उद्वार गरिएकी सुत्केरीको अवस्था सामान्य, शिशुको ज्यान गयो
गोरखा : दुईदिनदेखि सुत्केरी बेथाले थलिएकी गोरखाको चुमनुब्री गाउँपालिका ६ चुम्चेतकी ३५ वर्षीय छोर्तेङ लामा उद्वार गरी अस्पताल पुर्याइएपनि शिशुको ज्यान गएको छ । प्रसुती गृह थापाथलीमा अपरेसन गर्ने क्रममा सिशुको ज्यान गएको हो । लामाको अल्टिच्यूड कम्पनीको हेलिकोप्टरबाट उद्धार गरि उनलाई बिहान साँढे दसबजे काठमाडौंको थापाथली अस्पताल पुर्याइए पनि शिशु बचाउन नसकिएको बताइएको छ । तर छोर्तेङ लामाको अवस्था भने सामान्य रहेको छ ।
‘बच्चा आधा जन्मिएको र आधा भाग भित्रै भएको अवस्थामा हेलिकोेप्टर चार्टड गरी काठमाडौं पुर्याइएको थियो । सदरमुकामबाट पाँचदिनको बाटो टाढा रहेको चुम्चेत नजिक स्वास्थ्य संस्था नभएको र प्रसुति सेवाका लागि गोरखा सदरमुकाम वा काठमाण्डौंका अस्पताल पुर्याउनुपर्ने बाध्यताका कारण सुत्केरी लामा तीनदिनदेखि थला पर्नुभएको थियो ।
शनिबार बिहान जिल्ला जनस्वास्थ्य कार्यालयमा सम्पर्क गरेपछि कार्यालयले हेलिकोप्टर खर्च उपलब्ध गराउने प्रतिवद्धतापछि हेलिकोप्टरको जोहो भएको थियो ।
सुत्केरीलाई हेलिकोप्टरमार्फत यथासीघ्र अस्पताल पुर्याउने खर्च स्वास्थ्य कार्यालयले ब्यहोर्ने बरिष्ठ जनस्वास्थ्य प्रशासक केदारराज पराजुलीले जानकारी दिनुभयो।