको लघुशंकामा बग्ने कुरा पनि आउँदैन ।


पछिल्लो दशकको नेपाली राजनीतिक तथा सामाजिक परिवर्तन पहिचान, पुनःसंरचना र पहँचसँग जोडिएको छ । तर, यही दशकमा तपाईंले लेखेका लगभग सम्पूर्ण लेखमा यी विषयप्रति गहिरो अरुचिमात्र होइन; तीव्र वितृष्णा नै पाइन्छ । यस्तो वितृष्णाले नेपाली समाजमा खलबल मच्चाउँदैन ? तपाईंले संकेत गरेजस्तै यी मुद्दा बेतुकका नै हुन् भने एक दशकको कोकोहोलोको अर्थ के ?
- खलबल मच्चाए मच्चाउँछ । आफू बन्दुक बोक्ने अनि हामी शान्तिकामी भन्ने ? यस्तो फटाहा कुरा पनि हुन्छ ? पहुँचको कुराबाहेक परिवर्तनका लागि भएका यी परिवर्तन नक्कली हुन् । के नराम्रो नतिजा आउँछ ? १०/१२ वर्षभन्दा बढी पर्खनु पनि नपर्ला, त्यति बेला नेपाल फिजी बनेपछि थाहा होला । अरुचि र वितृष्णामात्र भन्नुभयो; मेरो त घृणा, तिरस्कार सबै छ । विदेशीले जन्माइदिएको यो दशकको कोकोहोलो होइन गृहयुद्धको सुआत हो । हेर्दै जानुहोला, बेहोर्दैै जानुहोला ।


 ‘पराधीन स्वतन्त्र' लेखमा ‘नेपाली जनता लुटेरा छन्, त्यहाँ स्वाभिमान भन्ने कुरा कसरी रहन्छ ? ' भनेर लेख्नुहुन्छ । सारा जनतालाई सोलोडोलो एउटै डालोमा खाँद्नुभएको छ । यसको आशय छ, ‘नेपाली जनता स्वतन्त्र हुन योग्य छैनन् ।' यसले नेपाली जनताको स्वाभिमान र आत्मसम्मानमा गम्भीर चोट पुगेको छ । के नेपाली जनताको आत्मसम्मान छैन ?
- अरूका देशमा भाँडा माझ्न र उँट चराउन जानु परेको छ । के स्वाभिमान ? के आत्मसम्मानमा गम्भीर चोट ? आत्मसम्मान भए अरूका देशमा बसाइँसराइ गर्न यत्रो हत्ते किन हाल्छन् नेपाली ? नेपाली जनतालाई भन्यो भन्नुभयो, कुरा अलि मिलेन । के म पनि नेपाली होइन ? म सामेल नेपाली जनताको आत्मालोचना हो त्यो । हामी जनतै गणेशमानको भेडो छौं त के गर्ने ?


कतै लोकतन्त्रको प्रयोग र उपयोगमा देखिएका कमजोरीले तपार्इंको मनोविज्ञान आमजनतामाथि आक्रोशित रूपमा पोखिएको त होइन ?
- भारतले ‘नेपालतारा'लाई ‘भारतरत्न'जस्तै ‘नेपालरत्न' बनाउन लगायो । हाम्रो ‘माथिल्लो सभा'लाई आफ्नो जस्तै ‘लोकसभा' बनाउनलाई त्यो तपाईंले भन्नुभएको ‘तन्त्र' शब्द चलायो । म त प्रजातन्त्रबाहेक त्यो शब्द कहिल्यै प्रयोग गर्दिनँ । जहाँसम्म त्यसको प्रयोगको कुरा छ, कमजोरी होइन प्रयोग नै इन्जिनियर्ड छ । आमजनता पनि त्यसमा सहायक छ । आक्रोश होइन, आक्षेप होइन, यथार्थ हो ।


 अब पुस्तकबाहिर जाऊँ । बेलाबेला अन्तर्वार्तामा देखिनुहुन्छ । कार्यक्रमहरूमा बोल्नुहुन्छ । कतिपय तपाईं उपस्थित हुने कार्यक्रममा भेटिने मानिसहरूलाई देख्दा तपाईंको अडान केमा हो भनेर सोच्न बाध्य भइन्छ । तपाईं नै खुलाइदिनुस् न, नेपालको राजनीतिक प्रक्रियामा तपाईंको अडानको बिन्दु के हो ?
- स्पष्टै भनूँ, संघीयता र धर्मनिरपेक्षतालाई किमार्थ स्वीकार्दिनँ । भारतसँग सीमा नजोडिएको भए, अझ पूर्ण रूरुपमा सीमा बन्द भएको भए गणतन्त्र सम्भवतः स्वीकार्य हुन्थ्यो । तैपनि रक्षा र परराष्ट्रको मामिलामा भिटो भएको आलंकारिक भन्दा एकरत्ति हकअधिकार भएको राजतन्त्र खोजेको होइन । सम्पूर्ण सामाजिक संस्था, व्यापारिक संस्थामाथि नागासन हालेर बसेको, बब हेयर र गगल्समा उनीहरू मात्र छाइरहने कुनै राजतन्त्र खोजेको होइन । तर, अब त यो प्रश्नै रहेन । रक्षा र परराष्ट्रको हविगत हेरिरहनुभएकै होला ।


‘राजा महेन्द्रपछिको आत्मबल ओलीमा देखियो' भनेर अन्तर्वार्ता दिनुभयो । ओलीको प्रधानमन्त्रित्वकाल सम्भवतः पछिल्लो दशकको सबैभन्दा विवादास्पद शासकीय अवधि हो । उनले परिभाषित गरेको ‘राष्ट्रवाद'मा ‘हावादारी सपना' बढी र आफ्नै नागरिकको सम्बोधन कम भए भन्ने टिप्पणी व्यापक छ । तर, तपाईं एमालेभन्दा पनि बढी एमाले भएजस्तो देखिनुभयो । आमपाठकले सौरभलाई ओलीको फ्रेमभन्दा कति टाढा वा नजिक राखेर हेर्ने ?


- कसरी विवादास्पद भयो ? भारतसँग अडान लिनु र चीनसँगको सम्बन्धलाई पुनर्परिभाषित गर्नुलाई विवादास्पद भन्नुभयो भने त्यो भारतीय कोण हुन्छ, लैनचौर कोण हुन्छ । सपना नदेख्ने त कर्मचारी हुन्छ, नेता हुँदैन । उदाहरणका निम्ति राष्ट्रिय वाणिज्यका पूर्वखचाञ्जी माधव नेपाल नै छन् । साँच्चैको नेता भएको भए प्रधानमन्त्री हुन दरबारमा दरखास्त हाल्दैनथे, दुई ठाउँबाट हारेर पनि प्रधानमन्त्री हुने लुच्याइँ पनि गर्दैनथे । सपना नदेख्नेले नागरिकको सम्बोधन झन् गर्नै सक्दैन । जहाँसम्म एमालेभन्दा बढी एमाले भयो भन्नुभयो र ओलीको फ्रेमसँग जोड्नुभयो, त्यहाँनेर अलिकति संशोधन आवश्यक छ । महाकाली सन्धिकालको ओली र नदेखिने गरी तर माओवादीभन्दा पनि चर्को रूपमा दसौं हजार एनजीओमार्फत पश्चिमाहरूको एजेन्डा गाउँगाउँ विस्तार गरिरहेको एमालेको प्रशंसक म होइन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.