दुर्भाग्यपूर्ण तनाव
सीमा जोडिएका मुलुकहरूबीच अक्सर सीमा विवाद या कुनै पक्षको 'अनुचित' या आपत्तिजनक व्यवहारलाई लिएर वैमनस्य पैदा हुन्छ । त्यो वैमनस्यबाट उत्पन्न विवादलाई वार्ता या शान्तिपूर्ण रूपमा सम्बोधन नगरिएमा त्यसले द्वन्द्व र कहिलेकाहीं युद्धकै स्थिति निम्त्याउँछ । नेपालका छिमेकी भारत र चीनबीच एकपटक र भारत तथा पाकिस्तानबीच कम से कम तीनपटक युद्ध भएका छन्, विगत ७० वर्षको इतिहासमा । त्यस्तै श्रीलंका र अफगानिस्तानमा आन्तरिक द्वन्द्व र तनावका कारण विदेशी सैन्य उपस्थित रहेका छन्, फरक-फरक प्रसंगमा विगत ४० वर्षयता ।
अहिले नेपालका दुई विशाल छिमेकी चीन र भारतबीचको सम्बन्धमा तनावपूर्ण आयाम र गतिविधि देखा परेका छन् । भारतले डोकलङ क्षेत्रमा चीनले सडक बनाएकोमा आपत्ति जनाउँदै त्यो क्षेत्र उसको 'आश्रित' मुलुक (प्रोटेक्टोरेट) भुटानमा पर्ने भन्दै निर्माण कार्य तत्काल रोक्न चीनसँग आग्रह गरेको छ । त्यो क्षेत्रनजिकै भारतीय सेनाले प्रवेश गरेको भागलाई भुटान र नेपालको साँधनजिकको चिनियाँ भूभाग भन्दै भारतीय सेनाको उपस्थितिप्रति आपत्ति जनाएको छ ।
यो चुनावसँगै चीनले दुई वर्षअघि मुख्यरूपमा कैलाश-मानसरोवर यात्राको लागि खोलिएको नाथुला भन्ज्याङमा आवागमन बन्द गरेको घोषणा गरेको छ । सन् १९६२ को भारत-चीन युद्धका कारण झन्डै तीन दशकसम्म तीक्त रहेको दुईपक्षीय सम्बन्ध सन् ९० को दशकपछि सामान्य बन्दै गएको थियो ।
त्योसँगै दुईपक्षीय व्यापारले करिब एक अर्ब डलरको आकार लिइसकेको छ । तर यता त्यो सम्बन्धमा विगतका केही घटनाले मित्रतातर्फको त्यो यात्रा विचलित हुन थालेको छ । तिब्बती धर्मगुरु दलाई लामाको अरुणचलस्थित थवाङ भ्रमण र त्यसप्रति चीनको आपत्तिसँगै यता डोकलङमा भारतीय सेनाको उपस्थितिलाई लिएर चर्किएको विवादले उत्पन्न गरेको द्वन्द्व नेपाललगायत अन्य छिमेकी राष्ट्रहरूमा चिन्ता देखा पर्नु अस्वाभाविक हैन।
अहिले डोकलङ क्षेत्रमा चीनद्वारा जारी सडक निर्माण र त्यसनजिकै भारतीय सेनाको उपस्थिति अनि त्यसबाट सिर्जित तनावपछि भारतले तीन मुलुकको संगमजस्तो विवादित क्षेत्रमा सम्बन्धित पक्षहरूलाई सामेल गरेर मात्र कुनै निर्णय लिइनुपर्ने सहमति भारत र चीनबीच २०१२ मा भइसकेको दाबी गर्दै त्यसलाई सम्मान गर्न चीनसँग आग्रह गरेको छ । अर्थात् भारतसँगै भुटानलाई सहमतिमा नलिई त्यस्तो निर्माण कार्य सन् २०१२ को त्यो सहमतिविपरीत भएको भारतले जनाएको छ ।
परोक्ष रूपमा यो सन्दर्भमा नेपाल पनि जोडिन पुग्छ । किनकि सन् २०१५ को मेमा चीनको यात्रामा छँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनको उच्चतम तहमा लिपुलेक क्षेत्र हुँदै भारत-चीनबीचको 'व्यापार मार्ग' बनाउने निर्णय भएको थियो, नेपाललाई सहमति या जानकारीमा नै नराखी । भारतकै यसपटकको दाबीअनुसार पनि नेपालको दाबी रहेको लिपुलेकबारे नेपाललाई सहमतिमा नलिई भारत-चीनबीचको त्यस्तो निर्णय आपत्तिजनक थियो ।
चीनले त्यसलाई सच्याउने अनौपचारिक आश्वासन नेपाललाई दिए पनि त्यो सहमति यथावत् छ । डोकलङमा चर्किएको विवादका सन्दर्भमा लिपुलेकबारेको विवाद सुल्झाउनसमेत नेपालले कूटनीतिक पहल तीव्र पार्नु आवश्यक देखिन्छ । किनकि तनावका यी कारणहरूमा ठूला मुलुकले द्वैध मान्यता अपनाए भने त्यसले भविष्यमा द्वन्द्व युद्धमा रूपान्तरण हुने खतरा बढी नै रहन्छ ।
जहाँसम्म डोकलङमा चिनियाँ निर्माण र भारतीय सेनाको उपस्थितिको विषय हो, त्यो तथ्यका आधारमा त्रिपक्षीय वार्ताबाट सम्बोधन खोज्नु नै एक मात्र विकल्प हो, समाधान हो । त्यसो नगरिएमा त्यसको मूल्य सबै पक्षको लागि चर्को सावित हुनेछ ।