त्रिवेणीको मत गणनास्थलको गेटमा लगाइएको ताला खुल्यो
लिबाङ (रोल्पा) : रोल्पाको त्रिवेणी गाउँपालिकाको मत गणना स्थलको गेटमा लगाइएको ताला खोलिएको छ। वडा नम्बर ७ को मत परिणाम घोषणा तयारीका वेला विवाद उत्पन्न भएपछि नेकपा माओवादी केन्द्रका कार्यकर्ताले गेटमा तालाबन्दी गरेका थिए।
वडा नम्बर ७ को मत गणनामा नेकपा एमालेबाट वडा अध्यक्ष रहनु भएका भानबहादुर घर्तीले ७७८ मत ल्याउनु भएको र माओवादी केन्द्रका उम्मेदवार गणेश परियारले ७७७ मत ल्याएको बताइएको छ। मत परिणाममा चित्त नबुझेको र मत गणना स्थलका कर्मचारीको व्यवहारप्रति असन्तुष्टि जनाउदै माओवादी केन्द्रका केही उम्मेदवार मत गणना स्थलबाट बाहिरिनु भएको थियो।
मत परिणाम घोषणा हुन मात्र बाँकी रहेका वेला विवाद निस्किएपछि मत गणना स्थल नेर्पामा स्थिति तनावग्रस्त बनेको थियो। आक्रोशित माओवादी केन्द्रका कार्यकर्ताले गेटमा ताला समेत लगाइदिएका थिए। मत गणना स्थलमा खटिएका सुरक्षकर्मीले ताला खोल्नका लागि पहल गरेका थिए।। निर्वाचन अधिकारी विनोद गौतमले विवादलाई विधि, प्रक्रिया र संवादबाट समाधान गर्न अनुरोध गरिरहेको बताउनु भएको छ।
माओवादी केन्द्र र एमालेका युवाको भिड बाक्लिदै गएपछि अप्रिय घटना हुन नदिन र स्थितिलाई सामान्य बनाउन सुरक्षा व्यवस्था कडा बनाइएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताउनु भयो। ताला लगाइएको बारे भने आपुलाई जानकारी नभएको प्रजिअ भट्टराईको भनाइ छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले पनि गेटमा ताला लगाएको बारे जानकारी नभएको बताउनुभयो।
त्रिवेणीका चारवटा वडामा एमालेले, दुई वटामा माओवादी केन्द्रले र एउटामा कांग्रेसले अध्यक्षमा जित हासिल गरेका छन्। मत परिणाम अनुसार एमालेले वडा नं २, ३, ५ र ७ मा, माओवादी केन्द्रले वडा नं १ र ४ मा र कांग्रेसले वडा नं ६ मा जितेको अवस्था छ।
गणना भएको मत अनुसार गाउँपालिका प्रमुखमा एमालेका शान्तकुमार वली र उपप्रमुख सावित्रा कुमारी बुढाको विजयी निश्चित भएको जनाइएको छ। यद्यपी, घोषणाको पूर्व तयारीमै विवाद उत्पन्न भएको छ।