विराटनगर महानगरको मतगणना रोकियो
विराटनगर : विराटनगरमा मतगणना स्थगन गरिएको छ । राजनीतिक दलको आग्रहअनुसार नै मत गणना स्थगन गरिएको हो । मतगणना र सूचना सम्प्रेषण गर्न दलका प्रतिनिधिले माग गरेपछि दुई घण्टासम्मका लागि गणनाको कार्य स्थगन गरिएको हो । संघीय समाजवादी फोरम र एमाले तथा कांग्रेसका मेयरका उम्मेदवारको आग्रहमा स्थगन गरिएको हो ।
एमालेका मेयर उम्मेदवार विनोद ढकालले मुख्य निर्वाचन अधिकृतलाई भेटेर सूचना सही सम्प्रेषण नभएको र मत गणनासमेत व्यवस्थित नभएको भन्दै व्यवस्थित गर्न माग गर्नुभएको थियो । ढकालले भन्नुभयो, ‘कति मत बदर भए, कति मतगणना भयो जानकारी बाहिर आएको छैन बरु केही समय रोकेर व्यवस्थित गरौं ।’
संघीय समाजदवादी फोरमका मेयरका उम्मेदवार उमेश यादवको मत फरक परेपछि समाजवादीका तर्फबाट मोरङ अध्यक्ष राजकुमार यादवले गणना स्थगन गर्न माग गर्नुभएको थियो । यादवले २१३३ मत प्राप्त गर्नु भएकोमा निर्वाचन घटाएर २१२२ घोषणा गरेपछि विवाद भएको थियो । मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले दुई घण्टासम्मको लागि समय मागेर गणना स्थगन गरिएको बताउनुभयो । साँझ ६ बजेदेखि ८ बजेसम्म गणना रोकिएको हो ।