प्रधानमन्त्री निवासका मालीको व्यथा
जेठ २३ मा नयाँ प्रधानमन्त्री नियुक्त हुँदै थिए । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री निवास बालुवाटारबाट बिदा हुने तरखरमा थिए । देशको ४०औं प्रधानमन्त्रीका रूपमा शेरबहादुर देउवाको आगमन हुने सुरसार थियो ।मध्य दिउँसो प्रधानमन्त्री निवास पुग्दा चर्को घामको कुनै वास्ता नगरी फूल गोडमेल र बगैँचा सिँगार्न व्यस्त थिए मालीहरू । प्रधानमन्त्री सचिवालयले निर्देशन दिएको थियो, 'बगैंचा सिँगार्नु' । मालीहरू मध्य घाममा पसिनाले निथ्रुक्क भिजेर निर्देशन पालना गरिरहेका थिए ।
निवासको बगैंचा सिँगार्नेमात्रै होइन, गारो र छानाको रङरोगनको काम पनि धामाधम भइरहेको थियो । काठमाडौं क्षेत्रपाटीका मुकुन्द महर्जन ०५३ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बखत यहाँ छिरेका रहेछन् । प्रधानमन्त्री निवासमा सरेको दिन अर्थात् असार पहिलो साता शेरबहादुर देउवालाई उनले आफैंले फुलाएको फूलको गुच्छाले स्वागत गरे । यस अगाडिका प्रधानमन्त्रीलाई पनि उनी यसैगरी स्वागत गर्थे । तर, उनलाई कुनै पनि प्रधानमन्त्रीले यहाँ जागिर दिलाएका होइनन् ।
प्रधानमन्त्री निवास राजनीति र पहुँचवालाका लागि चौबीसै घन्टा खुला रहन्छ । मुकुन्द महर्जनको कुनै पनि नेतासँग चिनजान वा भनौं 'पोलिटिकल' पहुँच थिएन । अहिले पनि मान्यता यस्तो छ— यहाँ जागिर खान क्षमता र पहुँच दुवै चाहिन्छ । तर, राजनीतिमा 'र' सम्मको पनि पहुँच र रुचि नभएका महर्जन अपवादमा परे ।
उनका ठूलाबुवा लक्ष्मीनारायण महर्जन यहीँ काम गर्थे । आफूले काम छोड्ने बेलामा उनले मुकुन्दलाई यहाँ जागिर लगाइदिएछन् । लक्ष्मीनारायण प्रधानमन्त्री निवासका मुख्य माली थिए । ७३ वर्षीय उनी ०५८ मा मालीबाट रिटायर्ड भएपछि गोँगबुमा नर्सरी सञ्चालन गरी बसे । अहिले पनि उनले आफ्नो नर्सरीमा १२ जनालाई रोजगारी दिइरहेका छन् । कीर्तिनिधि विष्ट प्रधानमन्त्री भएका बखत लक्ष्मीले प्रधानमन्त्री निवासमा मालीको जागिर पाएका रहेछन् ।
कीर्तिनिधि विष्ट प्रधानमन्त्री भएका बेला निर्माण भएको यो निवासमा मालीको सबै काम लक्ष्मीले सम्हाले । निवासमा गार्डेन बनाउन उनकै नेतृत्वको टिमले निकै लामो समय काम गर्यो । 'बाढी आउँदा पूरै जलमग्न हुन्थ्यो । हामीले माटो बोकेर प्लट निर्माण गर्यौं। अहिलेका सातवटा प्लट त्यही समय हामीले नै निर्माण गरेका थियौं । गार्डेन राम्रो बनाउन के मात्रै गरिएन ? ', लक्ष्मीनारायणले भने ।
१० कक्षा पढ्दै गर्दा मुकुन्दले पढाइ छाड्ने निधो गरे । काठमाडौंमा घर भए पनि मध्यम वर्गको परिवारमा बिहान बेलुका के खाने भन्ने समस्याले पिरोलेपछि यस्तो निर्णय लिन बाध्य बनाएको थियो उनलाई । त्यही काम थाल्दाको अनुभव सम्झँदै उनी भन्छन्, 'मैले पढाइ छाड्छु भन्दा आमा धुरुधुरु रुनुभयो । आमाले पछि पछुताउँछस् मात्रै भन्नुभयो । आमाकै अगाडि अठोट पनि गरेँ, मैले जे जानेको छु त्यही काम गरेर तपाईंलाई पाल्नेछु ।'अहिले त्यो अठोट पूरा गरेकोमा उनलाई गर्व छ ।
उनका धेरै साथी आमाबुवाको सम्पत्तिमा मोज गर्दै हिँड्थे । आफ्नो छोरो पनि त्यस्तै होला कि भन्ने आमालाई पीर परेको रहेछ । उनमा भने त्यस्तो सोच कहिल्यै आएन । नपढेको कारण पछुतो छैन । तर, सँगैका साथीहरू माथिल्लो पदमा पुगेर धेरै पैसा कमाएको देख्दा बेलाबेला मन चसक्क हुन्छ ।
२२ सय रुपैयाँमा काम सुरु गरेका उनको तलब अहिले जम्मा १६ हजार रुपैयाँ छ । श्रीमती र दुई छोरीको लालनपालनको जिम्मेवारी छ उनको काँधमा । ज्यालादारीबाट करारमा नियुक्त भएका उनी यति 'सानो' काम गराउन पनि प्रधानमन्त्री निवासदेखि मन्त्री निवाससम्म धाए । 'गिरिजाप्रसाद कोइरालाले त आश्वासन पनि दिनुभयो, करारमा नियुक्त गर्न । मुख्य सचिवलाई बोलाएरै कुरा अगाडि बढ्यो । तर, पछि कार्यान्वयन हुन सकेन', उनले भने । धेरै प्रधानमन्त्रीलाई भन्दाभन्दा बल्ल पुष्पकमल दाहाल प्रधानमन्त्री भएको बखत ०६५ मा उनी करारमा नियुक्त भएका हुन् ।
यसरी करारमा नियुक्त हुने माली यहाँ पाँचजना छन् । कतिसम्म भने टम्म दाँत भएका मालीहरू पूरै दाँत झरेर बूढो हुँदासम्मै ज्यालादारीमै रित्तै घर फिर्ता भएका उदाहरण छन् । करारमा नियुक्त हुन पनि यहाँ निकै गाह्रो भएको उनले सुनाए ।
मालीको मुख्य काम फूलको स्याहारसुसार गर्नु हो । तर, उनीहरू आफैंले नर्सरी बनाएर बिरुवा पनि उमार्ने गरिरहेका छन् । यहाँ थरीथरीका फूलका बिरुवा छन् । 'आफैंले हुर्काएका बिरुवा लगाएर ढकमक्क बगैंचा फुल्दाको आनन्द भित्री मनदेखि हुन्छ', उनले सुनाए ।
बगैंचामा काम गर्न पाँच\६ घन्टाले पुग्दैन । जागिर हो भनेर ठग्ने अवस्था पनि रहन्न । शारीरिक परि श्रमका साथै सजावटका लागि दिमाग पनि चाहिन्छ । त्यसैले गार्डेनमा फूल फुलाउनेदेखि दूबो उमार्नेसम्म कामका लागि आवश्यक सीप लिइरहेका छन् उनी । दाजु नर्सरी सञ्चालक भएकाले सीप सिक्न सजिलो भएको छ । त्यसो त उनका आमाबाबु अहिले पनि निजी नर्सरीमै काम गर्छन् ।
सफासुग्घर, हराभरा र चिटिक्क बगैंचाले सिँगारिएको कार्यालयमा काम गर्दै गर्दा उनले आफ्नो निवास पनि उस्तै बनाएका छन् । 'घर वा कार्यालयमा बगैंचा नहुँदा त रित्तो हुन्छ', उनले भने । मालीको परि श्रमकै कारण यो निवास चिटिक्क परेको छ । यही निवासमा बस्नेहरूले भने वास्ता नगर्दा चित्त दुखेर आउने उनको गुनासो छ ।
फरकफरक अनुहारका प्रधानमन्त्री भेटेका उनले फरकफरक अनुभव पनि सँगालेका छन् । 'पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा फूलको सोखिन हुनुहँदो रहेछ । उहाँ हामीलाई निकै माया गर्नुहुन्थ्यो', उनी सम्झन्छन्, 'दिनमा एकपटक फूलको बगैंचा चाहार्ने र फूल के कस्तो अवस्थामा छन् सबै निगरानी गर्नहुन्थ्यो । के गर्नुपर्यो, के छ भनेर हामीलाई पनि सोध्नुहुन्थ्यो ।'
लक्ष्मीनारायणले प्रधानमन्त्री निवासमा काम गर्दाका रमाइला प्रसंग छन् ।
प्रधानमन्त्री निवासमा काम गर्दा परिवारका सदस्यझैं भए लक्ष्मीनारायण । सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द उनका दुःख बुझ्थे । उनीहरूले काम गरेर पाउने तलबका अतिरिक्त थप तलबको पनि व्यवस्था मिलाइदिएका थिए । तुलसी गिरी गाई पाल्न सोखिन थिए, गार्डेनका लागि चाहिने खर्चमा पनि गिरीले कञ्जुस्याइँ नगरेको उनले सुनाए ।काम राम्रो गरेका कारण गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीबाट गोरखा दक्षिणवाहु र त्रिशक्ति पट्ट पनि पाएका रहेछन् लक्ष्मीनारायणले ।
उनी राम्रो कामसँगै प्रधानमन्त्रीसँग राम्रो सम्बन्ध पनि कायम गर्न सिपालु रहेछन् । देउवा प्रधानमन्त्री बनेपछि पनि उनलाई नै कामका लागि बोलावट भयो । 'निवासमा सिपालु माली चाहिएको रहेछ । आरजु भाउजूले काम गर्न बोलाउनुभयो । तर, त्यस्तो राम्रो अवसरलाई पनि उनले व्यस्त छु भनेर पन्छाइदिए', उनले भने । देउवाभन्दा आरजु फूल भनेपछि हुरुक्कै हुने उनको अनुभव छ ।
मकुन्द माली बनेर आउँदा पनि निवासको केही भागमा ठूलो झाडी थियो । 'झाडी फाँडेर सुन्दर बगैंचा बनाइयो । तर, कुनै प्रधानमन्त्रीले त्यो बगैंचाप्रति चासो दिएनन्', उनले भने । राजदूत र उच्चपदस्थ व्यक्तिले भने बगैंचाको वरपर घुमेर सजावटको तारिफ गर्ने गरेको उनले बताए ।
प्रधानमन्त्री भएका बखत केपी ओली त बगैंचामा फूल फुलेको देख्दा फोटो लिनुहुन्थ्यो । 'फूलहरूमा गुलाफ उहाँलाई मन पर्ने रहेछ', उनले भने । तर, केपीले मालीलाई भेटेर कहिल्यै केही भनेनन् ।गिरिजाप्रसाद कोइरालाले सफासुग्घरलाई ध्यान दिए पनि बगैंचामा निस्केर एकपटक पनि हेरेको उनले देखेनन् । 'गिरिजाप्रसाद कोइराला निकै व्यस्त हुनुहुन्थ्यो । पछि उहाँ बिरामी पनि हुनुभयो । त्यसकारण उहाँसँग नजिक हुन पाइएन', उनले भने ।
सोलुखुम्बुबाट राजधानी आएकी चुलाकुमारी कटुवालले यो निवासमा काम गर्न थालेको १४ वर्ष भयो । मुकुन्दझैं उनी पनि करारमा काम गरिरहेकी छन् । 'चिरञ्जीवी सुवेदी सर यही निवासमा काम गर्नुहुन्थ्यो । उहाँको घरमा म काम गर्थे । उहाँले यहाँ ल्याएर काम लगाइनुभएको हो', उनले भनिन् । प्रधानमन्त्री निवासमा काम गर्न पाउँदा उनी खुसी छिन् । सामान्य लेखपढ गर्न मात्रै जानेकी उनी चार छोराछोरीलाई शिक्षादीक्षा दिन सकेकोमै खुसी छिन् । 'यहाँ काम नभएको भए गाह्रो हुने थियो । देश चलाउने प्रधानमन्त्रीलाई नजिकबाट चिन्न पनि पाइयो', उनले भनिन् । उनका श्रीमान् प्रहरीको जागिरबाट रिटायर्ड हुन् । अहिले श्रीमान् अशक्त अवस्थामा घरमै छन् ।
आफ्नो समस्या र पीडाबारे प्रधानमन्त्रीलाई भेटेर केही भन्ने मन छ कटुवाललाई । तर, 'इज्जत' जान्छ कि भन्ने डर पनि लाग्छ । 'आफ्नो जवानी यही बगैंचामा खर्च गरियो । स्थायी भए बुढेशकालमा सजिलो हुन्थ्यो', प्रधानमन्त्रीलाई यही भन्ने सोचेकी छन् उनले । तर, फूल र त्यसको रेखदेख गर्ने मालीबारे चासो राख्ने प्रधानमन्त्री थोरैमात्रै अनुभव गर्न पाएकी छन् उनले ।
भवन विभागअन्तर्गत यहाँ कार्यरत श्रेणीविहीन कर्मचारी गनिन्छन् माली । मानिसहरू प्रधानमन्त्री निवासमा काम गर्नेको कमाइ पनि धेरै होला भन्ने सोच्छन् तर यहाँका मालीको पीडा कसैले बुझ्दैनन् । 'ठूलो ठाउँमा बसियो तर के छ भनेर ठूलाले कहिल्यै सोधेनन्', मालीहरूको गुनासो छ ।
केही त होला भन्ने आशा पालेर उनीहरू बगैंचामा हिउँदवर्षा बिताइरहेका छन् । उनीहरूको कुनै ठूलो सपना छैन । सपना छ त केवल स्थायी हुने । अब त आशा पनि बिस्तारै मर्दै छ । बिदाको दिनमा पनि उनीहरू खटिन्छन्, पालो गरेर । फूलका बिरुवाको आफ्नै सन्तानजत्तिकै माया लाग्छ मालीलाई ।
बगैंचाका नाइके हुन् मुकुन्द । २३ वर्ष काम गर्दा सबैलाई सन्तुष्ट पारेका छन् । 'सानो काम भनेर बसेको भए कसैले चिन्ने थिएन, केही पनि उपलब्धि हुँदैनथ्यो', मुकुन्दले भने । तर, 'सानो' काम गरेर पनि परिचय बनेकोमा खुसी छन् ।